भारतीय सहयोगमा विद्यालय भवन

Read Time = 3 mins

नुवाकोट । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रम सिंह ठकुरीले भारत सरकारको अनुदान सहयोगमा विदुर नगरपालिकास्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको संयुक्तरूपमा उद्घाटन गर्नुभएको छ ।

सोही अवसरमा जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण पनि गरेको छ । कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । दूतावासका अनुसार भारत-नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारतको आर्थिक सहयोगमा दुई करोड ५० लाखको लागतमा सामुदायिक विकास परियोजनाका रूपमा भवन निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारतले अघि सारेको आजादीका अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनामध्येको एक हो ।

विद्यालय स्थापना सन् १९५१ मा भएको हो । त्रिशुली जलविद्युत् परियोजनाका लागि आउनुभएका भारतीय इन्जिनियर केआई सिंहले विद्यालयको डिजाइन गर्नुभएको हो । विद्यालयमा १३ सय ४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ६० प्रतिशत छात्रा छन् । सन् २००३ यता भारतले नेपालमा पाँच सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातवटै प्रदेशमा चार सय ७० परियोजना सम्पन्न भइसकेको दूतावासले जनाएको छ । तीमध्ये नुवाकोटका सातसमेत बागमती प्रदेशमा एक सय तीन रहेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?