३४ वर्षपछि पुरानै लयमा कोसी, बस्तीमा भँगालो पसेपछि बेलकावासीको उठिबास

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । सप्तकोसी नदी तटबन्ध फुटाएर बस्तीमा पसेको छ । पश्चिम धार कटान गर्दै बेलका नगरपालिका-८ डुम्रीबोटे हुँदै बुधबार बिहान तटबन्ध काटेर कोसी नदी बस्तीमा पसेको हो । डुम्रबोटे हुँदै बस्ती पसेको नदी नगरपालिकाको वडा नम्बर ३, ८ र ९ मा पसेको हो । नदीले वडा नम्बर १ र २ का स्थानीय पनि प्रभावित भएका छन् । विशेष गरेर डुम्रिबोटेमा कटान गर्दै आएको कोसी सोही स्थानबाट बेलका नगरपालिकाका क्षेत्रमा पसेको नगर प्रमुख अशोक कार्कीले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । उहाँका अनुसार बस्तीमा नदी पसेपछि स्थानीयको उठिबास भएको छ । स्थानीयहरू ज्यान जोगाउन गाउँ छोडेर हिँडेका छन् ।

कोसी पश्चिम पसेसँगै बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती खतरामा परेको उहाँले बताउनुभयो । कटान गरिहेको डुम्रिबोटे क्षेत्र रोक्न गरिएका सबै खाले प्रयास असफल भएको नगर प्रमुख कार्कीले बताउनुभयो ।
अहिले करिब २० मिटर कटान गरेर कोसीको भँगालो पश्चिम पसेको छ । कटान जारी रहेकाले झण्डै तीनसय मिटर कटान गरेर जाने सम्भावना हुनाले धार नै परिवर्तन हुन सक्ने खतरा रहेको उहाँले बताउनुभयो । अहिलेको अवस्थामा धार नै परिवर्तन हुँदा छिमेकी सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्ने अनुमान छ । नगर प्रमुख कार्कीका अनुसार डुम्रिबोटेमा कटान भएको कोसी पुरानै धार हुँदै बग्ने निश्चित छ । उहाँका अनुसार अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाउँबाट कोसी बग्थ्यो । २०४५ सालको भूकम्पपछि कोसीले विस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लागेको थियो । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बस्न थालेको कार्की बताउनुहुन्छ । अहिले कोसीले धार बदलेर पुरानै ठाँउमा आउँदा पछि बसेका बस्ती प्रभावित भएका हुन् ।

प्रभावित स्थानीयको उद्धार कार्य जारी रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार अबेरसम्म १५ सय बढी परिवारलाई उद्धार गरिएको छ । अझै केही परिवार उद्धारको पर्खाइमा रहेकोले रातिसम्म उद्धार जारी रहने उहाँले बताउनुभयो । उहाँका अनुसार मानवीय र पशुजन्य क्षति हुन नदिन विशेष सावधानीका साथ उद्धार कार्य चलिरहेको छ । उद्धारका लागि सशस्त्र प्रहरी, सेना तथा नेपाल प्रहरी परिचालन गरिएको छ ।

आज (बिहीबार)देखि पूर्वी नेपालमा वर्षा कम हुने अनुमान गरिएकाले पनि कोसीको बहाव घट्ने आशा गरिएको उहाँले बताउनुभयो । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहानबाट वर्षा हुने प्रणाली नेपालको पश्चिमतर्फ सरेको छ । उक्त प्रणाली पश्चिममा थप सक्रिय हुन थालेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो । उहाँका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा दक्षिणबाट उत्तरी क्षेत्रमा सरेको छ ।

२५ सय परिवार प्रभावित
ठूलो बस्ती उठाउनुपर्ने देखिन्छ : नगर प्रमुख कार्की
बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले कोसी बस्तीमा पस्दा करिब २५ सय परिवार प्रभावित भएको बताउनुभयो । कोसीको बाढीले २५ सय परिवारका २० हजारभन्दा बढी जनसंख्या विस्थापनको जोखिममा परेको उहाँले बताउनुभयो । जसरी पनि मानवीय क्षति हुन नदिने गरी उद्धारको काम भइरहेको उहाँले बताउनुभयो । ‘कोसीको पानी कहा-कहाँ पस्यो र कति आउँछ भन्ने अझै यकिन भइसकेको छैन । माथितिर थप वर्षा हुँदा ठूलो क्षति हुनसक्छ,’ हिमालय टाइम्ससँग उहाँले भन्नुभयो, ‘त्यसकारण ठूलो बस्ती उठाउनुपर्ने देखिन्छ । उहाँहरू बस्तुभाउसहित कसरी जोगिने भन्नेमा चिन्तित हुनुहुन्छ । हामी सबैलाई उद्धार गर्छौँ । पहिलो ज्यान नै ठूलो कुरा छ । सकेसम्म बस्तुभाउ पनि उद्धार गर्छौँ । मानवीय क्षति नहोला भन्ने लाग्छ ।’ उद्धार गरेकाहरूलाई विभिन्न विद्यालय र सामुदायिक भवनमा राखिएको उहाँले बताउनुभयो । खाद्यान्न, टेन्ट, पिउने पानीलगायत सबै व्यवस्थापनका लागि परिचालन भइसकेको पनि उहाँले बताउनुभयो । ‘दिनभर उद्धारलाई प्राथमिकता दिइयो । साँझ परेपछि उद्धार गरेकाहरूलाई खाने/बस्ने व्यवस्था गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘तत्काललाई अस्थायी व्यवस्था गरेका छौँ । अवस्था हेरेर थप व्यवस्था गर्छौँ । प्रदेश र संघीय सरकारसँग पनि सहयोगको अपिल गरेका छौँ ।’

उद्धार र राहतको व्यवस्था गर्न गृहको निर्देशन, आवश्यक परे हेलिकप्टर प्रयोग गर्नुहोस् : गृहमन्त्री खाँण
सप्तकोसीले कटान सुरु गरेपछि गृह मन्त्रालयले मातहतका निकायलाई जोखिममा रहेका परिवारको स्थानान्तरण, उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयमातहत सबै निकायलाई अलर्ट राख्दै बाढी प्रभावितको उद्धार र राहतमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार मधुसूदन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार विपद्मा परेकाहरूलाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उनीहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो । मन्त्री खाँणले आवश्यक परे जोखिममा रहेका नागरिकको उद्धारका लागि हेलिकप्टरको प्रयोग गर्नसमेत निर्देशन दिनुभएको छ । सेनाले कटान पीडितलाई आवश्यक परेमा तत्काल उपलब्ध हुने गरी हेलिकप्टर तयारी अवस्थामा राखेको जनाएको छ । मन्त्री खाँणले बेलकामा सप्तकोसीको कटान र जोखिमबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग समेत छलफल गर्नुभएको छ । कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्ने भन्नेबारे मन्त्रीद्वयबीच छलफल भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?