अस्पताल जाने सडक नहुँदा बिरामीलाई सास्ती

हिमालय टाइम्स
Read Time = 3 mins

डोल्पा । अस्पताल जाने सडक नहुँदा डोल्पाको सदरमुकाम दुनैमा रहेको जिल्ला अस्पतालमा समस्या हुँदै आएको छ । सडकको पहुँच नभएपछि भेरी नदीको पारिपट्टि नै एम्बुलेन्स रोकेर स्टेचरमा बिरामी राखेर बिरामी लानुपर्ने बाध्यता रहेको छ । पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट आधा घण्टा समय खर्चनुपर्ने बाध्यता छ ।

अहिले प्रयोग भइरहेको बाटो घुमाउरो र साँघुरो भएकै कारण अस्पताल नपुग्दै बिरामीको ज्यान जाने गरेको छ । सदरमुकामस्थित लामालोटे या कालिका मन्दिर आसपासबाट बेलिब्रिज बनाएर बिरामी बोकेको एम्बुलेन्स सिधै अस्पतालसम्म पुर्याउन सकिने भए पनि पुल निर्माणका लागि अहिलेसम्म कसैले पनि चासो नदेखाएको अस्पताल र स्थानीयको गुनासो छ ।

बजारको झोलुंगे पुलसम्म मात्र मोटरबाटो भएकाले त्यहाँसम्म मात्र एम्बुलेन्सले बिरामी ल्याउँछ । त्यसपछि बिरामी बीचबाटोमै अलपत्र पर्ने गरेका छन् । कहिलेकाहीँ बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पतालसम्म लैजान मान्छे नपाउँदा बिरामीले बाटोमै ज्यानसमेत गुमाउने गरेको स्थानीयवासीहरू बताउँछन् ।

दुनैका ठूला व्यापारीको व्यक्तिगत स्वार्थका कारण केही वर्षअघि बन्न लागेको झोलुंगे पुल पनि स्थगित भएको आरोप लाग्दै आएको छ । अस्पतालसम्म सिधा पुल जोडिए वारिपट्टिको बजार सुक्छ भन्ने व्यापारीको स्वार्थका कारण निर्माणको तयारी भएको पुल पनि रोकिएको हो ।

पुल नभएकै कारण अस्पताल पुर्याउन ढिला हुँदा दुई साताअघि एक बालकले बीचबाटोमै ज्यान गुमाउनुपरेको जिल्ला अस्पतालका डा. अखण्ड उपाध्यायले बताउनुभयो । ‘गाडी छुटेदेखि अस्पतालसम्म पुग्ने बाटो घुमाउरो र जोखिमपूर्ण छ । ती बालकलाई समयमै अस्पताल ल्याउन सकेको भए ज्यान जोगिन सक्थ्यो,’ डा. उपाध्यायले भन्नुभयो, ‘कतिपय गर्भवती महिला बीचबाटोमै सुत्केरी हुने गरेका छन् । पुलका लागि धेरै ठाउँमा गुहारियो तर कसैले पनि कुरा सुनेनन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?