सहकारीमा पनि तरलता संकट

Read Time = 3 mins

काठमाडौं । बैंक तथा वित्तीय संस्थासँगै सहकारी क्षेत्रमा पनि तरलता संकट देखिन थालेको छ । तरलता व्यवस्थापनका लागि राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाहरूका नाममा विभिन्न नौबुँदे अपिल जारी गरेको छ । बैंक तथा वित्तीय संस्था जस्तै कतिपय सहकारी संस्थामा समेत तरलता चाप पर्न गई सदस्यहरूलाई बचत फिर्ता गर्न कठिनाइ भइरहेको भन्दै महासंघले तरलता व्यवस्थापनमा सचेत गराएको छ ।

करिब एक वर्षदेखि देखिएको तरलता संंकटको असर सहकारी क्षेत्रमा समेत देखिन थालेको अवस्थालाई मध्यनजर गर्दै आफ्नो वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थाभन्दा बढी तरलता कायम राख्न, सदस्य तथा सरोकारवाला निकायसँग विद्यमान अवस्थाबारेमा निरन्तर समन्वय र संवाद जारी राख्न, सहकारीका मूल्य, मान्यता र सिद्धान्तबमोजिम आन्तरिक नियन्त्रण प्रणाली चुस्त राख्दै संस्थागत सुशासन कायम गर्न महासंघले अपिल गरेको छ ।

त्यस्तै परिस्थिति सहज नहुँदासम्म घरजग्गालगायत अनुत्पादक क्षेत्रमा ठूलो लगानी नगर्न, जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनाबद्ध तथा प्रभावकारीरूपमा असुलीमा केन्द्रित हुन, सहकारी अभियानको ऐक्यबद्धता कायम राख्न माथिल्ला संघहरूसँग नियमित सम्पर्कमा रहँदै यथासम्भव अभियानभित्रै कारोबार गर्न, महासंघ, संघ तथा सहकारी बैंकले सञ्चालन गरेका स्तरीय कार्यक्रम एवं तालिममा सहभागी भई संस्थागत क्षमता मजबुत बनाउन, सदस्यहरूले समेत अस्वाभाविक व्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरूसँग मात्र कारोबार गर्न महासंघ अध्यक्ष मीनराज कँडेलद्वारा जारी अपिलमा उल्लेख छ । कोरोना महामारी, रुस-युक्रेन युद्धसँगै वस्तु तथा सेवाको मूल्यवृद्धि र मुद्रास्फीतिको असर पर्न गई नेपालका बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अभाव रहेको छ । जसको असर सहकारी क्षेत्रमा पनि पर्न थालेको महासंघको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?