राजेन्द्र अर्यालको आजको मान्छे : हेर्दा यस्तै देखियो

Read Time = 17 mins

-तिलकप्रसाद लुइँटेल

राजेन्द्र अर्यालबाट लेखिएको कवितासंग्रहको नाम हो ‘आजको मान्छे’ । मानिसको कालो आकृतिमा सेता आँखा पछाडि उभिएको र अगाडि सफा सुटटाईको अमूर्त मानिस भएको, रंगीन, सुन्दर आवरण सन्तोष दाहालले डिजाइन गरेको रहेछ । बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको, पूज्य माता स्वर्गीय नन्दकुमारी अर्यालमा समर्पित यस कवितासंग्रहमा आत्माभिव्यक्ति शीर्षकका तीन ठाउँबाट ‘धेरथोरको कुरा हो, सिर्जना क्षमता सबैमा हुन्छ । ...वातावरण मिल्यो र विस्तारै ममा पनि साहित्यिक चेत थपिँदै गयो । ... हामी श्रीमान्–श्रीमती दुवै साहित्यमा रुचि राख्दै प्रायः एउटै टेबुलमा बसेर साहित्य सिर्जना गर्छौं पनि ।’ यति कथन उद्धृत गरियो । यसबाट पाठकले पाउने जानकारी तस्वीर आफैँ बोल्छ भनेको जस्तै भएको छ ।

कम तौलको बाक्लो कागजमा पाश्र्वचित्र राखेर छापिएका त्यस किताबमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत् उपाध्याय ‘प्रेक्षित’ ले कुरूप यथार्थका बीचबाट सुन्दर जीवन खोज्ने कविताहरू शीर्षक राखेर हरेक केस्रा केलाउँदै भूमिका लेख्ता यस संग्रहमा व्यंग्य कविताहरू पनि समावेश छन् भन्ने संकेत पाइयो । त्यसै भूमिकामा भएको पहिलो अनुच्छेदमाक, ‘यो नेपालीपन उहाँको कलमबाट... हातमा आउँदै छ ।’ र ‘आजको मान्छे नाम दिइएको... लयमा उनिएका छन् ।’ कथनले कविको काव्ययात्रा, पुस्तकभित्र समेटिएका कविताहरूको संख्या, रचनाको मर्म, संरचनागत प्रकार आदि प्रायः सबै कुरो भेटियो ।

भूमिकाभित्र उद्धरणले उदाहरण दिँदै विविध पक्षको चर्चा गरेपछि यस लेखमा, ‘यस संग्रहभित्र... यहाँ समाविष्ट छन् ।’ आयो यस लेखमा सिंगो पुस्तकको कथ्य विषय आएको छ । ऋण तिर्न सकिएला तर गुन तिर्ने सामथ्र्य कसैको हुँदैन, अझ अरूको उपकारको बदला दिन सकिएला तर बाआमाले तिर्न नसकिने गुन लगाएका हुन्छन् भन्ने भाव यी हरफहरू लेख्तै गर्दा देखिएको छ, यो नितान्त निजी विचार हो ।

छोराछोरीलाई सुखी र खुशी देखेपछि बाआमाबाले आफ्नो जीवन सफल मान्छन् । कसैले अर्काका छोराछोरीको पनि खुशी चाहन्छन् भने कसैले अर्काका छोराछोरीको खुशी खोसेर आफ्नालाई दिने प्रयास गर्छन् । मानिसको उत्कृष्ट वा निकृष्ट व्यवहार यहीँ अनुमान हुन्छ ।

किताबमा समावेश भएका सबै कविताको रचना भएको मिति र अवसर वा उपलक्ष्य कविताको अन्तिममा संकेत गरिएको छ । कवितालाई सुरुदेखि अन्त्यसम्म विविध सैद्धान्तिक पाटाबाट चर्चा गर्न यस सानो लेखमा सम्भव नहुने हुनाले भाव पक्षको थोरै थोरै कुरो गरेरमात्रै बिट मार्नुपर्ने भएको छ । ‘आजको मान्छे’ शीर्षकको कवितामा आइपुग्दा पृष्ठ १७ मा पुगिएछ । यहाँबाट एकाउन्नवटा कविताको क्रम सुरु भयो । पुस्तकको नामकै प्रतिनिधित्व गर्ने हुनाले यसै कवितालाई नायक कविता मानौँ । यस कवितामा मानिस प्राविधिक प्राणी हो, प्रविधिमै मानिसको जीवन साध्य छ भन्ने भाव मननीय व्याख्येय लाग्छ कविताभित्रै, ‘किन पाप कर्ममा... धूर्त ब्वाँसाको आवरणभित्र छ मान्छे ।’

