अस्पताल जाने सडक नहुँदा बिरामीलाई सास्ती

हिमालय टाइम्स
Read Time = 3 mins

सुर्खेत । अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा जाने बिरामीहरुलाई समस्या हुँदै आएको छ । सडकको पहुँच नभएपछि भेरी नदीको पारी पट्टी नै एम्वुलेन्स रोकेर स्टेचरमा विरामी राखेर बिरामी लिनुपर्ने बाध्यता रहेको छ । पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट आधा घन्टा समय खर्चनु पर्ने बाध्यता छ ।

अहिले प्रयोग भइरहेको बाटो घुमाउरो र साँघुरो भएकै कारण अस्पताल नपुग्दै बिरामीको ज्यान जाने गरेको छ । सदरमुकामस्थित लामालोटे या कालिका मन्दिर आसपासबाट बेलिब्रिज बनाएर बिरामी बोकेको एम्बुलेन्स सीधै अस्पतालसम्म पुर्‍याउन सकिने भए पनि पुल निर्माणका लागि अहिलेसम्म कसैले पनि चासो नदेखाएको अस्पताल र स्थानीयको गुनासो छ।

बजारको झोलुंगे पुलसम्म मात्र मोटरबाटो भएकाले त्यहाँसम्म मात्र एम्बुलेन्सले बिरामी ल्ययाउँछ। त्यसपछि बिरामी बीचबाटोमै अलपत्र पर्ने गरेका छन् । कहिलेकाहीँ बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पतालसम्म लैजान मान्छे नपाउँदा बिरामीले बाटोमै ज्यानसमेत गुमाउने गरेको स्थानीयवासीहरू बताउँछन् ।

दुनैका ठूला व्यापारीको व्यक्तिगत स्वार्थका कारण केही वर्षअघि बन्न लागेको झोलुंगेपुल पनि स्थगित भएको आरोप लाग्दै आएको छ । अस्पतालसम्म सीधा पुल जोडिए वारिपट्टिको बजार सुक्छ भन्ने व्यापारीको स्वार्थका कारण निर्माणको तयारी भएको पुल पछि रोकिएको हो ।

पुल नभएकै कारण अस्पताल पुर्‍याउन ढिला हुँदा दुई साताअघि एक बालकले बीचबाटोमै ज्यान गुमाउनुपरेको जिल्ला अस्पतालका डा. अखण्ड उपाध्यायले बताउनुभयाे ।

‘गाडी छुटेदेखि अस्पतालसम्म पुग्ने बाटो घुमाउरो र जोखिमपूर्ण छ । ती बालकलाई समयमै अस्पताल ल्याउन सकेको भए ज्यान जोगिन सक्थ्यो,’ डा‍. उपाध्यायले भन्नुभयाे, ‘कतिपय गर्भवती महिला बीचबाटोमै सुत्केरी हुने गरेका छन् । पुलका लागि धेरै ठाउँमा गुहारियो, तर कसैले पनि कुरा सुनेनन् । ’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?