वर्षा र बाढीको प्रकोप : सचेतता र सहयोग आवश्यक

हिमालय टाइम्स
Read Time = 6 mins

अहिले मध्यबर्खा छ । निरन्तर वर्षा भइरहेको छ । यो स्वाभाविक हो बर्खा भनेको पानी पर्ने महिनै हो । त्यस अर्थमा यसलाई बेमौसमी भन्नै मिलेन । यो प्राकृतिक नियम नै हो र प्रकृतिप्रदत्त नियमानुसार नै भइरहेको छ तर प्रकृतिको खटन हाम्रा लागि कहिले अपर्याप्त भइरहेको हुन्छ भने कहिले आवश्यकताभन्दा बढी पनि हुन जान्छ । वर्षा पनि त्यस्तै हो कहिले पानी नपर्नाले वा अल्पवृष्टिले मानिसहरू आफ्ना दैनिकी सञ्चालन गर्न सकिरहेका हुँदैनन् । कहिले भने आवश्यकताभन्दा बढी पानी पर्नाले वा अतिवृष्टिका कारण जनजीवन अस्तव्यस्त नै हुन पुग्दछ । हालको निरन्तरको वर्षाले गर्दा देशका विभिन्न ठाउँमा मानवीय क्षति पुगेको छ ।

भौतिक क्षति त हुने नै भयो । वर्षातका कारण बाढी, पहिरो, डुवान जस्ता प्राकृतिक प्रकोपहरू भएका छन् । यसबाट बालीनालीमा नोक्सानी पुगेको छ । तराईतिर डुवानका समस्या भइरहेका छन् भने पहाडी क्षेत्रमा बाढी र पहिरो गइरहेको छ । यसबाट खेतीपातीमा मात्र होइन मानिसका घर र बारी लैजाने पशुपक्षीहरूलाई समेत हानि पु¥याउने जस्ता घटना भइरहेका छन् । मानिस भने सचेत भएकाले भागेर पनि बच्न सक्छ । त्यसैले जुन अनुपातमा अन्य प्रकारका क्षति हुन्छन् मानवीय क्षति भने कमै हुने गरेका छन् । यति भएर पनि मानिसको काबुबाहिरका कारण सिर्जना हुनाले मानवीय क्षति भई नै हाल्छ । भाग्ने ठाउँ नपाउँदा, विकल्प नभेटिँदा र अनायास आएको पहिरो वा बाढीले मानवीय हानि हुन्छ नै ।

यसका साथै अर्कालाई बचाउन खोज्दा तथा राति निदाएका बेला घरैसँगै बगाउँदा वा भत्काउँदा मानवीय क्षतिसमेत हुने गर्दछन् । यस्ता घटना कति बेला हुन्छन् भन्ने पूर्वानुमान हुन सक्दैन । कहिलेकाहीँ त्यस प्रकारको पूर्वानुमान हुनसक्ला र सावधानी अपनाउन पनि सकिएला तर सधैँ यस्तो सम्भावना रहँदैन । यसरी अचानक अकल्पनीय ढंगले हुने भएकै कारण त्यसलाई घटना भनिएको हो । गत वर्ष वर्षातको सुरुआतमै देशभरि निकै ठूलो भौतिक तथा मानवीय क्षति भएको थियो । यस वर्ष सुरुमा त्यस्ता घटना खासै भएनन् तर साउनको बीचतिरदेखि निरन्तर पानी परिरहेको छ । यसरी भएको निरन्तरको वर्षाबाट देशका विभिन्न भागमा भौतिक क्षतिमात्र होइन मानवीय क्षतिसमेत भइरहेका समाचारहरू सार्वजनिक भएका छन् ।

म्याग्दीमा यस वर्षको अहिलेसम्मको सबैभन्दा ठूलो मानवीय क्षति भएको छ । त्यहाँ पहिरोबाट एकै परिवारका पाँचजना मानिसको दुःखद् निधन भएको छ । यस्ता घटनाहरू अन्यत्र पनि नहोलान् भन्ने छैन । हालको वर्षातले पूर्वमा भन्दा पश्चिम नेपालमा बढी प्रभाव पारिरहेको छ । गण्डक नहरका सबै ढोकाहरू खोलिएका छन् भने सडक यात्रा असहज बनिरहेको छ । गृहमन्त्रीले विपद् प्रभावितको उद्धार र राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । यसबाट सरकारको यस्ता विषयमा ध्यान केन्द्रित त भएकै छ भन्न सकिन्छ तर सरकारको निर्देशन कार्यान्वयन गर्ने निकाय पनि त्यत्तिकै दत्तचित्त भएर लाग्नुपर्ने हुन्छ ।

सबै अवस्थामा सबै ठाउँमा सरकारको उपस्थिति पनि नहोला, कतिपय ठाउँहरू अतिविकट भएका कारण त्यहाँसम्म सरकारको उपस्थितिका लागि समय लाग्न सक्छ । यस्तो अवस्थामा सरकारको मात्र भर परेर बस्नाले अझै बढी क्षति हुनसक्ने अवस्था आइपर्न सक्छ । त्यस अवस्थामा स्थानीयहरूकै सक्रियता चाहिन्छ । सुरक्षित ठाउँमा बस्ने, पहिरोको जाखिम भएको ठाउँ तथा नदीको छेउछाउ घर बनाएर नबस्ने गर्नाले मानवीय क्षतिलाई कम गराउन सकिन्छ । हालका वर्षमा त देशका धेरैजसो भागमा घर बनाउँदा नक्सा पास गर्नुपर्छ । यस्तो बेलामा सम्बन्धित निकायले त्यस्ता जोखिमका ठाउँहरूमा घर बनाउने गरी अनुमति नदिनाले यस्ता समस्याको न्यूनीकरण हुन सक्छ । त्यसैले राष्ट्रिय तथा स्थानीय सरकारका साथै नागरिकहरूको यसमा अहम् भूमिका रहन जान्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?