प्रधानमन्त्रीज्यू, सार्थक भेटघाटको पहल होस्

हिमालय टाइम्स
Read Time = 19 mins
A A- A+

✍️  गणेश सुवेदी

प्रधानमन्त्री, संसदीय व्यवस्थामा सबैभन्दा शक्तिशाली व्यक्ति, मुलुकको अभिभावक । राष्ट्रपति सेरेमोनियल रहेको अवस्थामा मुलुकको कार्यकारी प्रमुख नै प्रधानमन्त्री भएपछि प्रधानमन्त्रीको कार्यभार र जिम्मेवारी सशक्त नै रहन्छ । नेपालजस्तो विकासोन्मुख मुलुकमा प्रधानमन्त्रीको भूमिका झनै विशाल हुन्छ । दुई ठूला शक्तिशाली मुलुक भारत र चीनको बीचमा रहेको भूपरिवेष्ठित मुलुकको प्रधानमन्त्रीको भूमिका कस्तो रहन्छ होला हामी आफैँ अनुमान लगाउन सक्छौँ ।

नेपालका प्रधानमन्त्रीमा अहिले नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा छन् । जसले गठबन्धनको नेतृत्व गर्दै सरकार सञ्चालन गरिरहेका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुई तिहाइ मत प्राप्त गरेर आफू प्रधानमन्त्री भएपछि दिएको वक्तव्यमा नेपाली कांग्रेस अब पचास वर्ष सरकारमा आउन सक्दैन । नेपाली कांग्रेस दल नै अब रहने छैन भनेर ठोकुवा गरेको तीन वर्ष लगत्तै नेपाली कांग्रेस सत्तामा पुग्यो । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्यो र उनै शेरबहादुर देउवा प्रधानमन्त्री बन्न पुगे । न केपी ओलीको सपना पूरा भयो । न त उनको दल नै सिंगो रहृयो । न त उनको झण्डै दुई तिहाइ रहृयो । उल्टै उनै शेरबहादुर देउवाको नेतृत्वमा हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले दोस्रो दलको रूपमा सीमित भयो । प्रधानमन्त्री अत्यन्त जिम्मेवार र सजक हुनुपर्दछ । जनताप्रति जिम्मेवार, छिमेकी मुलुकप्रति सजग र अन्य मुलुकसँगको सम्बन्ध विस्तारमा दूरदृष्टि भएको प्रधानमन्त्री नै नेपालका लागि उपयुक्त प्रधानमन्त्री हो । नेपालका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय शक्तिले पत्याएका, अन्तर्राष्ट्रिय सम्बन्धलाई व्याख्या र विश्लेषण गर्नसक्ने र नेपालको सन्दर्भमा राम्रो काम गरेका प्रधानमन्त्री हुन् ।

तर, उनले गरेका राम्रा-राम्रा काम र उनले निर्वाह गरेको सशक्त भूमिकाको बारेमा न त मिडियाले चासो दियो । न त स्वयं उनले नै व्याख्या गर्न सके । न त उनका निकटतम सहयोगीले त्यसलाई प्रष्ट पार्न चाहे वा सके, त्यसैमा शेरबहादुर देउवा चुकेका छन् । पछिल्लो चरणमा पनि संकटपूर्ण अवस्थामा मुलुकको नेतृत्व गरी संक्रमणबाट बचाएका छन् । मुलुक श्रीलंकाको गतिमा जान थाल्यो भन्ने डर र जगजगीबाट बचाएर नेपाल र नेपालीको शिर उच्च बनाएका उनलाई धन्यवाद दिन किन कन्जुस्याइँ गर्ने ?

शेरबहादुर देउवा दूधले नुहाएका वा देवांश हुन् अथवा उनको गल्ती नै छैन भन्ने होइन तर नेपालमा प्रजातन्त्र पुनःस्थापित भएपछि प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीपछि उनै शेरबहादुर देउवा हुन्, मुलुकको बारेमा सचेत र सक्रिय प्रधानमन्त्री ।

व्यक्ति दुईथरिका हुन्छन् । एउटा बोलिरहने काम नगर्ने, अर्को बोल्दै नबोल्ने तर काम गर्ने अर्थात् बोल्दा झर्काेफर्को गर्ने तर काम इमानदारीपूर्वक फत्ते गर्ने । जसभित्र पर्दछन् हाम्रा नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवा । मुलुकको लागि अत्यन्त महत्वपूर्ण योगदान गरेका उनको अलोकप्रियताको जड भनेकै उनका विश्वासपात्र अर्थात् उनका वरिपरि घुम्नेव्यक्तिहरूले उनको बारेमा र उनले गरेका राम्रा कामको बारेमा नबोल्नु नै हो । आफ्नो नेताले निर्वाह गरेको भूमिकाका बारेमा जनतालाई सही सूचना दिनुपर्छ कि पर्दैन ? प्रधानमन्त्री स्वयं बोल्दै नबोल्ने, सहयोगीहरू भनिएका नेताहरू फाइदा लिनमात्रै व्यस्त हुने तर कहिँ कहिल्यै नबोल्ने हुँदा नै शेरबहादुर देउवाको अलोकप्रियता बढेको हो ।

यहाँ शेरबहादुर देउवा दूधले नुहाएका वा देवांश हुन् अथवा उनको गल्ती नै छैन भन्न खोजिएको होइन तर नेपालमा प्रजातन्त्र पुनः स्थापित भएपछि प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीपछि उनै शेरबहादुर देउवा हुन्, मुलुकको बारेमा सचेत र सक्रिय प्रधानमन्त्री । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दृढ इच्छाशक्ति भएका व्यक्ति भए पनि बढी बोल्ने, अरूलाई खुइल्याउने र मै हुँ भन्ने प्रवृत्तिले उनले काम गर्नेभन्दा पनि सपना बाँड्ने, धरातलको वास्तविकताभन्दा पर पुगेर अरूलाई ढुंगाले हान्ने कारण उनको कार्यकालमा खासै काम हुन सकेन ।

भूकम्पपछि पुनःनिर्माण भएको धरहराको आफू जाँदाजाँदै समुद्घाटन गरेर उनले ढाँटको कीर्तिमान बनाएका छन् जब कि धरहरा निर्माणको काम आजको दिनसम्म सम्पन्न भइसकेको छैन । धरहरा निर्माण सम्पन्न हुन अझै केही समय लाग्छ तर पनि यीलगायत केही भौतिक संरचना बनाएको भनेर छारो हाल्ने कामबाहेक केही गरेनन् उनले । देख्ने सपनालाई विपनामा परिणत गर्ने इच्छाशक्ति उनमा भएन । उनको प्रधानमन्त्रित्व काल हावामिठाई जस्तो फ्यास्स भयो ।

प्रधानमन्त्री मुलुकको कार्यकारी प्रमुख भएको नाताले सबैले उनबाट अपेक्षा गर्नु स्वभाविकै हो । देश र जनताका लागि राजनीतिमा होमिएर, जनताद्वारा निर्वाचित भएर मुलुककै बागडोर सम्हाल्ने अवसर प्राप्त गर्न पाउनु वर्तमान प्रधानमन्त्रीको अहोभाग्य पनि हो । यसलाई उनले एउटा अवसर र चुनौतीको रूपमा लिनुपर्दछ किनकि जनताले रुचाउन्जेल मात्र सक्रिय राजनीति गर्ने हो । जनताले जसरी अभिमत दिएर पद र प्रतिष्ठमा पुर्‍याएका छन् । त्यस अभिमतको कदर गर्न सकिएन भने त्यस स्थानमा अर्को व्यक्तिलाई पुर्‍याउने तागत जनतामा छ । यसर्थ जनताद्वारा निर्वाचित जनप्रतिनिधि जो कोही हुन् जनताप्रति इमानदार हुनुपर्दछ भन्ने कुरा कहिल्यै बिर्सनु हुँदैन । त्यो छुट प्रधानमन्त्रीलाई पनि छैन ।

जनता आकांक्षा बोकेर प्रधानमन्त्रीकहाँ आउने गर्दछन्, सपना बोकेर आउने गर्दछन् । नेपालका प्रधानमन्त्रीको निवासमा २०४६ सालको परिवर्तनपछि जनताले निसंकोच प्रवेश पाउन थालेका हुन् र सो क्रम अहिले पनि जारी छ । तर, पछिल्लो चरणमा प्रधानमन्त्री निवासमा धाउने व्यक्तिहरू दैनिक एकैखाले देखिन थालेका छन् । यसो हुनुभनेको जनतासँगको सामिप्य कतै टुट्दैछ कि भन्ने संकेत हो । आफ्नो वरिपरि एकैखाले व्यक्ति, एकैखाले कुरा र माग राख्न आउँछ भने प्रधानमन्त्रीले बुझ्नुपर्दछ कि म कुनै घेराबन्दीमा छु भनेर ।

पछिल्लो दशक प्रधानमन्त्रीनिवास वा प्रधानमन्त्री कार्यालयमा यस्ता खाले परिदृश्य देखिन थालेका छन् । देशी-विदेशी शक्तिहरू स्वार्थ केन्द्रित भएर आफ्नाको खोल ओडेर अत्यन्त सक्रिय भएर लागेका छन् । प्रधानमन्त्रीले आफैँलाई पुनःमूल्यांकन, पुनः अध्ययन गर्नुपर्ने अवस्था आएको छ । आफन्तको अनुहार र आफ्नो अनुहारको भेदलाई छुट्टयाउनु पर्नेछ । आफ्नाहरूको स्वार्थ र आफ्नो डिग्रीको मापन गर्नुपर्नेछ अनिमात्र वास्तविकता छर्लंग हुन्छ ।

प्रधानमन्त्रीले आफ्नो दैनिकीमा थोरै परिवर्तन ल्याउनुपर्ने देखिएको छ । दलका नेता र कार्यकर्ताभन्दा जनतासँगको आत्मीयता बढाउनुपर्ने देखिन्छ । निवास वा कार्यालयमा जनताको प्रवेशलाई महत्व दिनुपर्दछ किनकि जनतामा राजनीतिक वितृष्णा बढ्दै गएको छ । देशी-विदेशी शक्तिहरू मुलुकलाई असफल बनाउन लागिपरेका छन् । उनीहरूले जनतामा छरेको भ्रम चिर्न स्वयं प्रधानमन्त्रीको अग्रसरता आवश्यकता छ । सिंहदरवार र बालुवाटार जनताबाट टाढिनु पक्कै पनि मुलुकका लागि र जनताका लागि राम्रो संकेत होइन ।

यसर्थ बालुवाटारले थोरै समय निकालेर साताको एक दिन, एक घण्टाको समय निकालेर भएपनि विभिन्न विषय विज्ञ, अनुभवीलगायत जनताको प्रत्यक्ष आवाज सुन्ने पहल गर्नुपर्ने भएको छ । त्यसमा डाक्टर, इन्जिनियर, अर्थविद्, उद्योगी, व्यापारी, परराष्ट्रविद् लगायत विज्ञ तथा सोझा-निमुखा जनता, अल्पसंख्यक, आदिवासी, दलित, द्वन्द्वपीडित, ज्येष्ठ नागरिक, निःसहाय बालबालिका, वृद्धाश्रममा आश्रित व्यक्तिलगायत विभिन्न उमेर, समूह र अवस्थाका जनताहरूसँग भेटघाटको व्यवस्था गरी उनीहरूको कुरा सुन्नुपर्दछ । त्यसले नेपालको वास्तविकताको चित्रण गर्नेछ साथै यसले भावी योजना र रणनीति बनाउन मद्धत पुर्‍याउँदछ ।

अहिले बालुवाटार सुकिला-मुकिलाको प्रदेशद्वार भएको छ । झुत्रा र मैला कपडा लगाउनेहरूका लागि बालुवाटार हुन जरुरी छ । बीपीका पिता कृष्णप्रसाद कोइरालाले गरिबका कपडा पोको पारी राणा प्रधानमन्त्रीलाई देशको अवस्था यस्तो छ सरकार भनेर पठाएबाट नेपालमा परिवर्तनको लहर सुरु भएको कुरा वर्तमान प्रधानमन्त्री स्वयंलाई पूर्ण जानकारी छ । अझै नेपालका हिमाली, पहाडी तथा तराईका भूभागमा बसोवास गर्ने अधिकांश नेपाली जनताको अवस्था उस्तै छ । परिवर्तनको तीस वर्षपछि पनि जीवनस्तर माथि उठ्न सकेको छैन । राजनीतिक दलहरू आपसी खिचातानी र अस्थिरतातर्फ उन्मुख हुनु संसदीय प्रणाली नै असफल हुने संकेत हो । दलीय प्रणाली नै बहिष्करणमा पर्ने संकेत हो ।

राज्यसञ्चालनको कार्यभार सम्पन्न गर्दै सातामा एक दिन, एक वा दुई घण्टाको समय छुट्ट्याएर प्रधानमन्त्रीले प्रधानमन्त्री निवासमै अत्यावश्यक व्यक्ति तथा समूहहरूसँग समन्वय गरी भेटघाट गर्नु नै अर्थपूर्ण र प्रभावकारी हुन जानेछ ।

प्रधानमन्त्री अझ बढी सचेत हुनुपर्ने बेला आएको छ । जनता राजनीतिक दलहरूभन्दा अरू कुनै स्वार्थ केन्द्रित समूहसँग आबद्ध हुँदै गएको तीतो यथार्थ हामीसामु छ । नेपाली कांग्रेसले सञ्चालन गरेका त्यत्रा ठूला आन्दोलनको सफलताबाट प्राप्त यो अवसरलाई हामीले नै बचाउन सकेनौँ भने जनताले भोलि कसको विश्वास गर्ने ? नेपाली कांग्रेस यसतर्फ सचेत नभएमा ढिलोचाँडो अन्योलता बढ्दै जानेछ ।

