क्यारेम खेललाई राष्ट्रियस्तरमा आधिकारिकता प्रदान

Read Time = 3 mins

काठमाडौं । नेपालमा पहिलोपटक क्यारेम खेललाई राष्ट्रियस्तरमा आधिकारिकता प्रदान गरिएको छ । अल नेपाल क्यारेम एसोसिएसनले राष्ट्रिय खेलाडीहरू छनोट गर्नेक्रममा आयोजना गरेको प्रतियोगितामा अशोक तामाङ प्रथम, सिशेश ढकाल द्वितीय, करण मगर तृतीय र कविन सुनुवारलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत खेलाडीहरूलाई क्रमशः ५० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पनि प्रदान गरिएको थियो ।

प्रतियोगितामा भाग लिएका राष्ट्रियस्तरका ८० प्रतिस्पर्धीमध्ये शेराज अन्सारी र क्रान्ति रावललाई पनि सम्मानित गरिएको एसोसिएसनले जनाएको छ । आगामी अक्टोबरमा मलेसियामा हुन गइरहेको विश्व कप क्यारेम खेल प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुने गरी राष्ट्रियस्तरका छदेखि नौजनासम्म खेलाडीलाई पठाउने तयारी थालिएको एसोसिएसनका सल्लाहकार निलेश अधिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले यस्ता प्रतियोगिताहरूले राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय जगत्मा विस्तार गर्न सहयोग पुग्ने बताउँदै पर्यटन प्रवद्र्धनमा खेल पर्यटनको महत्वपूर्ण योगदान रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा विश्व कप क्यारेम एसोसिएसनका महासचिव विवेक देशनारायण, पश्चिम बंगाल स्टेट सिलगुडी भारतका राष्ट्रिय खेलाडी दुर्जेय धोश, डिस्टिक क्यारेम एसोसिएसन पश्चिम बंगालका सचिव सञ्जीव धोसलगायतले विश्व कपमा नेपालले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो । अल नेपाल क्यारेम एसोसिएसनकी अध्यक्ष विनिता अर्यालले विश्व कपमा सहभागी हुने नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिनुभयो । रासस ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?