सिमकोटको पानीमा भेटियो कोलिफर्म र इकोल

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटको खानेपानीमा मानिसका लागि प्रयोग गर्न अयोग्य जीवाणु कोलिफर्म र इकोल भेटिएको छ । सिमकोट बजार र वडा नम्बर ५ र ६ का लागि आपूर्ति हुँदै आएको खानेपानी योजनाको मुहान, इन्टेक र धाराको पानी परीक्षण गर्नेक्रममा उक्त जीवाणु भेटिएको हो । सिमकोटमा खानेपानीको ल्याब परीक्षण गर्नेक्रममा कोलिफर्म र इकोल भेटिएको स्वास्थ्य सेवा कार्यालयका ल्याब इन्चार्ज भक्ति फडेराले बताउनुभयो ।

जुन जीवाणुमा मानिस र पशुको दिसाको किटाणु देखिएको हो । यसरी सिमकोटको पानीलाई यसअघि परीक्षण गरिएको थिएन । पहिलोपटक परीक्षण गर्दा सो जीवाणु देखिएको हो । त्यसैगरी, सिमकोट–६ को मुग्रधाराको पानी परीक्षण गर्दा सो जीवाणु देखिएको थियो । यता पानी परीक्षण गर्ने स्वास्थ्यकर्मीको टोलीले वडा नम्बर ३ को लाङ्दु गाउँको खानेपानीको मुहानमा परीक्षण गर्दा नदेखिएको तर व्यक्तिको घरको धारामा भने देखिएको जनाएको छ । सिमकोट गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले मानिसका लागि प्रयोगयोग्य पानी नभएका कारण यसलाई उमालेर वा फिल्टर गरेरमात्र प्रयोग गर्न आग्रह गर्नुभयो ।

हाल सिमकोटमा झाडापखाला, टाइफाइड र आउँजस्ता रोगका बिरामी देखिनुको कारण उक्त पानीको प्रयोगले हुन सक्ने संयोजक भण्डारीले बताउनुभयो । उहाँका अनुसार खानेपानीको मुहान, इन्टेकको संरक्षण नगरी खुला भएका कारण पानी दूषित भएको हुन सक्ने बताउनुभयो । खानेपानी आपूर्ति गर्दै आएको मुहान, इन्टेक धाराहरूको संरक्षण कार्य गर्नुपर्ने देखिएको हो ।

उक्त पानी आठ हजारभन्दा बढी जनसंख्याले प्रयोग गर्दै आएका छन् । शाखाले यसअघि फिक्स टिक मेसिनबाट ठेहे र डाँडाफया गाउँमा पानी परीक्षण गर्दा उक्त जीवाणु देखिएको भए पनि त्यति विश्वासिलो नभएका कारण युनिसेफ नेपालसँग नयाँ मेसिन माग गरेको थियो । युनिसेफको आर्थिक सहयोगमा सञ्चालित खानेपानी तथा सरसफाइ स्वच्छता कार्यक्रम (वास) का संयोजक जंगबहादुर रोकायाले हाल पानी परीक्षण गर्ने वाकटेक मेसिनसहित जनशक्तिलाई तालिम दिएपछि पानी परीक्षणमा सहज भएको बताउनुभयो ।

अब गाउँपालिकाका सबै वडाका बस्तीमा मेसिनसहित जनशक्ति पुगेर परीक्षण गरिने भएको छ । त्योसँगै गाउँपालिकाको स्वास्थ्य शाखाले अब नयाँ खानेपानी योजना निर्माण गर्दा पानीको अनिवार्य ल्याब परीक्षणपछि मात्र निर्माण गरिने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?