देश र जनताविरुद्ध नगएकाहरु एकतावद्ध भएर मुलुकलाई अघि बढाउनु पर्छ : केपी ओली

Read Time = 10 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरी अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गर्नु भएको छ ।

‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगतमा आफूले भनेको उल्लेख गर्दै ओलीले शर्मालाई फेरि अर्थमन्त्री बनाउँदा भने ‘गोरु नै लजाएको’ समेत बताउनु भयो ।
तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले शर्माको अर्थ मन्त्रालयको पुनरागमनले नेपाली जनताको विवेक र नैतिक धरातलमाथि भीषण हमला भएको उल्लेख गर्दै आक्रोश व्यक्त गर्नु भयो ।
भ्रष्टाचारको केशमा मुछिएका शर्मालाई लाजसरम नमानी फेरि अर्थमन्त्री बनाएको उल्लेख गर्दै अध्यक्ष ओलीले शर्माबाहेक अरु कोही पनि मान्छे गठबन्धनमा अर्थमन्त्री हुन लायक नभएको जिकीर समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘मैले उहिले पनि भनेको थिए–गोरु नांगो देख्दा मलाई लाज लाग्दैन भनेर । तर यस पल्ट त गोरु पनि लजाउने काम सरकारले ग¥यो । गोरु आफै लजाउने । भ्रष्टचारको केश लाग्या छ, छानवीन समिति आफ्नै बहुमत राखेर बनाएको छ । छानवीन गर्न दिएकै छैन । छानवीन भएकै छैन । कल डिटेल्स हटाएको छ । अनि सिसीटिभी फुटेज मेटाइएको छ । रिभाईभ गर्दा देखिदैन, बुझिदैन । अनि सफाई पायो । कहाँबाट पायो सफाई ? कल डिटेल्स समेत लिन नदिएर, कल डिटेल लिन नमानेर गठबन्धनवालाहरु । अनि फेरी अचम्मत के भने–लाजसरम नमानी, नेपाली जनतालाई कति साह्रो हेपेको । नेपाली जनताको विवेक, नेपाली जनताको नैतिक धरातलमाथि कत्रो हमला ? गोरु लजाउन्न क्यारे । तर गोरु पनि लजायो । यति निर्लज्ज तरिकाले हुन्छ ? फेरी उही मान्छे, भनेपछि यो गठबन्धनसँग अरु मान्छैनै रहेनछ । कत्रो दम्भ, जे गरे पनि हुन्छ हामीले । हामीसँग बहुमत छ, जे गरेपनि हुन्छ । लाजसरम किन मान्ने, कसैलाई किन टेर्ने ? लोकलाज किन मान्ने ? काँग्रेसको भनाई । फुटेज किन देखाउने ? कल डिटेल किन हेर्ने ।’

