तारिख खेप्दै दाङका मोही

Read Time = 8 mins

-विवेक खड्का
दाङ । राप्ती गाउँपालिका–७ का बहिदार चौधरी मोही हक कायम गर्न भूमिसुधार कार्यालय धाइरहनुभएको छ । गढवा–३ गोबरडिहाका कृष्णअवतार चौधरी, भुपाल नारायण चौधरी र कल्पना चौधरीको नाममा रहेको जमिनमा बहिदारको मोही छ । त्यही मोहीयानी हक नामसारी गर्न माग गर्दै बहिदारले ०७४ मा भूमिसुधार कार्यालयमा निवेदन दिनुभयो तर अहिलेसम्म हक कायम हुन सकेको छैन । त्यसका लागि बहिदार निरन्तर कार्यालयको तारेखमा हुनुहुन्छ । कार्यालयले जग्गाधनी भेट्न नसकेकोले तारिखमै राखेको बताउँछ ।

२०७४ साल भदौ १४ गते मोही हक नामसारी गरिपाउँ भनी चौधरीले निवेदन दिनुभएको थियो । निवेदनअनुसार भूमिसुधार कार्यालयले जग्गा धनीलाई पनि सम्पर्कमा ल्याएर मोही हक कायम गर्नुपर्ने हो । कार्यालयले १५ दिने सूचना त जारी ग-यो तर पाँच वर्ष पुग्नै लाग्दा पनि जग्गाधनीलाई फेला पार्न सकेन । एकसरो सूचना टाँसले मात्रै जग्गाधनी सम्पर्कमा आएका छैनन् । बरु २०७४ देखि अहिलेसम्म मोही हकदार बहिदार चौधरी नै निरन्तर तारिख धाउन बाध्य हुनुहुन्छ । २०७४ कार्तिक २६ गते, पुस २६ हुँदै २०७९ जेठ ११, साउन १२ पछि अब आउँदो कार्तिक १८ गते तारेख तोकिएको छ बहिदारलाई । मोही हकअनुसारको जमिन कार्तिकसम्म पनि पाउने नपाउने कुनै ठेगान छैन ।

बर्दिया मधुवन नगरपालिका–२ का ८७ वर्षीय शेरबहादुर थारूको पीडा पनि उस्तै छ । ११ पटकको तारेख लिँदासम्म मोही हकअनुसारको जग्गा पाउनुभएको छैन । साविक लक्ष्मीपुर–४ गोग्लीको जग्गामा आफू मोही भएको र मोहियानी हक दाबी गर्नुभएका उहाँलाई कार्यालयले अझै न्याय दिन सकेको छैन । रोल्पा थवाङ–७ का जग्गाधनी तिर झाँक्रीलाई सम्पर्कमा ल्याउन कार्यालयले म्याद काट्ने काम अहिलेसम्म गर्न सकेको छैन ।

यी प्रतिनिधि पात्र मात्रै हुन् । दाङमा मोहियानी हक दाबी गर्ने किसानहरु हक माग्दा वर्षौंदेखि तारेख बोक्न बाध्य छन् । जग्गाधनी सम्पर्कमा आफै अलि कमै आउँछन् । मोहीवालाले दाबी गरेपछि भूमिसुधार कार्यालयले म्याद दिएर सम्पर्कमा ल्याउनुपर्छ तर कार्यालयले जग्गाधनीलाई म्याद नै नदिने गरेको पाइएको छ । पीडितको उजुरी परेपनि कार्यालयबाट म्याद नकाटी उजुरीकर्तालाई एकोहोरो तारेखमा राख्ने काम भएको मोही किसानको दुखेसो छ । जिल्ला भूमिसुधार कार्यालयमा तारेख बोक्ने मोहीवालाको संख्या धेरै छ । कार्यालयमा दैनिक २० जना किसान तारेख थाम्न आउने गरेका छन् । तीमध्ये २० प्रतिशत मोही किसानले निवेदन दिएका तर जग्गाधनीलाई म्याद नदिएको अवस्था रहेको जिल्ला भूमिसुधार कार्यालय दाङका खरिदार मीनबहादुर केसीले जानकारी दिनुभयो । किन म्याद काटिदैन त भन्ने विषयमा कार्यालयको जवाफ छैन । कार्यालय प्रमुख तथा प्रमुख मालपोत अधिकृतसमेत रहनुभएका शालिकराम ढकाल विदामा रहेको र फोन रिसिभ नहुँदा जग्गाधनीलाई म्याद नकाट्नुको कारण पत्ता लागेन ।

