पहिरोपीडित परिवारलाई राहतको व्यवस्था गर्न सांसदहरुको माग

Read Time = 4 mins

काठमाडौं । प्रतिनिधिसभाको आजको वैठकमा सांसदहरुले देशका विभिन्न क्षेत्रमा भएको पहिरापीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरामा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पहिरोपीडितलाई तत्काल राहत र पुनःस्थापना गर्नुपर्ने मागसमेत गर्नुभयो । म्याग्दी जिल्लामा दलित समुदायको बस्ती अत्यन्त जोखिममा रहेको बताउँदै उहाँले ती बस्तीलाई अन्यत्र स्थानान्तर गर्नसमेत माग गर्नुभयो ।

सांसद रामबहादुर विष्टले अछाम जिल्लाका विभिन्न स्थानमा अविरल वर्षाका कारण पहिरो आउँदा मानवीय र भौतिक क्षति भएको बताउँदै पहिरापीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । महेन्द्रकुमारी लिम्बूले प्रदेश १ को खोटाङ जिल्लालाई केन्द्रविन्दु बनाएर यही साउन १५ गते गएको भूकम्पका कारण भौतिक क्षति भएको बताउँदै उचित राहत र क्षतिपूर्तिको माग गर्नुभयो । सांसद महेश बस्नेतले मुलुकमा महँगी, भ्रष्टाचार, हत्या, हिंसाका घटना बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मीनबहादुर विश्वकर्माले बिजुलीबजारस्थित नेपाल चक्रवर्ती हवी कलेजमा शुल्क वृद्धिको विरोधमा गरिएको धर्नाका क्रममा नेपाल विद्यार्थी सङ्घका नेताहरुमाथि प्रहरीले आक्रमण गरी घाइते बनाएको भन्दै आपत्ति जनाउनुभयो । सांसदद्वय रङ्गमती शाही र मीना सुब्बाले सरकारी र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीबीच विभेद गर्न नहुने भन्दै शिक्षामा सबै विद्यार्थीको समान पहुँचको माग गर्नुभयो । सांसद मोहन बाँनियाले कर्णाली करिडोरलाई द्रूत गतिमा अगाडि बढाउन आग्रह गर्नुभयो । सांसद मोहनप्रसाद पाण्डेले पाल्पाका विभिन्न स्थानमा सडक निर्माण कार्यलाई जतिसक्दो चाँडो अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद यशोधा गुरुङ सुवेदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका निम्ति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामवीर मानन्धरले संसद्मा शून्य समयमा सांसदहरुले बोलेका विषय कार्यान्वयन हुनुपर्छ भन्नुभयो । सांसद रेणुका गुरुङले आफूमाथि असुरक्षा बढ्दै गएको भन्दै सरकारसँग सुरक्षाको माग गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?