‘सम्झना बिर्सना’ अब भारतमा रिलिज हुने

Read Time = 3 mins

काठमाडौं । नेपाली चलचित्र ‘सम्झना-बिर्सना’ भारतमा पनि प्रदर्शन (रिलिज) हुने भएको छ । नेपालमा गएको असार ३१ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र अब भारतका विभिन्न स्थानमा प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।

निर्माता अद्वितीय प्रधानले पहिलो र दोस्रो चरणगरी चलचित्रको प्रदर्शन गर्ने तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार चलचित्र पहिलो चरणमा ९ सेम्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिल्गुडी, जय गाउँलगायत स्थानमा प्रदर्शन हुनेछ । यस्तै दोस्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुँदैछ भने तेस्रो चरणमा २१ अक्टुबरमा बाँकी शहरमा प्रदर्शन हुने तयारीमा छ ।
उहाँले भारतमा नेपाली फिल्मको बजार राम्रो रहेको तर अधिकांशले यथोचित तवरले प्रदर्शन गर्न नजानेको बताउनुभयो । ‘इण्डियामा नेपाली फिल्मको मार्केट एक्दम राम्रो छ । तर हामीले सही बजार खोज्न सकेका छैनौ ।’ उहाँले आफू नेपाली फिल्मको बजार विस्तारका लागि दीर्घकालीन सोचका साथ ‘सम्झना–बिर्सना’मार्फत अघि बढेको सुनाउनुभयो ।

निमेष प्रधान निर्देशित चलचित्र भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिँदै छ । ‘हामीले प्रारम्भिक रूपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौ,’ निर्माता प्रधानले भन्नुभएको छ, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौ । नेपाली नबुझ्नेका लागि भने अंगे्रेजी सबटाइटल राखेका छौं ।’

रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको चलचित्रले नेपालमा व्यावसायिक हिसाबमा सफलता पाउन सकेको थिएन । चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा मुख्य भूमिकामा हुनुहुन्छ । दार्जिलिङ, सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्रमा शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल र निमेष प्रधानलको संगीत छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?