अध्यक्ष ओलीले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै काँग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरुसँग गठबन्धन तोडेर आएमात्रै एकता हुन सक्ने दोहो-याउनु भयो । उहाँले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वान समेत गर्नु भयो । दुष्टहरुले चुनावी तालमेलको कुरा गरिरहेको भन्दै अध्यक्ष ओलीले आफूहरु भने पार्टी एकतानै गरेर अघि बढनुपर्ने प्रस्ताव गर्नु भयो । देश र जनताको विरुद्धमा नगएकाहरुबीच एकतावद्ध भएर मुलुकलाई अघि बढाउनुपर्ने उहाँको भनाई थियो । ‘अघि सिपीजीले भन्नु भयो नि–देशको सबैभन्दा ठूलो पार्टी, झण्डै दुई तिहाईको पार्टी थियो । उसलाई फुटाएर, त्यसलाई कमजोर पारेर, अदालतमा मुद्धा हालेर परमादेशबाट सरकार गिराएर दक्षिणपन्थी सरकार बनाउने, कम्युनिष्ट पार्टी सिध्याउन, बामपन्थी पार्टी सिध्याउनका लागि गठजोड गर्ने । अनि एमाले प्रमुख पार्टी छ, त्यस ठाउँमा काँग्रेसलाई पु¥याउनु पर्छ भनेर प्रमुख पार्टी काँग्रेसलाई बनाउन लाग्ने अनि बामपन्थी छु भन्ने । त्यही भएर अस्ती मैले केही दिन अगाडि बोल्दाखेरी भनेको थिए–बामपन्थी कोही छौं भने कम्युनिष्ट पार्टी सिध्याउने दुष्ट उद्देश्य एकदम सही भन्नु भयो सिपीजीले । दुष्ट उद्देश्य बोकेर दक्षिणपन्थी सरकार टिकाउने र अझ काँग्रेसलाई प्रमुख पार्टी बनाईदिने भन्ने अनि कम्युनिष्ट हुने तिनीहरु । बामपन्थी हुने तिनीहरु । लाजसरम छैन ? गोरु मात्रै होईन, अरु जनावर पनि लजाउछन यस्ता कुराले । अनि बामपन्थी, लोकतान्त्रिक शक्तिहरुको एकता रे । ज्ञानेन्द्र शाहसँग यिनीहरु मिलेको भए बामपन्थी, लोकतान्त्रिक र देशभक्त भनेर पनि जोड्थे । जोडी हाल्थे । आफूसँग भएन भने दक्षिणपन्थी आदिइत्यादि बन्छ । अहिले काँग्रेस बडो लोकतान्त्रिक, बडो क्रान्तिकारी भएको छ । मैले एउटा हाजिरीजवाफ जस्तो पुष्पकमल दाहालको अन्तरवार्ता हेरेको थिए, फलानो नेता यस्तो, फलानो नेता त्यस्तो भनेको । सबैलाई अलिअलि आलोचना, निन्दा गरेको थिए । गठबन्धनका नेताहरुलाई पनि माधव नेपाल कस्तो, अराजनीतिक प्राविधिक । झलनाथ कस्तो कुरा गर्नै अल्छी । शेरबहादुर कस्तो? अत्यन्तै व्यवहार कुशल, यस्तो त मान्छे नै भेटिदैन भने । यो प्रचण्डको हाजिरी जवाफ । तपाईहरु पनि यूटुवहरुमा गएर हेर्न सक्नुहुन्छ । यस स्थितिलाई नेपाली जनताले तोडनु पर्दछ । यो गठबन्धन जस्ता दुष्ट आशय बोकेको त छैनन् । अरु दलहरु । दुष्ट आशय नबोकेको हुनाले दुष्ट आशय बोकेकाहरुसँग हामी पार्टी एकता गर्न सक्दैन । दुष्ट आशय नबोकेका साथीहरु ए बाबा, यही ठूलै भाडामा पकाएको ढिँडो खाउन । फेरी यत्रो भाडो के गुजुगुजु पकाइरहनु प¥यो । म आह्वान गर्छ, आग्रह गर्छु साथीहरुलाई–आउनुहोस् सँगै मिलेर काम गरौं । यत्रो चुनौति प्रतिक्रियावादीहरुले दिईराखेका छन । अनि के हामीलाई उनीहरुको जस्तै चुनावी तालमेल गरेर, चुनावी तालमेल मात्रै गर्ने हो र हामी । सिपीजी र म एउटा आन्दोलनबाट आएका । एक अर्कालाई बहुत राम्रो चिन्दछौं । जुँगाका रेखी बस्दादेखि नै चिनेको । हामी एउटै आन्दोलनबाट पनि आएको । अलग बस्नुपर्ने कारणनै छैन । हामी कोही पनि देशका विरुद्ध छैनौं । जनताका विरुद्ध छैनौं । प्रगतिका विरुद्ध छैनौं । सुशासनका विरुद्ध छैनौं । विकासका विरुद्ध छैनौं । एकताका आधार यिनै हुन । अरु साना केके जाति निकालेर नि केही नगरौं, एकतावद्ध भएर अघि बढौं । म गठबन्धन छोडेर आए, गठबन्धन बेठिक हो भनेर त्यसलाई परित्याग गरेर आएभने उनीहरुको बारेमा पनि विचार गर्न सकिएला । गठबन्धनमा बसेर, दृष्ट उद्देश्य राखेर अनि अस्ती त पाँच भाई भेला भएछन । जो एमालेमा हुँदा दुःख दिने थिए नि । पाँच भाई पार्टी फुटाउनेहरु जम्मा भएछन । अनि, के पो बनाउने भने समाजवादी केन्द्र । अनि समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे । यी समाजवादी । यी जनविरोधी, यी देशद्रोही, यी एमसीसी, यी एसपीपी । यिनीहरु समाजवादी । अव यस गठबन्धनलाई जनताले जवाफ दिनु पर्दछ । निर्वाचन आउँदैछ । आगामी निर्वाचनमा नेपाली जनताले आफ्नो सचेतनता देखाउनु पर्दछ । त्यसका लागि आग्रह गर्न चाहन्छु । ’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुलाई देशद्रोहीको संज्ञा दिँदै नेपाली जनताले आगामी निर्वाचनमा सचेतनतापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वास समेत व्यक्त गर्नु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?