विसंगतिका चाङबीच त्रिवि

हिमालय टाइम्स
Read Time = 7 mins
A A- A+

त्रिभुवन विश्वविद्यालय स्थापना भएको साढे ६ दशक हुनै लागेको छ तर यसले यति लामो अवधिमा एकातिर धेरै विसंगति र विकृतिको सामना गर्नु परेको छ भने अर्कातिर आफैँले पनि यस्ता विसंगति जन्माएको छ । सरकारको पूर्ण स्वामित्वमा सञ्चालित विश्वविद्यालय भएका कारण हालमा सामुदायिक विद्यालयहरूकै शैलीमा त्रिभुवन विश्वविद्यालय पनि सञ्चालन भइरहेको छ । समयमा परीक्षा नगर्ने, परीक्षाफल समयमा प्रकाशन नगर्ने, वार्षिक कार्यतालिका बनाउन नसक्ने र बनाए पनि कार्यतालिका अनुसार चल्न नसक्ने जस्ता अनेकौँ कमजोरी बोकेर बसेको त्रिभुवन विश्वविद्यालय बेलाबेलामा विद्यार्थीहरूका उत्तरपुस्तिका हराउने तथा पाठ्यक्रमले निर्धारण गरेको पाठ्पुस्तक बाहिरबाट प्रश्न सोध्ने जस्ता गल्तीका कारणले समेत आलोचनामा पर्ने गरेको छ ।

२०३९ सालसम्म नेपालमा त्रिभुवन विश्वविद्यालय एक मात्र विश्वविद्यालयका रूपमा रहेको थियो । संस्कृत संकाय पनि त्रिविअन्तर्गत नै राखिएको थियो । २०३९ सालमा त्रिविबाट अलग भएर नेपाल संस्कृत (तत्कालीन अवस्थामा महेन्द्र संस्कृत) विश्वविद्यालय भएपछि दुईवटा विश्वविद्यालय त बने तर संस्कृत विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको प्रतिस्पर्धामा आउन सकेन । प्रजातन्त्रको पुनःस्थापनापछि भने काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, हुँदै हाल लुम्बिनी विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायतका विश्वविद्यलयहरू अस्तित्वमा छन् । यसरी निजीस्तरमा धमाधम विश्वविद्यालय खुल्न थालेपछि त्रिभुवन विश्वविद्यालय तिनीहरूको छायामा पर्दै गयो ।

अर्कातिर यसलाई सरकारमा पुगेका पार्टी र व्यक्तिहरूले आफ्ना कार्यकर्तालाई जागिर खुवाउने भर्ती केन्द्र पनि बनाएर पहिले करारमा भर्ना गर्ने र पछि आयोग खुलाएर विधि पुर्याउने र स्थायी गर्ने गर्दै जानाले समेत त्रिविको स्तर खस्किँदै गयो । प्राध्यापकहरूले नपढाउने र विद्यार्थीहरू पनि नपढ्ने परिपार्टीको विकास हुँदै गयो । क्याम्पसहरूका छेउछाउका फोटोकपी सेन्टरहरूबाट गेसपेपर र फोटोकपी किनेर परीक्षाको अघिल्लो रात हेरेका भरमा जाँच दिने परिपार्टीले गर्दा शिक्षाको स्तर खस्किएर गयो । चोर्ने र चोराउने कार्यले प्रश्रय पायो र त्रिवि अनेकौँ दलदलमा भासिँदै गयो । प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परीक्षणसम्ममा लापरबाही हुन थाल्यो । यस्ता लापरबाहीका कारण विद्यार्थीका कपी हराएका उदाहरूणहरू बाक्लै भेटिने गरेका छन् भने पाठ्यक्रममै समावेश नगरिएको विषयवस्तुबाट प्रश्नहरू बनाउने गरियो ।

यसो हुँदा कतिपय अवस्थामा त ८० प्रतिशत प्रश्न कोर्स बाहिरबाट र बाँकी २० प्रतिशत जति मात्र पाठ्यक्रममा आधारित प्रश्न हरू आउने जस्ता समस्या सिर्जना भए । पढाउने शिक्षकले त्यहाँ कक्षामा उपस्थित नै नभई प्रश्नपत्र बनाएका कारण यस्तो हुन पुगेको हो भन्न जसले पनि सक्ने भयो । यदि यसो भएको होइन भने त्रिविभन्दा बाहिरको कुनै व्यक्तिले त्रिविको कोर्समा के पाठ्यसामग्री समावेश छ भन्नेसम्म पनि नहेरी प्रश्नपत्र निर्माण गरेको हो भन्ने देखियो । यस्ता सवालमा सचेत विद्यार्थीले आफ्नो हक अधिकारको प्रयोग गरेर त्रिविमा खबरदारी गर्दा कुनै सुनुवाइ नभएपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेर त्यसको उपचार माग्दा अदालतबाट रिट निवेदकको पक्षमा फैसला गरेको भए तापनि त्रिविले त्यसको पालना नगरेको अवस्थाको विद्यमानता छ ।

यस्तै, अनेकौँ कमजोरीका कारण त्रिविका कतिपय संकाय तथा विभाग संकटमा छन् । कुनै कुनै विषयको विभाग भए पनि त्यस्ता विषय पढ्ने विद्यार्थीहरू भर्ना हुन नआउने कारणले गर्दा लेक्चरहरूले हाजिर गरेर जागिर खाइरहेका छन् । प्रमाणपत्र तह खारेज गरेपछि पनि धेरै प्राध्यापकहरूले यसरी सुखले जागिर खाएका थिए । त्यसमाथि पार्टी कार्यकर्ता करारमा भर्ती भएपछि त्रिवि आर्थिक रूपमा समेत कमजोर बन्दै गयो । त्रिविका माथिल्लो तहका पदाधिकारी पनि राजनीतिक व्यक्तिहरू मध्येबाटै नियुक्ति गरिनाले तिनीहरू सरकारप्रति सधैँ बफादार बन्नु स्वाभाविक हो । त्रिविमा यस्ता विकृतिहरू खोज्दै जाने हो भने त्यसको फेहरिस्त निकै लामो हुन जान्छ । यसैले गर्दा हो त्रिवि हाल विकृति र विसंगतिका चाङमा पुरिँदै गएको । जो बिरामी हुन्छ उपचार पनि त्यसैले खोज्नुपर्छ । त्रिवि पनि आफ्नो स्तर उकास्न र विसंगति हटाउन आफैँ सक्रिय हुनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?