काम खराब गरे पनि मान्छेलाई खराब देखिन मञ्जुर छैन । चोरीचकारी नै गरेको भए पनि उसलाई चोरचकार भनेको मन पर्दैन । घुसखोरी, भ्रष्टाचार, बलात्कार पनि मानिसले नै गर्छ तर उसैलाई उसकै कर्मको चर्चा गर्दा ऊ रिसाउँछ । वास्तवमा मानिसले असल भनियोस् र असल नै गर्न पाइयोस् भनेर खोजेको हुन्छ तर सामाजिक व्यवहारले नै उसलाई मन नपर्ने काममा प्रेरित गरेको हुन्छ । ‘मन’ कविताले यसरी नै मन छोएको छ । मानिसका मनले खोजेको त यही नै हो तर, ‘लीला छ... लाज ढाक्न पुग्छ ।’

बसोवास गर्ने ठाउँ रोज्दा सबै कुराको सुविधा हेरिन्छ, ती सबै भइकन पनि छिमेकी असल भएन भने दुःख पाइन्छ भनेर मानिस भाग्छ तर केही केही असुविधा हुँदाहुँदै पनि छिमेकी सहयोगी भए सम्झौता गरेर बस्न खोज्छ । किनभने मानिसले समाजमै नबसी हुँदैन तर समाजको आफ्नै स्वभाव छ । मर्न लागेर चिच्याएको मानिसलाई समाजले नै बचाउने प्रयास गर्छ र बाँचेका अवस्थामा मर्ने गरी प्रतिस्पर्धा गर्ने पनि यही समाज हो । राज्यहरूको पनि गतिविधि यस्तै हो । छिमेकीसँग उनको सम्बन्ध युगौंदेखि यस्तै छ । प्रतिपक्षी नभए कोसँग, प्रतिपक्षी बलियो भए कसरी जित्नु ? एकै देशभित्रका राजनीतिक दलहरूको राजनीति गर्ने मुख्य प्रवृत्ति पनि यही हो । कविताका हरफमा, ‘निःस्वार्थ सम्बन्धको... घाउ बनेर टन्किएका छन् ।’

छोराछोरीलाई सुखी र खुशी देखेपछि बाआमाबाले आफ्नो जीवन सफल मान्छन् । कसैले अर्काका छोराछोरीको पनि खुशी चाहन्छन् भने कसैले अर्काका छोराछोरीको खुशी खोसेर आफ्नालाई दिने प्रयास गर्छन् । मानिसको उत्कृष्ट वा निकृष्ट व्यवहार यहीँ अनुमान हुन्छ । पारिवारिक रूपमा मात्रै होइन, समाज र राज्यको नियम यस्तै हुन्छ । ‘बा’ शीर्षकको कवितामा बाको स्मरण गर्दै जीवनमात्रै बाआमाबाट पाइएको होइन, यहाँ जीवन बाँच्ने कला, प्रेरणा र उत्साह पनि पाइएको छ भन्ने कुरा देखिएको छ । यसलाई संकेत गर्दै सकारात्मक पक्षको, सिर्जनशील र प्रेरणादायी कुरा ‘फुंग उडेको... परिश्रमी हुन् बा ।’

विदेशमा सुख छ तर खुशी छैन भन्ने भनाइ विदेशमा लामो अनुभव हासिल गरेका नेपालीजनबाट सुन्न पाइएको छ । अभावले दुःख पाउनेप्रति दयाभाव जाग्नु स्वाभाविक हो तर आफूसँग कमाइखाने स्रोत छँदाछँदै काम नगरेर दुःख पाउँछ भने उसमाथि दया गर्नु व्यर्थ छ ।

मान्छे पनि जन्मँदा फूल जस्तै प्रिय हुन्छ, भलै कति जनाका लागि भन्ने फरक पर्ला । उही मानिस सत्यको जित अवश्य हुन्छ । यसो भन्दाभन्दै एक दिन अन्यायमै पिल्सिएर पनि कैयौँ मानिस मरेको हुन सक्छ । फूललाई टिपिएपछि चिहानमा पुग्छु कि मन्दिरमा पुग्छु भन्ने थाहा हुँदैन । मानिसको हाल पनि उही हो, सुन्दर जीवन जिउँछु भन्ने कल्पना सबैको हुन्छ तर उसले त्यो दिन देख्न पाउन सक्छ र नपाउन पनि सक्छ । ‘समयको खेल’ शीर्षकको कविताभित्र हेर्दा, ‘श्रद्धाले टिप्यो मालिले... लासमाथि समर्पित भयो ।’

