इमानदार नेतृत्वको अभाव, विकास र समृद्धि ओझेलमा

हिमालय टाइम्स
Read Time = 12 mins
A A- A+

✍️ डा. डीआर उपाध्याय

देशको विकास र समृद्धिका कुरा गरेको पनि धेरै वर्ष भयो । देशमा दजनौं भन्दा बढी सरकार फेरिए होलान् तर देशको मुहार फेरिन अझै सकेको छैन । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने देशको मुहार फेर्न नेतृत्व वर्ग इमानदार हुनुपर्छ । जबसम्म नेतृत्व वर्ग इमानदार हुन सक्दैन तबसम्म विकास र समृद्धिका कुरा पानीको फोका सरह हुनेछन् । कुरा मात्र गरेर हुने भए आज देश यो हालतमा हुने थिएन । देश सबै क्षेत्रबाट तहस नहसको अवस्थामा पुगेको छ । साँच्चै देशलाई उन्नति र प्रगतिको बाटोमा अघि बढाउने हो भने नेतृत्वमा पुगेका वर्ग पूरै सच्चिनुपर्छ ।

नेतृत्व वर्ग सच्चिन पनि खोज्दैनन् । सबैभन्दा ठूलो समस्या यो हो । जुन सरकार आए पनि जनताका समस्या ज्युँका त्युँ छन् । जनताका समस्या पूरा नभएसम्म विकास र समृद्धिका कुरा नगरे पनि हुन्छ । विकास विस्तारै हुने प्रक्रिया हो तर त्यसको लागि इच्छाशक्तिको पनि आवश्यक हुन्छ । नेतृत्व वर्गले इच्छा शक्ति नदेखाउने हो भने विकास सम्भव छैन । जनताको करबाटै विकास हुने हो । जनताले जति कर तिरे पनि त्यो सही रूपमा सदुपयोग हुन सकेको छैन । जनताको करबाट जम्मा भएको ढुकुटीमाथि नेतृत्व वर्गले मनपरी गरेका हुन्छन् । नेपालमा सबै क्षेत्रमा विकृति नै विकृति बढ्दो छ ।

यसरी देशको उन्नति र प्रगति हुन सक्दैन । सबै क्षेत्र विकृतिको चाङले भरिएका छन् । केही दिनअघि मात्रै महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको अघिल्लो वर्षको बेरुजुको अवस्थाले मुलुक कुशासनको चक्रमा नराम्ररी फसेको प्रष्ट देख्न सकिन्छ । सिंहदरबार र बालुवाटारका बैठकले खासै जनताको पक्षमा निष्कर्ष निकालेको पाइँदैन । बरु सरकार कसरी टिकाउने र ढुकुटी सिध्याउने भन्ने मात्र ध्यान गएको देखिन्छ । आमजनतालाई के कसरी राहत दिन सकिन्छ भन्ने कुरा महत्वका साथ कुनै बैठकमा कुरा उठेको सुनिँदैन । मुलुकको विकास र समृद्धि धेरै पहिलेदेखि उठेको कुरा हो ।

सरकार जनताको अभिभावक हो । उसले अभिभावकीय भूमिका निर्वाह गर्न सक्नुपर्छ । प्रधानमन्त्री, मन्त्री, सचिव, सहसचिव तथा सरकारी कार्यालयका प्रमुखलगायत सबैले इमानदारीका साथ काम गर्ने हो भने देशमा केही प्रगति हुन सक्छ तर उनीहरू आ-आफ्नो स्वार्थमा केन्द्रित छन् ।

