सुन्दर रुप्से झरनालाई बाढी र पहिरोले बनायो कुरुप : नासियो प्राकृतिक सौन्दर्य, हरायो पुरानो स्वरुप

Read Time = 7 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । विश्वकै उत्कृष्ट पर्यटकीय स्थल मध्येको एक अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रुपमै आकर्षक पर्यटकीय स्थल सुन्दर रुप्से झरनाको सौन्दर्य वर्षेनी आउने बाढी र पहिरोको कारण नासिँदै जान थाले पछि यसको मौलिक स्वरुप समेत लोप भएको छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा पर्ने यो झरना अत्यन्तै आकर्षक र मनमोहक थियो । तर, विसं २०७७ साल साउन ५ गते सोमबारको भीषण वर्षापछि रुप्से झरनामा आएको बाढीले रुप्से झरनाको सौन्दर्यलाई छिया छिया पारिदिए पछि त्यसयता झरनाको प्राकृतिक स्वरुप नासिने क्रम बढ्दै गएको हो ।
समुन्द्री सतहबाट झण्डै १ हजार ८ सय मिटरको उचाइमा रहेको यो झरना कालीगण्डकीको खोंचले बनाएको संसारकै गहिरो अन्धगल्छीदेखि केही माथी रहेको छ । यस झरनाले हुलाक टिकटमा समेत स्थान पाइसकेको छ ।
हिमालपारीको जिल्ला मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने यस अन्धगल्छीमा मुस्ताङ आवतजावत गर्ने पर्यटकहरु पुगेर अवलोकन गर्ने गर्दछन् । विश्वमै शालिग्राम पाइने एकमात्र पवित्र कालीगण्डकी नदीले निर्माण गरेको अन्धगल्छीको गहिराई ६ हजार ९६७ मिटर रहेको छ ।
संसारको सातौं अग्लो चुचुरो धौलागिरी र अन्नपूर्ण हिमालको बिचमा अवस्थित यो गल्छी समुन्द्री सतहबाट १ हजार २ सय मिटरको उचाइमा अवस्थित छ । गल्छीको अवलोकन गर्न दैनिक रुपमा आन्तरिक एवं बाह्य पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् ।
म्याग्दी सदरमुकाम बेनीबजारदेखि ३० किलोमिटर उत्तरमा पर्ने रुप्से छहरा तथा अन्धगल्छी पुग्न यातायातका साधनमार्फत करिब ३ घण्टा र पैदल करिव १ दिनको यात्रा तय गर्नुपर्छ बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने अन्धगल्छी र रुप्से झरनामा बेनीबाट सवारीसाधनमार्फत ३ घण्टामा सजिलै पुग्न सकिन्छ । मुस्ताङ जाने पर्यटकहरु सवारी रोकेर यस झरनामा फोटो खिच्छन् ।

बेनी–जोमसोम–कोरला सडकखण्ड कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा रमाउने योजना बनाएका हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरुले २०७७ साउन यता भने रुप्सेको पुरानो सौन्दर्यलाई देख्न पाएका छैनन् ।
२०७७ साउनमा रुप्से झरनामा आएको बाढीले झरनाको सौन्दर्य मात्र होइन एक होटेल ,पुल र स्काभेटर समेत बगाएको थियो । झरनामा आएको बाढीले गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउटा स्काभेटर मेशिन, बस र पुल बगाए पछि त्यस क्षेत्रको सुन्दरता नै उजाडिएको स्थानीय कृष्णबहादुर पुनले बताउनुभयो । पुनका अनुसार अब रुप्से झरनालाई पुरानै स्वरूपमा फर्काउन निकै श्रम र लगानीको आवश्यक पर्नेभएको छ ।

अहिले रुप्से झरना उजाड र कुरुप बनेको उहाँको भनाइ छ । विसं १९७५ सालमा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिएको थियो। अहिले प्रचलनमा नरहे पनि रुप्से झरनाको प्रचारप्रसार त्यतिखेर देखिनै भएको स्थानीय बृद्धवृद्धाहरुले बताएका छन् ।

‘रुप्से झरनामा रमाउन गण्डकी प्रदेशबाट मात्रै होइन देश विदेशबाट आएका मानिसहरुको समेत भीड हुने गर्दथ्यो’ दानाका पर्यटन व्यवसायी इन्द्रशिंह शेरचनले भन्नुभयो ‘पुलनजिकै गाडीहरुको भीड हुन्थ्यो, झरनाको दायाँ र वायाँको भागमा मानिसहरु रमाउँदै तस्वीर लिन तछाड मछाड गर्दथे, अब त्यो सबै एकादेशको कथा जस्तै बन्यो।’

‘२०७५ साल यता हिमाली जिल्ला मुस्ताङमा स्थलमार्ग हुँदै भ्रमणमा जाने आन्तरिक पर्यटकको संख्या उल्लेख्य रुपमा बढेको थियो। ती पर्यटक रुप्से झरना देखेर लोभिने गरेका थिए । तर, बाढीले रुप्से झरनाको चीर हरण गरिदिएपछि सवैको सपना भताभुङ्ग भएको छ।’ पर्यटन व्यवसायी शेरचनले भन्नुभयो
स्थानीयले प्राकृतिक विपत्ति मात्रै मानेका छैनन् यति वर्षसम्म केही नभएको रुप्से झरनामा बाढी आएर झरनाको सौन्दर्य नासिनुलाई उनीहरुले दैवी विपत्तिका रुपमा पनि बुझेका छन् । स्थानीय सन्तोष पुनका अनुसार यो शुभ संकेत होइन, महाविपत्तिको सूचना पनि हो ।

विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । रुप्से झरना र अन्धगल्छीको उच्च पर्यटकीय सम्भावना भएपनि यसबाट स्थानीयले उचित लाभ लिन भने सकिरहेका छैनन् । पर्यटकहरुलाई निःशुल्क अवलोकन गर्न दिइँदा लाभ लिन नसकेको स्थानीयले बताएका छन् । झरनामा रमाउनका लागि आएका पर्यटकहरु सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडक समेत अवरुद्ध हुने गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?