काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले चीनमा तरंग ल्याएको छ । सिंगापुरको भ्रमण सकेर मंगलबार ताइवान पुग्नुभएकी न्यान्सीको भ्रमणले चीन अत्यन्तै रुष्ट देखिएको छ । ताइवान पुग्नुभएकी सभामुख पेलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वेनसँग भेटवार्ता गर्नुभएको छ । भेटमा पेलोसीले ताइनवानको नेतृत्व महिलाले गरेको भन्दै त्यसको प्रशंसा गर्नुभएको थियो । त्यसअघि उहाँले ताइवानको संसद्मा सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा पेलोसीले ताइवान विश्वकै स्वतन्त्र समाजमध्ये पर्ने उल्लेख गर्नुभएको थियो । उहाँले अमेरिका र ताइवानबीचको संसदीय आदानप्रदान बढाउन चाहेको पनि बताउनुभयो ।
पेलोसीले आगामी दिनमा अमेरिकाले ताइवानसँग विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा ठूलो लगानीको लागि सहकार्य गर्नेसमेत बताउनुभएको थियो । पेलोसीलाई संसदका उपराष्ट्रपति साई ची-चाङले स्वागत गर्नुभएको थियो ।
यसैबीच अमेरिकी सभामुख न्यान्सी पलोसीले पूर्वी एसियामा अस्थिरता फैलाउने उद्देश्यले गरेको भ्रमणको प्रतिक्रियास्वरूप चीनले विभिन्न कदम चालेको छ । चीनले अमेरिकासमक्ष कूटनीतिक स्तरमा भ्रमणको निन्दा गरेको छ । त्यसका साथै उसले सैन्य अभ्यास पनि थालेको छ । अभ्यासका क्रममा उसले आणविक वारहेडसमेत बोक्न मिल्ने क्षेप्यास्त्र प्रक्षेपण गरिरहेको छ । तर, आणविक वारहेड नै उपयोग गरेको चाहिँ छैन ।
चीनले सैन्य अभ्याससँगै ताइवान टापुको आंशिक नाकाबन्दी गरेको छ । कम्तीमा पाँच दिन यस्तो नाकाबन्दी रहनेछ । ताइवानको हवाईक्षेत्रमा विमानहरू उड्न चीनले रोक लगाएको छ ।
अमेरिकामा बनाउन खोजिएको सिएटिएल ब्याट्री कारखानालाई चीनले तत्कालका लागि रोकिदिएको छ । पाँच अर्ब डलर बराबरको उक्त कारखानाले अमेरिकामा १० हजार रोजगारी सिर्जना गर्ने थियो । ताइवानतर्फ निर्यात गर्ने प्राकृतिक बालुवामा चीनले प्रतिबन्ध लगाएको छ । त्यो बालुवा सिमेन्ट र शीशा बनाउनका लागि उपयोग गर्ने गरिन्थ्यो । यस्तै ताइवानबाट चीनतर्फ निर्यात हुने विभिन्न वस्तुमा चीनले प्रतिबन्ध लगाएको छ ।
ताइवानका विभिन्न संस्थाहरूसँग सहकार्य गर्न चिनियाँ कम्पनीहरूलाई प्रतिबन्ध लगाइएको छ । अमेरिकाको अर्घेल्याइँमा चीनले जनाउने मुख्य प्रतिक्रिया आर्थिक क्षेत्रमा केन्द्रित हुनेछ । तर, वर्तमान घटनाक्रमले ताइवानका विषयमा निकट भविष्यमा युद्ध हुनसक्ने सम्भावना बढाएको छ ।
चीनको विदेश मन्त्रालयले बेइजिङस्थित अमेरिकी राजदूत निकोलश बन्र्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप-विदेशमन्त्री से फेङले पेलोसीको ताइवान भ्रमणको प्रकृति खराब भएको भन्दै गम्भीर परिणामको चेतावनी दिनुभएको छ । उहाँले चीन चुप नबस्ने पनि बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले उल्लेख गरेका छन् । पेलोसीलाई स्वागत गरेको ताइवानमाथि चीनले सम्भावित बल प्रयोग गर्न सक्ने भन्दै सतर्कता अपनाइएको छ ।
ताइवानलाई आफ्नो अभिन्न अंग दाबी गर्दै आएको चीनको चेतावनीका बाबजुद् मंगलबार राती सभामुख पेलोसी अमेरिकी वायु सेनाको जहाजमा ताइपेई पुग्नुभएको थियो । उहाँको भ्रमणलाई ह्वाइटहाउसले समर्थन गरेको छैन । तर, उहाँको भ्रमण दशकौँमा भएको उच्च अमेरिकी अधिकारीको पहिलो भ्रमण हो । ताइवान एउटा स्वशाशित टापु भएपनि चीनले उसमाथि दाबी गर्दै आएको छ ।
यता, पलोसी गरेको ताइवान भ्रमण विशुद्ध उत्तेजनात्मक गतिविधि भएको रुसले बताएको छ । मंगलवार रुसका राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले वासिंगटनसँग बेइजिङको विवादमा मस्कोले बेइजिङलाई पूर्ण समर्थन गर्ने बताउनुभएको थियो । ‘हामी चीनसँग पूर्ण एक्यबद्धता व्यक्त गर्छौं,’ पेस्कोभले बताउनुभयो, ‘त्यस विषयमा चीनको संवेदनशीलतालाई बुझ्न सकिन्छ । त्यो जायज छ । अनि त्यसलाई सम्मान गर्नुको साटो अमेरिकाले भिडन्तको बाटो रोजेको छ । यसले सुखद भविष्यको संकेत गर्दैन । वासिंगटनको निर्णय निन्दनीय छ ।’
