अल कायदा नेता अयमान अल जवाहिरीको हत्याको ओबामाले गरे स्वागत

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सोमबार अल कायदा नेता अयमान अल जवाहिरीको हत्याको स्वागत गरेका छन् । अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा अल जवाहिरीको मृत्यु भएको थियो ।

ओबामाले यो हत्या अफगानिस्तानमा युद्ध नगरी पनि आतंकवादसँग लड्न सम्भव छ भन्ने प्रमाण रहेको बताए । ९/११ को २० वर्षभन्दा पछि, त्यो आतंकवादी हमलाका एक मास्टरमाइन्ड र अल कायदा नेताका रूपमा ओसामा बिन लादेनको उत्तराधिकारी-अयमान अल-जवाहिरीलाई-अन्ततः न्यायको कठघरमा ल्याइयो’, ओबामाले भने ।

जवाहिरी मारिएपछि ओबामाले राष्ट्रपति बाइडेन प्रशासन र दशकौंदेखि काम गरिरहेका खुफिया समुदायका सदस्यहरूको प्रशंसा समेत गरेका छन् । जवाहिरीकोे मृत्युको समाचारप्रति संकेत गर्दै ओबामाले भनेका छन्, ‘आज रातिको समाचार अफगानिस्तानमा युद्ध नगरी पनि आतंकवादलाई जरैदेखि उखेल्न सम्भव छ भन्ने प्रमाण हो ।’

जवाहिरी अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको हवाई हमलामा मारिएका थिए । अमेरिकी कारबाहीमा जवाहिरी मारिएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।

इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए । उनी अमेरिकामा सेप्टेम्बर ११ को हमलाका मास्टरमाइन्ड रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी ट्वीन टावरमा भएका आत्मघाती हमलामा करिब ३ हजार जनाको ज्यान गएको थियो ।

सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन मारिएपछि उनी फरार थिए । त्यसपछि उनले अलकायदा समूहलाई हाँकेका थिए । अमेरिकाले उनको टाउकोको मूल्य २५ मिलियन डलर इनाम तोकेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?