यतिमात्रै होइन भूमिसुधार कार्यालयले तारेख बोक्ने मोहीवालाको संख्या धेरै रहेको बताए पनि जिल्लामा मोहीको संख्या कति छ भन्ने लेखाजोखा समेत राखेको छैन । निवेदन परेको संख्या भए पनि कुल मोही संख्याको कुनै लेखाजोखा छैन । मोही किसानले दिएको निवेदनअनुसार दाङमा एक हजार पाँच सय ९४ मोहीसम्बन्धी मुद्दा फछ्र्यौट हुन अझै बाँकी छन् । दुई हजार २२ मुद्दा परेकोमा चार सय १८ वटा मात्रै फछ्र्यौट भएको कार्यालयले जनाएको छ ।

बिचौलियाकै दबदबा
लमही–७ उचानिम्बुका रामु चौधरी हजुरबा गंगारामको निधनपछि हजुरआमा बुधनीको नाममा मोही नामसारी गर्न तारेखमा वारेस बनेर भूमिसुधार पुग्नुभएको थियो । आफू वैदेशिक रोजगारीमा जान लागेपछि वारेस अरुलाई दिन लिखत बनाउन जाँदा बिचौलियाले साढे छ हजार मागे । ‘मैले माइला बुवाकोमा वारेस सार्न खोज्दा लिखतको साढे ६ हजार मागे’– रामुले भन्नुभयो, ‘मलाई आउँथ्यो र नेपाली कागजमा आफै लेखेर बुझाएँ, पैसा जोगियो ।’ उहाँ जस्तै मोटो रकम तिरेर मोहीको काम गराउन आउने कार्यालयमा धेरै छन् । भूमिसुधार कार्यालय दाङमा एकजना खरिदार दुईजना कार्यालय सहयोगी र एकजना तामेलदार छन् । दरबन्दी अनुसार अधिकृत एक, नासु दुई भए पनि कार्यालयमा छैनन् तर कर्मचारी जस्तै फाइल पल्टाउने सेवाग्रही ढुकेर बस्ने बिचौलियाले कर्मचारीकै काम गरिरहेका छन् । ‘कहिलेकाहीं त कर्मचारीकै कुर्सीमा बसेर सेवाग्राही ढुक्दै काम गर्ने बिचौलिया छन्’– स्रोतले भन्यो– ‘बिचौलियाले सेवाग्राहीको काम गरेको कर्मचारीले पनि पत्तो पाउन्नन् ।’

बिचौलियाको बिगबिगी भएपछि भूमिसुधार कार्यालय दाङले दुई साता अघिमात्रै कार्यालयमा अनावश्यक प्रवेश नगर्न र कार्यालयको काम कारवाहीमा प्रभाव नपार्न सार्वजनिक सूचना नै टाँस ग¥यो । फाइल भएका प्रत्येक दराजमा अनुमतिबिना नखोल्नु भनी लेखेर टाँसियो, मिसिल भएको खानामा जाने बाटो बन्द गरियो । ‘हामीले बिचौलियाबाट सेवाग्राही नठगिउन् भनेर विशेष ख्याल गरेका छौं’ कार्यालयका खरिदार मीनबहादुर केसीले भन्नुभयो, ‘कार्यालयमा बाहिरी मान्छे आएर हालीमुहाली नगरून् भनेर सूचना टाँसी सचेत बनाएका छौं, सेवाग्राही पनि सचेत हुन जरुरी देखियो ।’

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?