चाडपर्व सबैका लागि रमाइलो नै हुन्छ । परदेशी हुनु रहरभन्दा बढी बाध्यता हो भन्ने ‘परदेशीको तिहार’ शीर्षकको कविताले खानुपर्ने नभए मानिस महŒवाकांक्षी बन्दैनथ्यो र प्रविधि नै अन्न जोगाड गर्ने प्रमुख आधार हुनाले त्यसकै खोजीमा पो मानिस परदेश लागेर पिरोलिएको हो कि भन्ने भाव देखाएको छ । पीडाबोध भएको यस कवितामा— ‘भगिनीकै मुस्कानको... मनाउन सकिनँ तिहार...’ भनिएको छ ।

सायद सम्भावनासँग आशावादी भएर वा बलबुताको समाप्ति भएपछि मान्छे भगवान्को स्मरण गर्दो हो । ‘खोइ ! कहाँ होलान् र भगवान् ?’ शीर्षकका कविताले आशा वा निराशामा गराएको भगवान्को अस्तित्व स्वीकार गरेको छ । फूलमा राता, पहेँला रङ दल्ने वा रूखमा आँप, मेवा आदि फल्ने ताकत कसको हो भनेर यसै बेलामा सोच्छ होला । राँगा बोका र अन्नका दानाहरू मानिसले बनाउने हो कि अर्कै ताकतले हो भन्ने मनन गर्दै यिनलाई बनाउन सक्तैनौँ भने मास्न कसरी सक्यौँ भन्ने प्रश्न उठाइदिने कवितामा, ‘सयौँ अनियन्त्रित... निर्मम बर्सारहेको ।’

समयले प्राणी उत्पन्न गर्छ, विचार उत्पन्न गर्छ, परिस्थिति उत्पन्न गर्छ । समय मानिसले बनायो कि समयले मानिस बनायो ? समयमा जसले लगानी गर्छ उसले नाफा उठाउँछ र समयले पनि उसै गर्छ । गुच्चा खेलेर बालकमा समय बिताएको र शिक्षा, सीप कमाउँदा समय बितेका मानिसहरूको पछिल्लो जीवन त्यसको साक्षी हो । ‘घडी अर्थात् मेरो हेडसर’ शीर्षकमा हेर्दा, ‘यसरी मेरो हेडसरलाई... ढुंगा शालिग्राम मानियो ।’

प्रकृति वा साधनहरू आफैँ कसैलाई सुख वा दुःख दिने होइनन् । प्रकृतिको प्रभाव अनुभव गर्नेलाई सुखद वा दुःखद हुन्छ । त्यसैगरी साधनबाट प्रयोगकर्ताले सुख वा दुःख दिन्छ र कतिपय अवस्थामा आफैँ पनि पाउँछ । हिउँ प्रकृतिले आफैँ बनाएको हुनाले उसले मानिसको जस्तो कसैलाई हेरेर रमाउने वा कसैलाई चिसोले दुःख दिने नियत बनाएको होइन । हिउँको साम्राज्यमा शीर्षकको कविताका हरफहरू हेर्दा, ‘हिउँको कष्टप्रद उच्च... निन्याउरो र मलीन देखिन्छ ।’

मेरी उनी र मेरा उनी उस्तै हुन् । मेरो वा मेरी मान्न सक्नुले दुवै पक्षको जीवन्त सम्बन्ध जनाउँछ । कैयौँका जीवनमा सुरुमा पहिले चन्द्रमुखीको र पछिपछि ज्वालामुखीको रूप लिएका कुराहरू मेरो वा मेरी भनेर गौरव गर्न नसकेको परिणाम हुन् । जीवनमा पहिले जुधे पनि पछिपछि मिलेर बस्ने पशुको आत्मीयता स्वीकार्य छ र टुप्पाबाट फेदतिर चुस्तै ल्याएको उखु जस्तो हुनु राम्रो भन्ने विचार ‘मेरी उनी’ शीर्षकको कवितामा, ‘अनि हृदयको केन्द्रमा तिमी... फूलबारीको बास्ना तिमी ।’

