तारेख खेप्दै दाङका मोही

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 8 mins

विवेक खड्का/हिटा
दाङ । दाङको राप्ती गाउँपालिका-७ का बहिदार चौधरी मोही हक कायम गर्न भूमिसुधार कार्यालय धाइरहनुभएको छ । गढवा-३ गोबरडिहाका कृष्णअवतार चौधरी, भुपाल नारायण चौधरी र कल्पना चौधरीको नाममा रहेको जमिनमा बहिदारको मोही छ । त्यही मोहीयानी हक नामसारी गर्न माग गर्दै बहिदारले ०७४ मा भूमिसुधार कार्यालयमा निवेदन दिनुभयो तर अहिलेसम्म हक कायम हुन सकेको छैन । त्यसका लागि बहिदार निरन्तर कार्यालयको तारेखमा हुनुहुन्छ । कार्यालयले जग्गाधनी भेट्न नसकेकाले तारेखमै राखेको बताउँछ ।

२०७४ साल भदौ १४ गते मोही हक नामसारी गरिपाउँ भनी चौधरीले निवेदन दिनुभएको थियो । निवेदनअनुसार भूमिसुधार कार्यालयले जग्गा धनीलाई पनि सम्पर्कमा ल्याएर मोही हक कायम गर्नुपर्ने हो । कार्यालयले १५ दिने सूचना त जारी गर्‍यो तर पाँच वर्ष पुग्नै लाग्दा पनि जग्गाधनीलाई फेला पार्न सकेन । एकसरो सूचना टाँसले मात्रै जग्गाधनी सम्पर्कमा आएका छैनन् । बरु २०७४ देखि अहिलेसम्म मोही हकदार बहिदार चौधरी नै निरन्तर तारेख धाउन बाध्य हुनुहुन्छ । २०७४ कात्तिक २६ गते, पुस २६ हुँदै २०७९ जेठ ११, साउन १२ पछि अब आउँदो कात्तिक १८ गते तारेख तोकिएको छ बहिदारलाई । मोही हकअनुसारको जमिन कात्तिकसम्म पनि पाउने नपाउने कुनै ठेगान छैन ।
बर्दिया मधुवन नगरपालिका-२ का ८७ वर्षीय शेरबहादुर थारूको पीडा पनि उस्तै छ । ११ पटकको तारेख लिँदासम्म मोही हकअनुसारको जग्गा पाउनुभएको छैन । साविक लक्ष्मीपुर-४ गोग्लीको जग्गामा आफू मोही भएको र मोहियानी हक दाबी गर्नुभएका उहाँलाई कार्यालयले अझै न्याय दिन सकेको छैन । रोल्पा थवाङ-७ का जग्गाधनी तिर झाँक्रीलाई सम्पर्कमा ल्याउन कार्यालयले म्याद काट्ने काम अहिलेसम्म गर्न सकेको छैन ।

यी प्रतिनिधि पात्र मात्रै हुन् । दाङमा मोहियानी हक दाबी गर्ने किसानहरू हक माग्दा वर्षौंदेखि तारेख बोक्न बाध्य छन् । जग्गाधनी सम्पर्कमा आफैँ अलि कमै आउँछन् । मोहीवालाले दाबी गरेपछि भूमिसुधार कार्यालयले म्याद दिएर सम्पर्कमा ल्याउनुपर्छ तर कार्यालयले जग्गाधनीलाई म्याद नै नदिने गरेको पाइएको छ । पीडितको उजुरी परेपनि कार्यालयबाट म्याद नकाटी उजुरीकर्तालाई एकोहोरो तारेखमा राख्ने काम भएको मोही किसानको दुखेसो छ । जिल्ला भूमिसुधार कार्यालयमा तारेख बोक्ने मोहीवालाको संख्या धेरै छ । कार्यालयमा दैनिक २० जना किसान तारेख थाम्न आउने गरेका छन् । तीमध्ये २० प्रतिशत मोही किसानले निवेदन दिएका तर जग्गाधनीलाई म्याद नदिएको अवस्था रहेको जिल्ला भूमिसुधार कार्यालय दाङका खरिदार मीनबहादुर केसीले जानकारी दिनुभयो । किन म्याद काटिँदैन त भन्ने विषयमा कार्यालयको जवाफ छैन । कार्यालय प्रमुख तथा प्रमुख मालपोत अधिकृतसमेत रहनुभएका शालिकराम ढकाल बिदामा रहेको र फोन रिसिभ नहुँदा जग्गाधनीलाई म्याद नकाट्नुको कारण पत्ता लागेन ।

