विद्यार्थीले निकाले भैसीको पेटमा अड्किएको पाडो

हिमालय टाइम्स
Read Time = 3 mins

-ध्रुवसागर शर्मा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ विम स्थित किसानी कृषि प्राविधिक शिक्षालयका विद्यार्थीहरूले पहिलो बेते भैंसीको पेटमा अड्किएको पाडो जिवितै बाहिर निकालेर भैंसीलाई सुत्केरी गराउन सफल भएका छन् ।

गत सोमबार स्थानीय भुपेन्द्र शर्माको पहिलो बेते भैंसीको पेटमा पाडो अड्किए पछि सुत्केरी हुन नसकेको भैंसीको पेटबाट डा. रोशन बानियाँ र डा. प्रशन्न पोख्रेलको सहयोगमा किसानी कृषि प्राविधिक शिक्षालयमा पशु विज्ञान विषयमा अध्ययनरत प्रशिक्षार्थीहरूले भैंसीको पेटमा अडिकएको पाडो निकालेका हुन् ।

किसानी प्राविधिक शिक्षालयका संयोजक करन कडेलका अनुसार शिक्षालयले कृषि तथा पशु क्षेत्रका समुदायसँग समन्वय गरी स्थानीय स्तरमा नै पशु चिकित्साको वारेमा ज्ञान दिने उद्धेश्यसहित विभिन्न कार्यक्रमहरू गरिरहेको छ ।

भौतिक पूर्वाधारले सम्पन्न किसानी कृषि प्राविधिक शिक्षालयले पछिल्लो समय बाली र पशु विज्ञानमा राम्रो नतिजा प्राप्त गर्दै आएको छ ।

कडेलका अनुसार हाल शिक्षालयमा विभिन्न जिल्लाका १४१ जना विद्यार्थीहरू अध्ययनरत छन् । कृषि डिप्लोमामा ५१ जना, डिप्लोमा पशुतर्फ ६० जना र प्रि डिप्लोमातर्फ ३० जना गरी १४१ जना विद्यार्थीहरूले कृषि र पशु सम्वन्धि शिक्षा लिइरहेका छन् ।

सामान्य जस्तो लागेपनि भैंसीको पेटमा अड्किएको पाडो जिवितै निकाल्नु भनेको पशु चिकित्साको क्षेत्रमा निकै जोखिमपूर्ण मानिने संयोजक कडेलले बताउनुभयो । यो गर्भवती पशुमा देखिने जटिल समस्या भएको र स्थानीय जातको भैंसीलाई विकासे राँगो लगाएर गर्भवती बनाउँदा यस्तो समस्या हुने उहाँले बताउनुभयो ।

पेटमा पाडो उल्टो भयो भने यस्तो समस्या देखिने र यस्तो अवस्थालाई प्राविधिक भाषामा डिस्टोकिया ( युटेराइन टर्सन) भनिने उहाँले बताउनुभयो । गर्भवती पशुमा यस्तो समस्यालाई जटिल मानिने र अलिकति असावधानी भयो भने माउ पशु र पाडापाडीको ज्यानै जानसक्ने जोखिम रहने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?