बिमाबापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा किसान

हिमालय टाइम्स
Read Time = 5 mins

बारा । सरकारले कृषिमा जनताको सहभागिता बढाउन सुरु गरेको कृषि बिमाबाट बाराका किसान भने पीडित छन् । लाखौँको लगानी हुने खेतीको बिमा गरेका किसानले बिमाबापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा पर्न थालेका हुन् । किसानलाई राहत दिने उद्देश्यले ल्याइएको कृषि बिमा कार्यक्रमबाट बाराका किसान भने लाभान्वित हुन सकेका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको निजगढ केरा खेतीका लागि चिनिन्छ । यहाँका अधिकांश किसान केरा खेतीमा आकर्षित छन् ।

ठूलो लगानीमा केरा खेती गरेका किसानले लगानीको सुरक्षाका लागि बिमा गरेका छन् । तर, बिमा कम्पनीको लापरबाहीका कारण किसान मारमा परेको देखिन्छ । यहाँका किसानले केरा खेतीको बिमा गरेको भए तापनि त्यसको लाभ लिन नसकेको गुनासो बढ्न थालेको छ । निजगढमा हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बिमा कम्पनीका कर्मचारीहरू होटलमा बसेर क्षति भएको बराबरको विवरण नलिने र आफूखुसी विवरण तयार गर्ने गरेको खुलेको छ, जसका कारण निजगढका पीडित केरा खेती गर्ने किसान चिन्तित बनेका छन् ।

बारामा कृषि बिमाका लागि राष्ट्रिय बिमा समितिले हिमालयन जनरल इन्स्योरेन्सलाई अधिकार प्रदान गरेको छ । तर, उक्त बिमा कम्पनीले किसानका पीडामा मलम लगाउनेभन्दा नुन छर्कने काम गरेको स्थानीयको गुनासो छ । इन्स्योरेन्सका शाखा प्रबन्धक शंकर पौडेललाई बिमाको रकम भुक्तानी माग्दा उल्टै किसानलाई तर्साउने, डर देखाउने गरेको किसानको दुःखेसो छ । ‘हामीलाई जानकारी नै नदिई कर्मचारी आफूखुसी हाम्रो खेतबारीको विवरण संकलन गर्न आउने रहेछन् ।’ स्थानीय अगुवा किसान गोविन्द खरेलले भन्नुभयो, ‘धेरैको विवरण संकलन गर्न छुटेको छ र जसको विवरण लगिएको छ उनीहरूले समेत भुक्तानी पाएका छैनन् ।’

खरेलका अनुसार कर्मचारीले बिमा गरेका निजगढका करिब २४२ किसानमध्ये ४०/५० जनाको मात्रै विवरण संकलन भएको र अन्य किसान प्रत्येक वर्ष मारमा पर्ने गरेका छन् । जसका कारण कृषि बिमाबाट किसानले राहत महसुस गर्न सकेका छैनन् । बिमा कम्पनीका कर्मचारीको लापरबाहीका कारण आफूहरू पीडित हुनुपरेको भन्दै किसानले गत वर्ष बिमा समितिमा समेत उजुरी दिएका थिए । सरकारको बिमा कार्यक्रम राम्रो भए पनि बिमा कम्पनीको कर्मचारी गैरजिम्मेवार भएका कारण किसान पीडित हुनुपरेको स्थानीयको भनाइ छ ।

गत वैशाख १६ गते र त्यसयता वर्षासँगैको हुरीले केराको बोट ढालेर नौ करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको छ । निजगढमा करिब १२ सय बिघा केरा खेती गरिएकोमा करिब १८० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरूपमा क्षति भएको छ । हुरीले भर्खर पसाएको र पाक्ने बेला भएका केरा नष्ट गरेको किसानहरूले बताएका छन् । केरा पकेट क्षेत्रका रूपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए ।

निजगढमा केरा खेती गर्ने करिब सात सय किसानमध्ये थोरैले मात्रै बिमा गरेको र बिमाबापतको रकम दिनसमेत इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख पौडेलले किसानलाई दुःख दिँदा समस्या बेहोर्नुपरेको किसानहरूको गुनासो छ । गत वर्ष हावाहुरीले क्षति गरेको केराको रकम कम्पनीले अझै भुक्तानी नदिएको किसानले बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?