यतिमात्रै होइन भूमिसुधार कार्यालयले तारेख बोक्ने मोहीवालाको संख्या धेरै रहेको बताए पनि जिल्लामा मोहीको संख्या कति छ भन्ने लेखाजोखा समेत राखेको छैन । निवेदन परेको संख्या भए पनि कुल मोही संख्याको कुनै लेखाजोखा छैन । मोही किसानले दिएको निवेदनअनुसार दाङमा एक हजार ५९४ मोहीसम्बन्धी मुद्दा फस्र्योट हुन अझै बाँकी छन् । दुई हजार २२ मुद्दा परेकोमा ४१८ वटा मात्रै फस्र्योट भएको कार्यालयले जनाएको छ ।

बिचौलियाकै दबदबा
लमही-७ उचानिम्बुका रामु चौधरी हजुरबा गंगारामको निधनपछि हजुरआमा बुधनीको नाममा मोही नामसारी गर्न तारेखमा वारेस बनेर भूमिसुधार पुग्नुभएको थियो । आफू वैदेशिक रोजगारीमा जान लागेपछि वारेस अरूलाई दिन लिखत बनाउन जाँदा बिचौलियाले साढे छ हजार मागे । ‘मैले माइला बुवाकोमा वारेस सार्न खोज्दा लिखतको साढे ६ हजार मागे’- रामुले भन्नुभयो, ‘मलाई आउँथ्यो र नेपाली कागजमा आफैँ लेखेर बुझाएँ, पैसा जोगियो ।’ उहाँ जस्तै मोटो रकम तिरेर मोहीको काम गराउन आउने कार्यालयमा धेरै छन् । भूमिसुधार कार्यालय दाङमा एकजना खरिदार दुईजना कार्यालय सहयोगी र एकजना तामेलदार छन् । दरबन्दीअनुसार अधिकृत एक, नासु दुई भए पनि कार्यालयमा छैनन् तर कर्मचारी जस्तै फाइल पल्टाउने सेवाग्राही ढुकेर बस्ने बिचौलियाले कर्मचारीकै काम गरिरहेका छन् । ‘कहिलेकाहीं त कर्मचारीकै कुर्सीमा बसेर सेवाग्राही ढुक्दै काम गर्ने बिचौलिया छन्’- स्रोतले भन्यो- ‘बिचौलियाले सेवाग्राहीको काम गरेको कर्मचारीले पनि पत्तो पाउन्नन् ।’

बिचौलियाको बिगबिगी भएपछि भूमिसुधार कार्यालय दाङले दुई साताअघि मात्रै कार्यालयमा अनावश्यक प्रवेश नगर्न र कार्यालयको काम कारबाहीमा प्रभाव नपार्न सार्वजनिक सूचना नै टाँस गर्‍यो । फाइल भएका प्रत्येक दराजमा अनुमतिबिना नखोल्नु भनी लेखेर टाँसियो, मिसिल भएको खानामा जाने बाटो बन्द गरियो । ‘हामीले बिचौलियाबाट सेवाग्राही नठगिऊन् भनेर विशेष ख्याल गरेका छौं’- कार्यालयका खरिदार मीनबहादुर केसीले भन्नुभयो- ‘कार्यालयमा बाहिरी मान्छे आएर हालीमुहाली नगरून् भनेर सूचना टाँसी सचेत बनाएका छौं, सेवाग्राही पनि सचेत हुन जरुरी देखियो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?