विश्वकपका लागि चार राष्ट्रको प्रस्ताव

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि अर्जेन्टिनासहित चार राष्ट्रले संयुक्तरूपमा दाबी पेश गरेका छन् । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्तरूपमा २०३० को विश्वकप आयोजनाका लागि दाबी पेश गरेका हुन् ।

उरुग्वेले १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो । त्यसयता उरुग्वेले विश्वकपको आयोजना गरेको छैन । उरुग्वे एक शताब्दीपछि विश्वकप आयोजना गर्न चाहन्छ । ‘यो महादेशको सपना हो ।’ दक्षिण अमेरिकी फुटबल महासंघ (कन्वेवल) का अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले भन्नुभएको छ, ‘त्यहाँ धेरै विश्वकप हुनेछन् । तर, विश्वकप एकपटक मात्र १ सय वर्ष पुग्छ, यो उरुग्वेमा आउन आवश्यक छ ।’ उरुग्वेली फुटबल संघका अध्यक्ष इग्नासियो अलोन्सोले विश्वकप जहाँबाट सुरु भएको थियो, एक सय वर्षपछि त्यही राष्ट्रमा आयोजना गर्नु राम्रो हुने बताउनुभएको छ ।

चिलीले १९६२ मा तथा अर्जेन्टिनाले १९७८ को विश्वकप आयोजना गरेको थियो । सन् २०३० को विश्वकप आयोजनाका लागि स्पेन र पोर्चुगलले समेत संयुक्त दाबी पेश गरिसकेका छन् । सन् २०२२ को विश्वकप एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुुँदैछ । यस्तै २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा आयोजना गर्ने तय भइसकेको छ ।

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले सन् २०२४ मा २०३० को विश्वकप आयोजना गर्ने राष्ट्रको घोषणा गर्नेछ । पहिलो संस्करणको विश्वकपमा आयोजक उरुग्वेले अर्जेन्टिनालाई फाइनलमा हराएर उपाधि जितेको थियो । बेलायत र रिपब्लिक अफ आयरल्यान्ड सन् २०३० को विश्वकप आयोजनाको दाबीबाट पछि हट्दै सन् २०२८ को युरोकप आयोजना गर्ने योजनामा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?