बैंककमा ‘नेपाल सेल्स मिसन-२०२२’

हिमालय टाइम्स
Read Time = 6 mins
A A- A+

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले बैंककस्थित रेम्ब्रान्ड होटलमा ‘नेपाल सेल्स मिसन–२०२२’ आयोजना गरेको कार्यक्रममा नेपालका ११ बिक्रेता पर्यटन व्यावसायिक कम्पनी र थाइल्यान्डका ४५ भन्दा बढी टुर अपरेटरलगायत करिब ८० जना सरोकारवालाको सहभागितासहित ‘बिटुबी सत्र’ औपचारिक समारोह र नेटवर्किङ डिनर रिसेप्सन भव्यतासाथ सम्पन्न भएको पाटा नेपालले जनाएको छ ।

पाटा नेपाल च्याप्टरले थाइल्यान्डस्थित नेपाली राजदूतावास, नेपाल एयरलाइन्स, पाटा अन्तर्राष्ट्रिय र पाटा थाइल्यान्ड च्याप्टर, थाई ट्राभल एजेन्ट्स एसोसिएसन, एसएस ग्रुप थाइल्यान्ड, नेपाल उद्योग परिसंघ र जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजसँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । कोरोना महामारी पर्यटन पुनरुस्थान अभियानअन्तर्गत विदेशी स्रोतबजारमा गएर पहिलोपटक पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरिएको पाटा नेपालले जनाएको छ । पाटा नेपाल च्याप्टरका पदाधिकारी र सदस्यसहित २० जना पर्यटन व्यवसायीको प्रतिनिधिमण्डलले अगस्ट २ देखि ४ गतेसम्म थाइल्यान्डको सोङखलामा आयोजना हुने छैटौँ पाटा डेस्टिनेसन मार्केटिङ फोरममा समेत सहभागिता जनाएका छन् ।

सो अवसरमा पाटा नेपालका अध्यक्ष विभूति चन्द ठाकुरले विश्वव्यापी महामारीले सिर्जना गरेको कठिनाइ पार गर्न र दुई मित्रराष्ट्रबीचको पर्यटन प्रवद्र्धन गर्न सार्वजनिक तथा निजी क्षेत्रका सबै सरोकारवालालाई पर्यटन क्षेत्रको पुनरुत्थान तथा दिगो विकासका लागि हातेमालो गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले नेपाल सेल्स मिसन नवनिर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र यसको दिगो पर्यटन विकासका लागि नयाँ बाटो र अवसर प्रवद्र्धन गर्दै महामारीपछिको पर्यटन पुनरुत्थान अभियानमा सहयोग पु¥याउन समयसापेक्ष र फलदायी पहल भएको बताउनुभयो ।

पाटा थाइल्यान्ड च्याप्टरकी अध्यक्ष बेन मोन्टगोमेरीले नेपालको पर्यटन पुनरुत्थान पहलका लागि शुभकामना दिनुभयो । नेपाल उद्योग परिसंघका महानिर्देशक दीपकराज जोशीले नेपाल गन्तव्यबारे मुख्य वक्ताका रूपमा बोल्दै नवीनतम् अद्यावधिक र जीवन्त अनुभव प्रदान गर्ने गन्तव्यका रूपमा नेपालको आकर्षणबारे प्रस्तुति दिनुभएको थियो । थाई ट्राभल एजेन्टले नेपालसँग जोडिएर कसरी फाइदा लिन सक्छन् भन्नेबारेमा पनि उहाँले चर्चा गर्नुभएको थियो । थाई ट्राभल एजेन्ट्स एसोसिएसनका उपाध्यक्ष शिवेक सचदेवले नेपालको दिगो र वातावरणमैत्री पहलको प्रशंसा गर्दै थाई पर्यटन समुदायलाई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्न आग्रह गर्नुभयो भने थाइल्यान्डका नेपाल वायुसेवा निगमका कन्ट्री म्यानेजर होमप्रसाद पराजुलीले सहज जडान, राष्ट्रिय ध्वजावाहकको प्रवद्र्धन भाडा र थाई एजेन्टलाई विशेष सुविधा रहेको जानकारी गराउनुभयो । लुम्बिनी विकास कोषका सद्भावनादूत विक्रम पाण्डेले भगवान् बुद्धकोे जन्मस्थल लुम्बिनी वरपर विकास भइरहेका पर्यटन विकास र पर्यटकीय उत्पादन वा गतिविधिका सम्भावनाबारे चर्चा गर्दै थाइल्यान्ड–नेपाललाई बौद्ध पर्यटनको माध्यमबाट जोड्न सकिने बताउनुभयो ।

पाटा अन्तर्राष्ट्रियकी प्रमुख कार्यकारी अधिकृत लिज ओर्टिगेराले पाटाको विश्व समुदायको इतिहास र महत्वबारे प्रकाश पार्दै पाटा च्याप्टरबीचको सहकार्य तथा समन्वयमार्फत् नेपालको पर्यटन प्रवद्र्धनमा पाटा नेपाल च्याप्टरको सक्रियताको प्रशंसा गर्नुभयो । थाइल्यान्डस्थित नेपाली राजदूत गणेशप्रसाद ढकालले थाई ट्राभल एजेन्ट्स तथा आगन्तुकलाई सहज भिसा सेवा, नेपाल भ्रमण सम्बन्धमा जानकारी तथा अन्य आवश्यक सहयोग प्रदान गर्न दूतावासले सक्रिय भूमिका खेल्दै आएको बताउनुभएको पाटा नेपाल च्याप्टरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?