पेचिलो बन्दै सीमा विवाद : विवादित क्षेत्रमा विकास निर्माण नगर्न पत्रचार

हिमालय टाइम्स
Read Time = 7 mins

डम्मर बुढा मगर/हिटा
बागलुङ । बागलुङ र पूर्वी रुकुमको सीमा विवाद थप चर्किंदै गएको छ । पाँच वर्ष अगाडिदेखि सुरु भएको सीमा विवाद थप चर्किंदै गएको छ । वि.सं. २०७४ साल पूर्वी रुकुमको भूमे गाउँपालिकाले सीमा मिचेर बागलुङको निसीखोला गाउँपालिकामा पर्ने पातिहाल्नेमा आएपछि प्रवेशद्वार निर्माण गर्न थालेपछि विवाद उत्पन्न भएको थियो । विवाद टुंग्याउन वि.सं. २०७७ चैतमा दुवै पालिकाका अध्यक्ष, वडा अध्यक्षलगायत ६ जनाको कार्यदल गठन भएको थियो । कार्यदलले सिमानामा पिल्लर गाड्ने गरी सहमति गरेको थियो । तर, सिमानामा पिल्लर गाड्न भूमि गाउँपालिकाबाट कोही पनि उपस्थित नभएपछि विवाद कायमै रहेको थियो ।

भूमे गाउँपालिकाले पुनः बागलुङमा पर्ने रिगा तालसम्म जोड्न सडक निर्माण गर्न थालेपछि विवाद थप बढेको हो । भूमे गाउँपालिका वडा नम्बर एकले आफूखुसी अर्काको भूभागमा आएर पूर्वाधार निर्माण गरेको भन्दै निसीखोला गाउँपालिका-६ ले उक्त निर्माण कार्य तत्काल रोक्न पत्र पठाएको छ । निसीखोला गाउँपालिका-६ का वडा अध्यक्ष हेमबहादुर बुढा मगरले भूमे गाउँपालिका र वडा नम्बर १ लाई पत्राचार गरी पूर्वाधार निर्माण तत्काल रोक्न भनेका छन् । अध्यक्ष बुढा मगरले भूमे गाउँपालिकाले कार्यदलले सहमति गरेको निर्णयलाई नमानेपछि विवाद बढ्न थालेको बताउँछन् ।

‘विवाद समाधान गर्न दुई वर्ष अगाडि नै कार्यदल गठन भएको थियो, कार्यदलले सिमानामा पिल्लर गाड्ने निर्णय गरेको थियो, पिल्लर गाड्ने समयमा भूमे गाउँपालिकाबाट कोही पनि उपस्थित हुनुभएन,’ अध्यक्ष बुढा मगरले भन्नुभयो, ‘उहाँहरूले अहिले पनि हाम्रो क्षेत्रमा पर्ने रिग तालसम्म जोड्ने सडक निर्माण गरिराख्नु भएको छ, त्यसलाई रोक्न मैले गाउँपालिका र वडा कार्यालयलाई पत्र पठाएको हुँ ।’

यसभन्दा अगाडि भूमे गाउँपालिकाबाट समेत पातिहाल्ने क्षेत्रमा विकास निर्माण नगर्न निसीखोलालाई पत्र आएको थियो । पातिहाल्ने दुई जिल्लाको मात्रै नभएर गण्डकी र लुम्बिनी प्रदेशको सीमा क्षेत्र पनि हो । मध्यपहाडी लोकमार्गमा पर्ने सीमा क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै मनमोहक रहेको छ । रिग ताल र त्यस वरपरको क्षेत्रलाई रुकुम पूर्वले आफ्नो कब्जामा लिन खोजिरहेको निसीखोलाका स्थानीयको भनाइ छ ।

विवाद समाधान गर्न दुई जिल्लाका सांसद, गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, नापी कार्यालयका प्राविधिकहरूबीच पटक–पटक छलफल भएको थियो । तर, निष्कर्ष भने निस्किएको थिएन । नापी कार्यालयका प्राविधिकले नक्सा हेर्दा भूमे गाउँपालिकाले दाबी गर्दै आएको क्षेत्र बागलुङमा पर्ने बताए पनि अध्यक्षहरूले नमानेको निसीखोलाका जनप्रतिनिधि बताउँछन् ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले विवाद समाधान गर्न धेरै कोसिस गर्दा पनि अर्को पक्षले नमानेको बताउनुभयो । उहाँले दुई वर्ष अगाडि नै आफू कार्यदलमा बसेर विवाद मिलाउने प्रयास गरे पनि निचोडमा पुग्न नसकिएको बताउनुभयो । अध्यक्ष घर्ती मगर विवाद टुंग्याउनका लागि अब केन्द्र र प्रदेश सरकारलाई आग्रह गर्ने बताउनुहुन्छ । समयमा विवाद समाधान नभए ठूलो दुर्घटनासमेत निम्तिन सक्ने स्थानीयको भनाइ छ । स्थानीयले समेत सीमा विवाद टुंग्याउन आग्रह गरिरहेका छन् । सीमा विवाद भएको क्षेत्र चरन क्षेत्र र पर्यटकीय क्षेत्र हो ।

भूमे गाउँपालिकाका-१ का वडा अध्यक्ष मनकाजी पुन मगरले केन्द्र नापी विभिगले जारी गरेको आधिकारी नक्सा हेर्ने र सोही आधारमा विवाद टुंग्याउने बताउनुभयो । उहाँले यस अगाडि गुगल नक्सामार्फत विवाद मिलाउने कोसिस भएको भन्दै त्यो नक्सा आधिकारिक नहुने दाबी गर्नुहुन्छ । अहिले निर्माण भइरहेको सडक आफ्नै क्षेत्रमा भएको अध्यक्ष पुन मगरको दाबी छ । उक्त सडक पर्यटन प्रवद्र्धनका लागि निर्माण गर्न थालिएको उहाँको भनाइ छ । सो सडक मध्यपहाडी लोकमार्गदेखि कोइपाडाँडासम्म जोड्ने अध्यक्ष पुनले जानकारी दिनुभयो । ‘अहिले हामीले निर्माण गर्न थालिएको सडक हाम्रै भूभागमा पर्छ, यो सडक पर्यटन प्रवद्र्धनका लागि निर्माण गर्न थालेका हौँ, लोकमार्गदेखि कोइपाडाँडासम्म जोड्ने गरी सडक निर्माण भएको छ,’ अध्यक्ष पुनले भन्नुभयो, ‘नापी विभागको आधिकारिक नक्सा लिएर हेर्ने त्यसपछि हामीले दाबी गरेको क्षेत्र जता परे पनि हामी मान्न तयार हुन्छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?