विगत सम्झँदा आँसु आउने र भविष्य सम्झिँदा त्रास लाग्ने प्रायः सबै मानिसको नियति हो । वर्तमान के हो र यसको सीमा कति भन्ने व्यवहारमा पाउन सकिँदैन । फेरिसकेको सास विगत भयो र फेर्न बाँकी रहेको भविष्य नै हो । जो जहाँ र जसरी छौँ उसैलाई रमाइलो र आशावादी बनाउने प्रयास नै बुद्धिमानी हो । क्रियाशील हुनु र सिर्जनशील बन्नु नै त्यसको सर्वोत्तम उपाय हो । गएको समय फिर्ता हुँदैन, बितेको पल रित्तो भएन भने आउँदो पलले त्यसको फल दिन्छ, त्यसको उल्टो पनि उस्तै सत्य हो । एकरूप कोही र केही रहन्न । हरेक वर्तमानले जतन गरे अण्डाबाट चल्ला बन्छ, जतन नगरे कुहिन्छ । यसैलाई ‘वर्तमान’ शीर्षकको कवितामा, ‘नवयौवनाको रूपको... उद्दण्डताको झण्डा गाड्यो ।’

गोरखा शब्दले सबै ने पालीलाई विश्वमा चिनाउँछ । गोरखा राइफल, गोरखा रेजिमेन्ट आदि नामले सैनिकसेवामा रहेका र पुरानो इतिहासमा गोरखाली वीर भनेर पनि परिचय कायम छ । आफू जन्मेको हुर्केको र बसोवास गरेको ठाउँ साना–ठूला पशुप्राणी, माछाभ्यागुता सरीसृपलाई पनि हुन्छ भने मानिसलाई नहुने कुरै भएन । आफूले आफ्नो ठाउँ नसम्झिए सम्झने कसले, आफूले नसुधारे सुधार्ने कसले ? आफ्नो जीवन अनुभव गर्न नै सबै मानिस ब्यस्त छन् । आफ्नो स्थान सजाउने काम पनि आफ्नै हो भन्ने भाव ‘जन्मभूमि गोरखा’ कविताले दिएको छ र अनुष्टुप् छन्दको यस कवितामा, ‘दिए आहुति प्राणैको... भिल्लका देशमा मणि ।’

विदेशमा सुख छ तर खुशी छैन भन्ने भनाइ विदेशमा लामो अनुभव हासिल गरेका नेपालीजनबाट सुन्न पाइएको छ । अभावले दुःख पाउनेप्रति दयाभाव जाग्नु स्वाभाविक हो तर आफूसँग कमाइखाने स्रोत छँदाछँदै काम नगरेर दुःख पाउँछ भने उसमाथि दया गर्नु व्यर्थ छ । नेपाल गरिब छ तर नेपालीको मन गरिब छैन । व्यवस्था गर्नेले देशको अभाव बुझेर योजना बनाउने हो भने धेरै नेपालीले पराई देशमा दुःख पाउनुपर्ने थिएन । यस्तो लाग्छ, नेपालीले जति दुःख पाउँछन्, मुलुक जति डुब्छ, सत्तामा रहनेलाई उति नै फाइदा छ । त्यसैले सत्ताको राजनीतिमा विपक्ष रातदिन सत्ता खोस्न र सत्ता पक्ष रातदिन सत्ता जोगाउनमै व्यस्त छन्, इतिहासदेखि वर्तमानसम्म । ‘नियति परदेशीको’ शीर्षक भएको कविता हेर्दा, ‘निःसहाय अनि निरुपाय बन्दै.... भास्सिन तत्पर भेट्यो ।’

हार्डवेयर र सफ्टवेयर दुवै पाटो स्वस्थ भएर कम्प्युटर वा मोबाइल चल्छ । दुवै पाटा एक अर्काका पूरक हुन् । पाटाको अनुपस्थितिमा दुवै पाटा नकाम हुन्छन् । मानिस न कोही पूरै भौतिक हुन सम्भव छ, न कोही पूरै आध्यात्मिक । शरीर आत्मा जिउँदो रहनका लागि एक अर्काका पूरक हुन्छन् । ‘मन र शरीर’ शीर्षक भएको कविता पनि यस्तै देखिन्छ । जीवन स्वस्थ रहनका लागि सबै पक्ष सबल होऊन् भन्ने कामना गर्दै, ‘म त भ्रममा पो रहेछु... निरीक्षण गर्दो रहेछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?