धादिङ अस्पतालको शव वाहनमा चालक नहुँदा समस्या

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

-बाबुराम श्रेष्ठ

धादिङ । धादिङ अस्पतालमा रहेको शव वाहनमा चालक नहुँदा समस्या उत्पन्न भएको छ । जिल्लाको एकमात्र सरकारी अस्पताल धादिङ अस्पतालमा रहेको शव वाहनमा लामो समयदेखि चालक नहुँदा अहिले समस्या उत्पन्न भएको हो ।

अस्पतालमा मात्र होइन, जिल्लाबाहिर उपचारका लागि लगिएका आफन्तको मृत्यु हुँदा शव बोक्न अन्य सवारीसाधनहरूले नमानेपछि अहिले धादिङका नागरिकलाई समस्या भएको छ ।

शव वाहनमा चालक नहुँदा स्थानीयवासीले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा समेत ट्याक्टरमा बोक्ने गरेका छन् ।

स्थानीय तहले महँगो मूल्यमा आफ्नो सुविधाका लागि सवारीसाधन खरिद गरे पनि नागरिकलाई दुःख पर्दा चाहिने शव वाहनमा चालक नहुँदा निकै समस्या हुने गरेको छ । धादिङ अस्पताल धादिङले २०७९ जेठ २१ गते प्रदेश सरकारबाट प्राप्त भएको शव वाहन सञ्चालनका लागि हलुका सवारी चालक पदमा करार सेवामार्फत् पदपूर्ति गर्न भनी एकजना चालक मागेका थिए । सो सूचनाका आधारमा करिब आठजना चालकहरूले आवेदनसमेत दिएका छन् ।

अस्पतालले आठजनाको आवेदन फारम लिएर राखेको करिब दुई महिना हुँदासमेत कुनै प्रक्रिया अगाडि बढाएको छैन । कानुनी प्रक्रियाअनुसार जाने हो भने सूचना निकालेको एक हप्ताभित्र सम्पूर्ण प्रक्रिया पूरा गरिसक्नुपर्नेछ । तर, धादिङ अस्पताल प्रशासनको आन्तरिक समस्याका कारण उक्त आवेदनको प्रक्रिया अझैसम्म पूरा गर्न नसक्नुले अस्पताल प्रशासन शंकाको घेरामा परेको छ ।

जिल्लाका विभिन्न बस्तीमा सडक सञ्जाल पुगे पनि यहाँ सञ्चालन हुने सवारीसाधनले शव बोक्न नमान्ने र बोक्ने सवारीसाधनले भने चर्को मूल्य लिने गरेका छन् । दुई नगरपालिकासहित ११ वटा स्थानीय तह रहेका छन् । अस्पताल प्रशासनभित्रै कुरा नमिल्दा अहिले चालक राख्ने विषयमा कुनै अत्तोपत्तो छैन ।

योग्यता र क्षमताभन्दा आफूनिकट व्यक्तिलाई नियुक्ति गर्नुपर्ने एक किसिमको वातावरण सिर्जना भएको गोप्य सूचना प्राप्त भएको छ । सोही सूचनालाई निगरानी गर्दै अस्पतालमा किन राजनीतिक बखेडा सुरु भएको ? भन्ने प्रश्न सोध्दा जिम्मेवार व्यक्तिहरूले एकले अर्कोलाई आरोप–प्रत्यारोप लगाउँदै पन्छिएका छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलालाई उक्त कुरा बुझ्न खोज्दा उहाँले मोबाइल नै अफ गरी बस्नुभएको छ । अस्पतालका सूचना अधिकारी विक्रम विक भने अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिको बैठकबाट पदपूर्ति समिति गठन गरेर प्रक्रिया अघि बढाउने बताउनुहुन्छ ।

सो समितिमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नै पदपूर्ति समितिको समेत अध्यक्ष हुन्छ, मेसु सदस्य–सचिव, प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी, कोष नियन्त्रण कार्यालयका प्रमुखलगायत सात सदस्यीय समिति रहन्छ । त्यो समितिअन्तर्गत आवेदन परेका व्यक्तिहरूको लिखित परीक्षा र अन्तर्वार्ता कहिले लिने भन्ने विषयमा उनीहरूले नै निर्णय गर्छन् । यसमा मेरो केही लाग्दैन ।’

धादिङ अस्पतालका एम्बुलेन्स चालक रूपेश लम्साल भन्नुहुन्छ, ‘धादिङ अस्पतालको एम्बुलेन्स मैले चलाउँछु । फुर्सद भएको खण्डमा शव वाहन पनि चलाउने गरेको छु । अहिले बिरामी लिएर काठमाडौं आएको छु । मैले कुन-कुन काम गर्ने, अस्पतालले दुई महिनाअगाडिदेखि चालक राख्ने विषयमा सूचना निकालेको छ । त्यसमा अहिलेसम्म राख्न सकेको छैन, त्यसमा मेरो के गल्ती । अस्पतालको आन्तरिक समस्याले अरूलाई समस्या बनाउनुहुँदैन नि ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?