ताइवानका विषयमा चीन र अमेरिकाबीच तनाव बढेर युद्ध भएमा रुसले आफ्नो सीमा रक्षाका लागि आफ्नै सैनिक खटाउने पनि उहाँले बताउनुभएको छ । ‘उत्तेजनात्मक परिस्थिति उब्जिए पनि हाम्रो सम्पूर्ण सीमाको सुरक्षा हाम्रै सेनाले गर्नेछ,’ उहाँले भन्नुभएको छ ।
ताइवानले सन् १९४९ देखि आफूलाई स्वतन्त्र राष्ट्रको रूपमा हेर्दै आएको छ । तर, हालसम्म विश्वका १४ देशले मात्रै यसलाई स्वतन्त्र राष्ट्रका रूपमा मान्यता दिएर कूटनीतिक सम्बन्ध बनाएका छन् ।
ताइवानको विदेश मन्त्रालयका अनुसार हालसम्म मार्सल टापुहरूसँगै नाउरु, पलाउ, टुभालु, इस्वाटिनी, होली सी, बेलिज, ग्वाटेमाला, हाइटी, होन्डुरस, पाराग्वे, सेन्ट किट्स र नेभिसको महासंघ, सेन्ट लुसिया र सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्ससँग कूटनीतिक सम्बन्ध छ ।
न्यान्सी पेलोसी अमेरिकी सिनेटकी सभामुख हुनुहुन्छ । राष्ट्रपति र उपराष्ट्रपतिपछि अमेरिकामा सभामुख तेस्रो उच्च पद हो । न्यान्सीको यो चौथो कार्यकाल हो । पेलोसी २५ वर्षयता ताइवान भ्रमण गर्ने उच्च अमेरिकी निर्वाचित अधिकारी हुनुहुन्छ । यसअघि सन् १९९७ मा तत्कालीन सभामुख न्यूट जिनरिचले ताइवानको भ्रमण गर्नुभएको थियो ।
ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता नदिएर चीनको अभिन्न अंग मान्नुपर्ने भनेर चीनले विश्वभर कूटनीतिक दबाब बढाइरहँदा पेलोसीको भ्रमणले चीन झस्किएको छ । चीनले अन्य देशले ताइवानलाई मान्यता नदिऊन् भन्ने चाहेको छ । यसअघि चीनले अमेरिकालाई ‘आगोसँग नखेल्न’ धम्की दिएको थियो । चीनले अमेरिकालाई ‘ताइवान कार्ड’ खेल्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न तथा थप गलत र खतरनाक बाटोमा नजान आग्रह गरेको छ । एजेन्सीको सहयोगमा ।
नेपालले चीनको समर्थन गर्नेमा विश्वस्त छु : राजदूत यान्छी
अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको कारण चीन-अमेरिका तनावको बीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको भनाइ सार्वजनिक भएको छ । यान्छीले बुधबार बिहान ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्छ भन्ने विषयमा आफू विश्वस्त रहेको बताउनुभएको छ । ‘नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहने छन् र चीनको वैध र जायज अडानलाई बुझेर निरन्तर समर्थन गर्नेछन् भन्ने हामीले विश्वास लिएका छौँ’, राजदूत यान्छीले भन्नुभएको छ । न्यान्सीको ताइवान भ्रमणले चीनको एक चीन नीति र राजनीतिक जगलाई गम्भीर उल्लंघन गरेको, चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई पनि ठूलो आँच पुर्याएको उहाँको टिप्पणी छ ।
अमेरिकालाई ताइवान चीनको अभिन्न अंग हो भन्ने थाहा हुँदाहुँदै गरिएको उक्त भ्रमणले १९७१ को संयुक्त राष्ट्र महासभाको प्रस्ताव र आधारभूत वैदेशिक सम्बन्धको उल्लंघन गरेकोसमेत यान्छीले लेख्नुभएको छ । विश्वका दुई ठूला शक्तिकेन्द्रहरू आमनेसामने भएका बेला काठमाडौंस्थित चिनियाँ राजदूतले बुधबार एक विज्ञप्ति जारी गर्दै ताइवान मामिलामा नेपालको साथ र समर्थन खोज्नुभएको हो ।
यता, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने अमेरिकाको धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गरेको छ । नेमकिपाले जारी गरेको विज्ञप्तिमा यस्तो कार्य सन् १९७१ मा गरिएको संयुक्त राष्ट्रसंघको २५७८ घोषणाविपरीत हुने जनाएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेंले बुधबार विज्ञप्ति जारी गरी अमेरिका स्वयंले विगतमा ‘एक चीन नीति’लाई स्वीकार गरेको र अहिले ‘चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग’ बनाउने अभिव्यक्ति दिनु गलत भएको उल्लेख गर्नुभएको छ ।
चिनियाँ भूमिमा अस्थिरता फैलाउने, ताइवानमा क्रियाशील विखण्डनकारी संगठनलाई पोस्ने, दक्षिणी चीन सागरमा उत्तेजनात्मक गतिविधि गर्ने र चीनविरुद्ध ‘शीत युद्ध’को अभ्यास गर्ने कार्य गर्दै आएको नेमकिपाको आरोप छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका