पिउने पानीसमेत पाएनन् कैलाली ओलानीका विद्यार्थीले

हिमालय टाइम्स
Read Time = 7 mins

धनगढी । विद्यालयमा ५०० लिटरको ट्यांकी राखिएको छ । त्यो ट्यांकी पनि कहिले भरिन्छ, त कहिले भरिँदैन । करिब ५०० जना विद्यार्थी रहेको कैलालीको गोदावरी नगरपालिका-१२ स्थित जनप्रभात माविमा विद्यार्थीले ५०० लिटर क्षमता भएको ट्यांकीले पिउन र शौचालय जानका लागि पानीको प्रयोग गर्नु पर्दछ । तर, सो पानी खाजा खाने समय अर्थात् मध्यान्तरसम्म पनि पुग्दैन ।

विद्यार्थी पिउने पानीबाट बञ्चित हुनुका साथै पानीविना शौचमा जान बाध्य हुन्छन् । ‘५०/६० जना विद्यार्थी शौचालय जानेवित्तिकै विद्यालयमा राखिएको ट्याङ्की खाली हुन्छ,’ जनप्रभात माविकाका प्रधानाध्यापक दुर्गादत्त पन्तले भन्नुभयाे, ‘त्यसपछि पानी विनानै विद्यार्थीले शौचालय जानुपर्ने बाध्यता छ । ट्याङ्कीको पानी सकिएपछि विद्यार्थी पिउने पानी समेत प्रयोग गर्न पाउँदैनन् ।’

सो क्षेत्रमा ट्युबेलबाट पानी नआउने र उपभोक्ता समितिले बिहान बेलुका सीमित अवधिका लागि मात्रै पानी दिने गरेका कारण खानेपानीको समस्या हुने गरेको उहाँले बताउनुभयाे । ‘उपभोक्ता समितिले बिहान बेलुका केही समयका लागि मात्रै पानी दिने गरेको छ,’ प्राधानाध्यापक पन्तले भन्नुभयाे, ‘त्यो पानीले विद्यालयकाे ट्याङ्की कहिले भरिन्छ त कहिले आधा मात्रै भएको हुन्छ । ५०० जना विद्यार्थीलाई त्यति पानीले पुग्ने कुरै भएन ।’

२०४५ सालमा स्थापना भएको जनप्रभात माविले स्थापना कालदेखि नै विद्यालयलाई पानीको व्यवस्थापन गर्न पटक-पटक सरकारी तथा गैरसरकारी संस्थासँग माग गर्दै आएको छ । तर, हालसम्म पनि पानी व्यवस्थापनमा कसैले सहयोग नगरेको प्रधानाध्यापक पन्तको भनाइ छ । उहाँले पानी माग्दा धेरै संघ संस्थाले शौचालय भवन बनाएको बताउनुभयाे । तर, पानी अभावका कारण शौचालय प्रयोग गर्न नै समस्या भएको उहाँ बताउँनुहुन्छ ।

‘शौचालयमा थुप्रै लगानी भएको छ, 'प्रधानाध्यापक पन्तले भन्नुभयाे, ‘तर पानीको व्यवस्थापनका लागि हालसम्म कसैले पनि सहयोग गरेको छैन । पानी अभावका कारण बनेका शौचालय प्रयोगविहीन छन् ।’

जनप्रभात माविमा मात्र गोदावरी-१२ स्थित ओलानी क्षेत्रका अन्य विद्यालयमा पनि खानेपानीको समस्या रहेको प्राध्यापक पन्त बताउँनुहुन्छ । ‘यो समस्या हाम्रो विद्यालयको मात्रै हैन,’ यस क्षेत्रका अन्य विद्यालयमा पनि छ, पानीको भरपर्दो श्रोत नहुँदा यस्तो समस्या भइरहेको छ ।’ स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो समस्या समाधान हुने विश्वास लिएको भए पनि हालसम्म विद्यालयमा पानी व्यवस्थापन गर्ने कार्य जनप्रतिनिधिको प्राथमिकतामा नपरेको भन्दै उनले दुखेसाे पोख्नुभयाे ।

‘जनप्रतिनिधि आएपछि उहाँहरुले आफ्ना छोराछोरीको समस्या बुझेर विद्यालयमा पानीको व्यवस्थापन गर्लान् भन्ने ठूलो आशा गरेका थियौं,’ पन्तले भन्नुभयाे, ‘तर पहिलो पटक निर्वाचित जनप्रतिनिधिले आफ्नो पूरै कार्यकाल सकेर नयाँ जनप्रतिनिधि आउँदासमेत विद्यालयका समस्या प्राथमिकतामा नपारिँदा दुःख लागेको छ ।’

ओलानीका अधिकांश विद्यालयमा इनार खनेर मोटरबाट पानी तान्ने व्यवस्था गरिएको छ । तर, इनारमा समेत असारदेखि भदौसम्म मात्रै पानी जम्मा हुने गरेको छ । ‘बाँकी ९ महिना भने इनारमा पानी हुँदैन,’ गोदावरी नगरपालिका-१२ का वडा अध्यक्ष भीमबहादुर खड्काले भन्नुभयाे, ‘इनारमा पानी जम्मा हुन छाडेपछि सबै विद्यालयमा पानीको अभाव हुने गरेको छ । यो समस्या वडाबाट सम्बोधन हुन नसक्ने र धेरै लगानी लाग्ने भएका कारण अहिलेसम्म पनि यथावत छ, हामी समस्या समाधानका लागि प्रयासरत छौं ।’

ओलानी क्षेत्रमा जमिनभन्दा धेरै गहिराइमा मात्रै पानी पाइने र जमिनमुनि भएको चट्टानका कारण पानी तान्न पनि समस्या हुने गरेकाे वडा अध्यक्ष खड्काले बताउनुभयाे । तर, पहिलाभन्दा अहिले खानेपानीको समस्या भने धेरै कम भएको उहाँले बताउनुभयाे । जनप्रभात स्कुलमा खानेपानी संस्थाको पाइपलाइन नपुगेका कारण पानीको केही समस्या रहेको भन्दै उहाँले यसै वर्ष सो विद्यालयमा बोरिङ गर्ने योजना रहेको बताउनुभयाे ।

‘आफु अध्ययक्ष भएपछि करिब १७ किलोमिटर खानेपानीका पाइट विच्छ्याएर घरघरमा पानी पुर्‍याउने प्रयास गरेको छु,’ अध्यक्ष खड्काले भन्नुभयाे, ‘चालु आर्थिक वर्षमा पनि केही पाइपलाइन बिच्छ्याइने योजना छ ।’ विद्यालय क्षेत्रमा पानीको प्रयोग बढी हुने भन्दै उहाँले त्यसका लागि अलग्गै पानीको व्यवस्थापन गर्ने गरी संघ र प्रदेशमा योजना पठाइएकाे बताउनुभयाे । वडा नम्बर-१२ मै पर्ने अधिकांश शैक्षिक संस्थामा पनि खानेपानीको समस्या रहेको अध्यक्ष खड्काले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?