तर, व्यवहारमा कुनै कुरा लागू नभएपछि त्यसको के अर्थ ? देशको विकासका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाइनुपर्ने हुन्छ । योजना नबनेका होइनन् तर कार्यान्वयनमा फितलो छ । राजनीतिक दल र तिनका नेताहरू संघीय निर्वाचनमा फेरि कसरी जितेर आउने भन्नेमा केन्द्रित बनेको देखिन्छ । महँगीले आमजनता आजित र निराश छन् । राजनीतिक दल र तिनका नेताविरुद्धको आक्रोश चुलिँदो छ । तर पनि शासकहरू कानमा तेल हालेर आरामले सुतिराखेको जस्तो बहाना गरिरहेका छन् । उनीहरू सत्तामा रहेर लुटतन्त्र मच्चाउनमै व्यस्त छन् । सत्तापक्ष, प्रतिपक्ष सबै आआफ्नो दुनो सोझ्याउन व्यस्त छन् । जनताको चुलो राम्ररी बले नबलेको, जनताले उपचार राम्ररी पाए नपाएको यो विषयमा सरकार बेखबर जस्तै छ । सरकारलाई कुनै मतलब नै छैन ।

सरकार जनताको अभिभावक हो । उसले अभिभावकीय भूमिका निर्बाह गर्न सक्नुपर्छ । प्रधानमन्त्री, मन्त्री, सचिव, सहसचिव तथा सरकारी कार्यालयका प्रमुखलगायत सबैले इमानदारीका साथ काम गर्ने हो भने देशमा केही प्रगति हुन सक्छ । तर, उनीहरू आ-आफ्नो स्वार्थमा केन्द्रित छन् । जनताको करबाट तलब तथा सेवासुविधा लिँदै आइरहेकालाई जनताको चिन्ता हुनुपर्ने हो तर कुनै मतलव छैन । आज आमजनतामा राजनीतिक र प्रशासनिक सबै नेतृत्वमाथि वितृष्ण पैदा भइरहेको छ । हाम्रो देश प्राकृतिक स्रोतसाधनले धनी देश हो । हाम्रो देशमा भएका प्राकृतिक स्रोत र साधनको भरपुर उपयोग गर्नसक्ने हो भने मुलुकको विकास र समृद्धि छिट्टै हुन सक्छ । विकास र समृद्धिका योजना र कार्यक्रमलाई इमानदारीपूर्वक व्यवहारमा उतार्न सक्ने शासकहरूको जरुरी छ ।

नेपालमा विकासका धेरै सम्भावना छन् । यति सम्भावना हुँदा–हुँदै पनि नेतृत्व वर्गले इच्छाशक्ति देखाउन नसक्नु दुखद् पक्ष हो । हाम्रो राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व आमूल रूपमा सच्चिनुपर्छ । हाम्रा शासकहरूको बोली र व्यवहार एउटै हुनुपर्छ । तर, व्यवहार अर्कै हुनाले समस्या देखिएको छ । त्यसले पनि समस्यामाथि समस्या थप्ने काम गरिरहेको छ । भ्रष्ट नेताहरू र भ्रष्ट प्रशासकलाई सामाजिक बहिष्कार गर्ने आँट हामी सबैले गर्नुपर्छ । अहिले पनि लुट्नेले लुटिरहेका छन् । हुन त हिजो पनि अवस्था यस्तै हो । जुन पार्टी शासनमा पुगे पनि लुट्नेबाहेक अरू केही गर्न सकेका छैनन् ।

अब राजनीतिक दल र तिनका नेताहरूमा चेत खुल्नुपर्छ । नेताहरूमा चेत नखुलेसम्म समस्या समाधान होला जस्तो देखिँदैन । कि जनताले नेतृत्व बदल्ने आँट गर्न सक्नुपर्छ । आज देशमा जे भएको छ कुनै कुरामा सन्तोष गर्ने ठाउँ छैन ।

