सोह्रौँ शताब्दीको राजकुवा संरक्षणमा जुटे ज्यामरुककोटे

हिमालय टाइम्स
Read Time = 7 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । सोह्रौँ शताब्दीमा तत्कालीन चौबिसे राज्यअन्तर्गतको शक्तिशाली राज्य मानिएको पर्वत राज्यअन्तर्गतको ज्यामरुककोटस्थित सात्लेपानीको राजकुवा संरक्षणमा ज्यामरुककोटवासीहरू जुटेका छन् । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५०० वर्ष पुरानो राजकुवाको संरक्षण, मर्मत र सरसफाइका लागि स्थानीयवासीले पछिल्लो समय चासो बढाएपछि स्थानीय युवा र प्रौढ व्यक्तिहरू संरक्षणमा जुटेका हुन् ।

ज्यामरुककोटस्थित अर्जुन माविका भूतपूर्व प्रधानाध्यापक तथा स्थानीय बुद्धिजीवी टीकाबहादुर कार्कीको नेतृत्वमा शुक्रबारदेखि राजकुवाको मर्मतसम्भार तथा सरसफाइको कार्य भइरहेको छ । स्थानीयवासीहरू सहभागी भई राजकुवाको मर्मत तथा सरसफाइ गरेपछि ऐतिहासिक विरासत मानिएको सो कुवाले पुनर्जीवन पाएको छ । स्थानीयवासीले तेस्रो दिन पनि श्रमदान गरेर कुवा संरक्षण र सरसफाइ गरेका छन् ।

सोह्रौँ शताब्दीको अन्त्यतिर तत्कालीन पर्वत राज्यअन्तर्गतको अत्यन्त महत्वपूर्ण तर षड्यन्त्र र भाइभाइबीचको द्वन्द्वका कारण विवादास्पद मानिएको ज्यामरुककोट राज्यका राजा भर्तिवम मल्लले पानी खाने गरेको सो कुवा जीर्ण अवस्थामा पुगेको थियो । ऐतिहासिक, सामरिक, पुरातात्विक, जैविक, धार्मिक र प्राकृतिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण मानिएको ज्यामरुककोटमा राजकुवालगायत तत्कालीन समयका एक दर्जनभन्दा बढी ऐतिहासिक सम्पदा रहेका छन् । यहाँ तत्कालीन समयमा युद्धका लागि प्रयोग गरिएका खुँडा, खुकुरी, तरबार, भाला, ढाल, छेलोलगायत हातहतियारका साथै पुरातात्विक महत्वका इँटा, इनार, मौलो, दियोलगायत सामग्री छन् ।

संरक्षणको अभावमा नामेट हुँदै जान थालेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणका लागि सरकारी तहबाट कुनै पहल नभएपछि स्थानीयवासी नै सक्रिय भएको अर्जुन मावि व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका टीकाबहादुर कार्कीले बताउनुभयो । अगुवा कार्कीका अनुसार राजा भर्तिवम मल्लको दरबार भएको स्थानमा निर्माण गरिएको खड्गभवानी कोतमा ५०० वर्ष पुराना ऐतिहासिक हातहतियारलगायत अन्य सामरिक र धार्मिक महत्वका सम्पदा रहेका छन् ।

पुरातात्विक र ऐतिहासिक महत्वले युक्त ती सम्पदाको संरक्षणमा स्थानीय तहले समेत खासै चासो नदेखाउँदा आफ्नो पहिचान र धरोहर नामेट हुने अवस्थामा पुगेकाले तिनको संरक्षणका लागि आफूहरू अगाडि सरेको स्थानीयवासी कार्कीको भनाइ छ ।

तत्कालीन राजा भर्तिवमले आफू र आफ्नो राज्यमा बसोबास गर्ने जनताको सुविधाका लागि बनाएको सात्लेपानीको कुवा १६औँ शताब्दीदेखिको एउटा जिउँदोजाग्दो ऐतिहासिक सम्पदा भए पनि त्यसको संरक्षणमा समेत कसैको ध्यान नपुग्दा सो सम्पदा अन्य सम्पदाझैँ इतिहासकै गर्भमा लोप भएर जाने अवस्थामा पुगेको थियो । राजा भर्तिवमले आफू र आफ्ना जनताले पानी खानका लागि एकै ठाउँमा दुईवटा अलग–अलग कुवा बनाई एउटा कुवा आफूले मात्र प्रयोग गर्ने र अर्को कुवा जनताका लागि खुला राखिदिने गरेको किंबदन्ती रहेको छ ।

सो कुवा कहिले निर्माण भएको हो भन्ने विषयमा कुनै अभिलेख नरहेको भए पनि ज्यामरुककोटको डाँडामा रहेको आफ्नो दरबार नजिकैको कुवा पहिरोले पुरेपछि सात्लेपानीमा कुवा बनाएका स्थानीय बुढापाकाको भनाइ छ । ज्यामरुककोटका ९६ वर्षीय रणबहादुर कार्कीका अनुसार अन्यत्र खानेपानीका मुहान नहुँदा सात्लेपानीमा रहेको सो कुवामा ज्यामरुककोटका बासिन्दा पानी भर्नका लागि रातीदेखि नै लाइनमा बस्ने गर्दथे । ‘तामाका गाग्री लिएर टाढा-टाढाबाट पनि मानिस पानी भर्न सोही कुवामा आउने गरेको मैले पनि थाहा पाएको हुँ,’ कार्कीले भन्नुभयो, ‘त्यसअघि सोही कुवामा राजा भर्तिवमले नुहाई त्यहीँबाट लगेको पानी देवतालाई चढाई आफूले प्रयोग गर्ने गर्दथे भन्ने किंबदन्ती रहेको छ ।’

तत्कालीन समयमा ज्यामरुकोट राज्यमा पानीको मुहान सुक्दै गएपछि राज्यमा पानीको अभावले मान्छे र पशुचौपाया मरणासन्न अवस्थामा पुगेकाले राजा भर्तिवमले आफ्ना दरबारियाहरूलाई पानी खोज्न लगाउँदा सात्लेपानीमा पानीको मुहान भेट्टाएपछि कुवा खन्न लगाएका थिए भन्ने इतिहास छ । कुवा अहिले पनि पुरानै स्वरूपमा छ । कुवावरिपरिको जमिन भासिन थालेकाले स्थानीय तहकै पहलमा ग्याबिन जाली लगाएर संरक्षण गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?