मनसुनजन्य विपद्का घटना : यो बर्ष देशभर ९७ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 8 mins

-बाबुराम श्रेष्ठ

धादिङ । अघिल्लो बर्षको तुलनामा यस वर्ष नेपालमा औपचारिक रूपमा मनसुन सुरु भएको छ । सामान्यत : जेठ ३० गते अर्थात जुन १३ देखि नेपालमा मनसुन सुरु भएको हो । यो वर्षयाम मध्य भदौसम्म रहने आकलन गरिएको छ ।

मौसमी चक्रअनुसार वर्षातले किसानलाई खेतीपाती गर्न तथा वातावरणलाई हरियाली बनाउन सहयोग पुग्छ । यो नियमित चक्र मात्र होइन, प्रकृतिको आशीर्वाद पनि हो । खेतीका लागि प्रत्येक थोपा वर्षा अमृत हो । तर अत्यधिक वर्षाले सिर्जना गर्ने विपद् व्यवस्थापनको तयारी नहुँदा यसले ल्याउने जोखिम पनि उत्तिकै हुन्छ ।

हरेक बर्ष यो अवधिमा बाढी, पहिरो तथा अन्य जलजन्य विपद्का घटना हुने र ठूलो मात्रामा जनधनको क्षति हुने गर्छ । मनसुनजन्य विपद्का घटनामा परी देशभर ९७ जनाको ज्यान गएको छ ।

दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी ९७ जनाको ज्यान गएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यस वर्ष १८ जेठबाट नेपालमा मनसुन भएको थियो । सो मिति देखि १८ साउन सम्मको दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का ७ सय १० घटनामा परी ९७ जनाको ज्यान गएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

यो अवधिमा चार जना बेपत्ता तथा २ सय १५ घाइते भएको र ८ सय ७० परिवार प्रभावित भएका छन् । यस वर्ष मनसुनजन्य विपद्बाट २० लाख मानिस प्रभावित हुने आङ्कलन गरिएको छ ।

दुई महिने अवधिमा १ सय ५७ घर पूर्ण रूपमा क्षति हुँदा २ सय ४७ घर आंशिक प्रभावित बन्न पुगेको छ । यो अवधिमा सबैभन्दा बढी ३८ घटना झापा र त्यसपछि २८ घटना सुनसरीमा भएको छ । कैलाली, अछाम, म्याग्दीमा सबैभन्दा बढी मृत्यु भएको छ । ती जिल्लामा यो अवधिमा पाँच/पाँच जनाको ज्यान गइसकेको छ ।

त्यस्तै, कञ्चनपुर, तनहुँ, धादिङ र बागलुङमा चार–चार जनाको ज्यान गएको तथ्याङ्क रहेको छ । गृहमन्त्रालयद्वारा प्रकाशित ‘मनसुन तथा बेमौसमी वर्षाका घटनासहितको प्रतिवेदन २०७८’ मा गत वर्ष मनसुन तथा मनसुनपछिका बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो, डुबानबाट नेपालाई ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति तथा नोक्सानी बेहोर्नुपरेको छ ।

मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार गत वर्षको मनसुन अवधिमा ९१० घरपरिवार प्रत्यक्ष प्रभावित हुन पुगे भने १४२ जनाले ज्यान गुमाए । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बासिन्दाले सबैभन्दा धेरै क्षति बेहोर्नुर्पयो । यसैगरी मनसुनपछिको बेमौसमी वर्षाका कारण ४०४ घर परिवार प्रभावित भई १२० जनाको मृत्यु भएको थियो भने सबैभन्दा धेरै घटना पहिरोका कारण भएका थिए । प्राकृतिक विपद्का हिसाबले नेपाल विश्वको अग्र सूचीमा आउँछ ।

भूकम्पीय जोखिमको हिसाबले नेपाल विश्वको ११औँ स्थानमा र बाढी पहिरोको जोखिमको हिसाबले ३०औँ स्थानमा पर्छ । यो वर्ष मनसुनी विपद्ले २० लाख मासिन प्रभावित हुन सक्ने पूर्वानुमान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरिसकेको छ । यो सन्दर्भमा नेपालले संभावित संकट सम्बोधनका लागि गंभीर हुन आवश्यक छ। त्यसो त, विपद् पूर्वसूचना दिएर आउँदैन। यसका लागि पर्याप्त पूर्वतयारी तथा उत्थानशीलता जरुरी हुन्छ ।

नेपालको सन्दर्भमा संभावित विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ का अनुसार गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा सम्पर्क मन्त्रालयका रूपमा काम गर्दै आएको छ । यसैगरी अन्य विषयगत मन्त्रालय, प्रदेश सरकार, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकाय एव संघ र संस्थाहरूले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले गरेको व्यवस्था अनुसार गृह मन्त्रालय मातहत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काम गर्दै आएको छ । यसैगरी गृह मन्त्रालय अन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा अन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले संभावित विपद्जन्य घटनाहरूको पूर्वसचना दिने, मनसुन समेत देशभर भएका विपद्सँग सम्बन्धित घटनाको जानकारी लिने, तथ्यांक संकलन तथा वर्गीकरण तथा दैनिक अवस्थाको पोर्टलमार्फत अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्ने काम हुँदै आएको छ ।

राज्यका तीनै तहका सरकारले यो विषयमा थप सहकार्य गर्न सके क्षति घटाउन सकिन्छ। त्यसो त, विगत २ वर्षमा कोभिड–१९ महामारीका कारण नेपालमा अन्य प्राकृतिक विपद्का विषय ओझेलमा परेका थिए । राज्य सयन्त्रको सम्पूर्ण ध्यान महामारीले लिँदा समस्या उत्पन्न भएको थियो। महामारी लगभग नियन्त्रणमा आइसकेको अवस्थामा अब त्यो स्थिति छैन ।

इतिहास हेर्ने हो भने पनि २०७२ सालको भूकम्प, कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि भएका हरेक प्रयासमा राज्यका विषयगत निकायको संयुक्त प्रयास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहन्छ । यसैगरी वर्षाजन्य विपद् निम्त्याउन हामी आफैँ पनि जिम्मेवार छौँ। विकासका गतिविधि एवम् भौतिक पूर्वाधार निर्माणका सम्बन्धमा वैज्ञानिक भूउपयोग नीतिको परिपालना नभएका कारण बाढी पहिरोका घटना बढेका हुन । त्यसैले यस्ता संभावित विपद् आउन नदिन समग्रमा प्रयास हुन आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?