उनीहरूको काम देशको ढुकुटी लुट्नमै बितेको छ । यो नेपाली जनताका लागि ठूलो दुर्भाग्यपूर्ण हो । नेताहरू यसरी नै भ्रष्टाचारमा चुर्लुम्म डुब्दै जाने हो भने जनताले एक दिन आफैँ सजाय दिनेछन् । किनकि, सबैभन्दा ठूलो शक्ति भनेकै जनताको शक्ति हो । जनताले चाहे भने जे पनि गर्न सक्छन् । अब त साँच्चै नै अति भइसकेको छ । अब जनता उठनुपर्ने बेला भयो । नेताहरूले सुध्रिने कोसिस गरेनन् । यतिखेर संघ, प्रदेश र स्थानीय गरी तीनवटै सरकार भ्रष्टाचारको दलदलमा फसेका छन् । भ्रष्टाचारले सीमा नाघ्नु भनेको राम्रो संकेत होइन ।

अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कार्यालयमा नियमित अनुगमन र अनुसन्धान गर्न सक्नुपर्छ । अख्तियारले भ्रष्टाचारीलाई समातेर कानुन अनुसार कारबाही गर्नुपर्छ । नीतिगत भ्रष्टाचार गर्नेहरू पनि छन् । अब, अख्तियार आक्रामक किसिमले लाग्नुपर्छ । न्यायक्षेत्रसमेत चोखो बन्न सकेन । जनतालाई न्याय दिने प्रमुख भूमिकामा रहेका न्यायाधीश नै बदनाम हँुदै गएको अवस्था देखिन्छ ।

सरकारले हरेक वर्ष सार्वजनिक गर्ने बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न पनि सरकारी निकाय असफल हुँदै आइरहेका छन् । सरकारको लक्ष्य पूरा गर्नका लागि पनि शासक प्रशासकहरूमा इमानदारीता हुनु अति आवश्यक छ । अझै आर्थिक परिसूचकहरू सकारात्मक देखिन सकेका छैनन् । प्रत्येक नेपालीको टाउकोमा ऋणको बोझ थपिँदो छ । हामी कता जाँदैछौँ भन्ने चिन्ताले पिरोलिरहेको छ । विश्वका धेरै देश विकास र समृद्धितिर लम्किरहेका छन् तर हामी हिजोभन्दा आज झन् नाजुक बन्दै गइरहेका छौँ ।

अब राजनीतिक दल र तिनका नेताहरूमा चेत खुल्नुपर्छ । नेताहरूमा चेत नखुलेसम्म समस्या समाधान होला जस्तो देखिँदैन । कि जनताले नेतृत्व बदल्ने आँट गर्न सक्नुपर्छ । आज देशमा जे भएको छ कुनै कुरामा सन्तोष गर्ने ठाउँ छैन । जनता निराश बन्दैछन् । जनता निराश हुनु भनेको व्यवस्थामाथि नै प्रश्न उठ्नु हो । अब सबै गम्भीर भएर लाग्नुपर्ने अवस्था देखियो । जनतामा निराशा आउन दिनुभएन । जनताका समस्या समाधान गर्ने बाटोमा सरकार अग्रसर हुनुपर्छ । सरकारमा मात्र बस्ने कि जनताका समस्या पनि समाधान गर्ने ?

अब गम्भीर प्रश्न गर्नुपर्ने बेला भयो । दुनियाँको देखेर भए पनि देशलाई माथि उठाउने प्रयास सरकारले गर्नुपर्छ । जनतालाई यति सारो निराश हुन दिनु राम्रो संकेत पटक्कै होइन । राजनीतिक दलहरूले राम्रो काम गर्न नसकेकै कारण बालेन, हर्क, हमालको जन्म भएको हो । यो कुरा कसैले नभुलौँ । आगामी संघीय र प्रदेश चुनावमा पनि यस्ता पात्रहरू धेरै उदाउनेवाला छन् । समयमै चेतना भया, अन्यथा जनआक्रोश बढ्दै जाँदा यसको भेलले धेरैलाई बगाउने निश्चितप्रायः देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dhojthapa
Dhojthapa
2022-08-07 9:44 am

अति राम्रो लेख, सटिक विश्लेषण

छुटाउनुभयो कि ?