कम्युनिष्टको आत्मकेन्द्रित राजनीतिबाट झाँगिएको यो वितृष्णा जनतासम्म पुगिसकेको छ । नेपाललाई शक्तिकेन्द्रको रूपमा प्रयोग वा दुरुपयोग गर्ने सोच र संकल्पसहित लागेका समूहलाई बेलैमा नचिन्ने हो भने यसको नतिजा पक्कै पनि राम्रो आउने छैन । स्थानीय निकायको निर्वाचनको पूर्णसफलतापछि मुलुकका लागि प्रदेश तथा संघको निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी प्रधानमन्त्रीलाई छ । कोरोनाको संक्रमणका बीच आफ्नो दृढ इच्छाशक्तिलाई जागृत गरी नेपाली कांग्रेसको महाधिवेशन सम्पन्न गर्न सफल व्यक्ति नै मुलुकको प्रधानमन्त्री हुनु हाम्रो लागि सौभाग्य पनि हो ।

सन्न प्रदेश र संघको निर्वाचनसँगै संसदीय प्रणाली र राजनीतिक दलको छवि सुधार्न प्रधानमन्त्रीले जनतासँग जोडिने खालका कार्यक्रम तत्काल लागू गर्नुपर्नेछ । सरकार र राजनीतिक दलहरूका सन्दर्भमा फैलाइएका भ्रम चिर्न आवश्यक छ । यसर्थ यसका लागि सार्थक भेटघाट, छलफल, अन्तक्र्रियालाई बढाउनुपर्नेछ । आफ्ना भनिएकालाई दोस्रो प्राथमिकतामा राखी जनतासँग अन्तरसम्बन्ध विस्तार गर्दै लोकतन्त्र, विधिको शासन र संविधानको सफल कार्यान्वयनमा प्रधानमन्त्रीको अर्जुनदृष्टि हुनु पर्दछ ।

नेपालको राजनीतिक परिवर्तनका लागि हजारौं शहीदहरूको बलिदान भएको छ । मुलुकले अन्योलताबाट पार पाएको केही समय हुन नपाउँदै राजनीतिक परिवर्तनका नाममा छाडा गतिविधि सञ्चालन हुँदै आएका छन् । व्यक्तिगत स्वार्थ र कुण्ठाबाट प्रेरित व्यक्ति वा समूहबाट संसदीय शासन व्यवस्था र राजनीतिक दलहरूप्रति भ्रम सिर्जना गरिँदैछ । राजनीतिक नेतृत्वप्रति हिलो छ्याप्ने काम हुँदै गएको छ । यसलाई तत्काल नियन्त्रण गर्नु राज्यको दायित्व हो । त्यसका लागि धरपकड होइन विधिसम्मत सम्बोधन गरिनुपर्दछ । जसको सही तरिका हो जनतासँग सानिध्य र सामिप्य बढाउने र उनीहरूको अभिभावकत्व ग्रहण गर्ने, त्यसका लागि राज्य सञ्चालक प्रधानमन्त्रीले जनतासँग सोझै समन्वय गरी उनीहरूको चासो, गुनासो सुनी सम्बोधनको प्रयास गर्दै अघि बढ्नुपर्दछ ।

राज्यसञ्चालनको कार्यभार सम्पन्न गर्दै सातामा एक दिन, एक वा दुई घण्टाको समय छुट्ट्याएर प्रधानमन्त्रीले प्रधानमन्त्री निवासमै अत्यावश्यक व्यक्ति तथा समूहहरूसँग समन्वय गरी भेटघाट गर्नु नै अर्थपूर्ण र प्रभावकारी हुन जानेछ । त्यसमा प्रत्येक पटक फरक-फरक व्यक्ति तथा समूह हुनुपर्दछ । एक हप्ता विद्यार्थी, अर्को हप्ता कृषक, अर्को हप्ता द्वन्द्वपीडित वा महिला, आदिवासी, जनजाति, अल्पसंख्यक, उद्योगी, व्यावसायी, प्राध्यापक, डाक्टर, इन्जिनियर, वकिललगायत पछाडि परेका व्यक्ति तथा समूहहरूसँगको भेटघाट र सानिध्यले सरकार र राजनीतिक दलहरूबीचको भ्रमलाई चिर्ने छ ।

यसले संसदीय व्यवस्था र राजनीतिक दलप्रति लागेको कालो बादल सदाको लागि हटेर जानेछ । अर्को कुरा जनता, जनजीविका र मुलुकको विकास र समृद्धिमा सरकार कटिबद्ध छ, प्रतिबद्ध छ भन्ने सन्देश प्रवाह गर्नेछ । यसर्थ वर्तमान प्रधानमन्त्रीले मुलुकका लागि अहम् भूमिका खेल्ने व्यक्ति तथा समूहहरूसँगै तल्लो तहमा रहेका जनतासँगको सामिप्यलाई बढाउन जरुरी छ । त्यसका लागि जनतासँग प्रधानमन्त्रीको प्रत्यक्ष तथा सार्थक भेटघाट हुनुपर्दछ । जसले अहिलेको अन्योलबाट निकास दिलाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?