धनाढ्य र बुद्धिजीविबाटै स्तनपानमा हेलचेक्राइँ भयो: स्वास्थ्यमन्त्री खापुङ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीविहरु तथा धनाढ्य व्यक्तिहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताउनुभएको छ ।

मंगलवार प्रशुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री खापुङले विकास निर्माणको अग्रसरतामा पछि परेको कर्णाली प्रदेशमा बच्चालाई स्तनपान गराउने संख्या बढी देखिएकोले बच्चा हुर्काउने र बच्चालाई स्तनपान गराउने मामिलामा वागमती प्रदेश भन्दा कर्णाली प्रदेश नै बौद्धिक देखिएको जिकिर गर्नुभयो ।

उहाँले बुद्धिजीविहरु, धनाढ्य व्यक्तिहरु बस्ने वागमती प्रदेश र काठमाडौंमा बच्चालाई आमाको स्तनपान गराउनेको संख्या सबैभन्दा कम देखिएको बताउनु भयो । उहाँले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएकोले बच्चाको नैसर्गिक अधिकार हनन गर्नु नहुने बताउनु भयो ।

मन्त्री खापुङले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बच्चालाई आमाको स्तनपान नगराउनु प्रकृतिको नियम विपरित भएको बताउनु भयो ।

उहाँले सरकारले निःशुल्क भनेर घोषणा गरेका औषधिहरु आवश्यक समयमा जनताले निःशुल्क नपाएको कारण पत्ता लगाएर तत्काल समस्या समाधान गर्नपनि सम्बन्धित निकाय र मन्त्रालयका सचिवलाई निर्देशन दिनुभयो । उहाँले निःशुल्क रुपमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी सरकारले घोषणा गरेको औषधिको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

मन्त्री खापुङले कोरोनाको संक्रमण बढीरहेकोले स्वास्थ्यकर्मीलाई तयारी अवस्थमा रहन र आम नागरिकले थप सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले सप्ताहव्यापी स्तनपान कार्यक्रमलाई नेपालव्यापी रुपमा सफल बनाउन आवश्यक रहेको बताउनु भयो ।

सातै प्रदेशमा बेबी मिल्क बैंक स्थापना गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यसमा सबैले सहयोग गर्न र यो काम आमाको दुध खान नपाएर समस्यामा परेका बच्चाहरुको लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?