बंगलादेशसँग नेपालको बराबरी, बंगलादेश फाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । भारतमा जारी साफ यु-२० प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग एक-एक गोलको बराबरी खेलेको छ । भारतको ओडिसास्थित कालिंगा रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले बराबरी खेल्दै अंक बाँड्दा बंगलादेशको फाइनल यात्रा निश्चित भएको हो । यता नेपालको सम्भावना कमजोर भएको छ ।

चार खेलबाट १० अंक जोड्दै बंगलादेशले फाइनल यात्रा तय गर्दा नेपालले चार खेलमा सात अंक जोड्न सक्यो । माल्दिभ्स र भारतबीचको खेलको नतिजामा नेपालको अघिल्लो चरणको यात्रा निर्भर हुनेछ । उक्त खेलमा भारत पराजित भएमात्रै नेपालले फाइनल यात्रा तय गर्नेछ । भारतले सुखद नतिजा निकाल्दा नेपालको फाइनल पुग्ने अवसर गुम्नेछ ।

मंगलबार बंगलादेशविरुद्ध सुरुवातदेखि नै आक्रामक देखिएको नेपालले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भएको थियो । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै बंगलादेशी खेलाडीले नेपाली मिडफिल्डर क्रितिशरत्न छुन्जुमाथि फाउल गरेपछि सिर्जना भएको तनावपूर्ण अवस्थापछि नेपालका दुई तथा बंगलादेशका एक खेलाडीले रातो कार्ड पाएका थिए । नेपालको मैदानमा रहनुभएका दिपेश गुरुङ तथा बेञ्चमा रहनुभएका रोहित सुब्बाले रातो कार्ड पाएर मैदानबाट बाहिरिँदा दुवै टोलीले बाँकी समय दस खेलाडीमा खुम्चिनुपरेको थियो ।

दबाबमा रहेको नेपाली टिमविरुद्ध ६४औँ मिनेटमा अहमद नोभाले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । तर, त्यसको चार मिनेट नबित्दै नेपालका लागि निरञ्जन मल्लले गोल गरेपछि खेल बराबरीको अवस्थामा आएको थियो । बाँकी समयमा दुवै टिमले राम्रा अवसरको सिर्जना गरे पनि बलले गोलको दिशा लिन सकेन र खेल बराबरीमा सकिएको हो ।

च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाएका छन् । राउन्ड रोबिन लिग प्रणालीमा आयोजना भएको प्रतियोगितामा नेपालले पहिलो खेल माल्दिभ्ससँग खेलेको थियो । ४-० को जित निकालेको नेपाल दोस्रो खेलमा श्रीलंकालाई ३-० तथा तेस्रो खेलमा भारतसँग ८-० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?