भारत सरकारको सहयोगमा नुवाकोटमा विद्यालय भवन निर्माण

हिमालय टाइम्स
Read Time = 3 mins

नुवाकोट । भारत सरकारको सहयोगमा नुवाकोटस्थित विदुर नगरपालिकामा त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको मंगलबार भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

उद्घाटनपश्चात् जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरियो । भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा दुई करोड ५० लाखको लागतमा सामुदायिक विकास परियोजनाको रूपमा यस भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘भारत आजादीका अमृत महोत्सव’अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरू मध्येको एक हो ।

यस विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । त्रिशूली जलविद्युत् परियोजनाका लागि आएका भारतीय इञ्जिनियर के.आई सिंहले विद्यालयको डिजाइन गर्नुभएको हो । विद्यालयमा १३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमध्ये ६० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरूलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने विश्वास लिएको छ । यो परियोजनाले भारत र नेपालबीच लामो समयदेखि रही आएको सहकार्यलाई प्रतिबिम्बित गर्दछ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये नुवाकोट जिल्लाका सात गरी बागमती प्रदेशमा १०३ वटा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?