जिल्लामै पहिलो पटक कार्यसम्पादन करार सम्झौता

हिमालय टाइम्स
Read Time = 3 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीको एक स्थानीय तहमा प्रत्येक वर्ष कार्यसम्पादन करार सम्झौता गरिन्छ । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले ०७७ साल साउन १ गते जिल्लामै पहिलो पटक कार्यसम्पादन करार सम्झौता गरेको थियो ।

०७७ सालदेखि यस पालिकाले प्रत्येक वर्ष नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि कार्यसम्पादन करार सम्झौता गर्ने गरेको गाउँपालिकाले जनाएको छ ।

यस वर्षका लागि गाउँपालिका अध्यक्ष सरोजकुमार थापासँग प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले कार्यसम्पादन करार सम्झौता गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत पाण्डेसँग पालिकाका विभिन्न शाखा प्रमुखहरुले कार्यसम्पादन करार सम्झौता गर्नुभएको हो । ‘गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा विभिन्न नीति तथा कार्यक्रमहरु बनाएको हुन्छ । ती नीति तथा कार्यक्रमलाई सहि ढंगले कार्ययोजनासहित कार्यान्वयन गर्नका लागि कार्यसम्पादन करार सम्झौता गरिएको हो  ।’ प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले भन्नुभयो, ‘एक सय पुर्णांकमा कार्यसम्पादनको मूल्यांकन गर्ने व्यवस्था मिलाइएको छ ।’

त्यस्तै, सबै कर्मचारीले कति अंक प्राप्त गर्ने  भन्ने कुरा आफ्नो कार्यसम्पादन स्तरलाई मापन गरेर तोकिएको समयमा कार्य सम्पादन भएमा प्राप्तांक वृद्धी हुने गाउँपालिकाले जनाएको छ । उत्कृष्ट कार्यसम्पादन, मध्यम कार्यसम्पादन र न्यून कार्यसम्पादन गरि कार्यसम्पादनलाई तीन श्रेणिमा मापन गरिने भएको हो । सबै कर्मचारीलाई आफ्नो कामप्रति जवाफदेहीता, पारदर्शिता कायम गर्न र कार्यदक्षता  अनुसार काम गर्नको लागि महत्वपूर्ण योगदान पुर्याउने छ ।

कार्यसम्पादनको आधारमा कर्मचारीको मूल्यांकन गरी प्रोत्साहन गर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो ।

उहाँले पालिकाबाट प्रदान गरिने सेवालाई प्रभावकारी र जनमुखी बनाउन सबै कर्मचारीहरू लाग्नुपर्ने बताउनुभयो । यससँगै पालिकामा आ.व. ०७८ ०७९ को वार्षिक समिक्षासमेत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?