गुठीको १० कठा जग्गा व्यक्तिगत नामसारी गर्ने षड्यन्त्र

हिमालय टाइम्स
Read Time = 3 mins

जनकपुरधाम । जनकपुरधाममा रहेको गुठीको १० कठ्ठा जग्गा भूमाफियाले व्यक्तिगत नामसारी गर्ने षड्यन्त्र रचेको खुलासा भएको छ । जग्गा जनकपुरधामको वडा नं. ८ मा रहेको छ । भित्रभित्रै नामसारीको प्रक्रियामा रहेको सो जग्गाको कागजात नापी कार्यालय धनुषामा पुगेपछि उक्त षड्यन्त्रको खुलासा भएको हो ।

कार्यालयले गत साउन ४ गते दुईवटा सम्बन्धित कार्यालयलाई सो जग्गाको स्पष्ट विवरण बुझाउन पत्रसमेत काटेको छ । नापीले मालपोत कार्यालय धनुषा र वडा कार्यालय जनकपुरधाम–८ लाई पत्र काटेको देखिन्छ । नापीले मालपोतलाई काटेको पत्रमा जनकपुरधाम-८ मा अवस्थित कित्ता नं. २७४ को ३ कठ्ठा १९ धुर र कित्ता नं. २७५ को ६ कठ्ठा २ धुर जग्गाको सक्कल टिप्पणी निर्णयको सक्कल फाइल, कित्ताको श्रेस्ता उतारसमेत मगाएको छ । साथै वडा नंं. ८ को वडा कार्यालयलाई काटेको पत्रमा सो कित्ताको जग्गाहरूमा हाल कस्ले भोग चलन गरिरहेको छ स्पष्ट हुने गरि सर्जमिन फिल्ड मुचुल्का सहितको सिफारिस पठाउन भनिएको छ ।

यस विषयमा नापीसँग सम्पूर्ण विवरण माग्दा नापी स्रोतले तत्काल धेरै खुलाउन चाहेनन् । त्यसैगरि जग्गा नामसारीको विषयमा मालपोत कार्यालय धनुषामा सम्पर्क गर्दा कार्यालय प्रमुख नभएको खण्डमा निमित्त प्रमुख वन्नुभएका सरोज सिंहले जग्गा सम्वन्धि विवरण दिनबाट इन्कार गर्नुभएको छ । स्रोतका अनुसार यस जग्गाको सम्बन्ध दोहोरो नागरिकताको आरोपमा पुर्पक्षका लागि जेल चलान भएका आनन्द मिश्र (आनन्द मोहन शरण) सँगसमेत हुन सक्ने बताईएको छ ।

मिश्रले सो जग्गा हतार हतार नामसारी गर्न चाहेकै बेला उनी जेल चलान हुने अवस्था आएको र नापीलाई शंका भएपछि पत्र काटेको हुन सक्ने स्रोतको भनाइ छ । नापीका कर्मचारीले कार्यालय प्रमुख नरहेको भन्दै जग्गा सम्बन्धि सम्पूर्ण जानकारी दिन आनाकानी गरेका छन् । पत्रका विषयमा वडा नं. ८ का वडा अध्यक्ष दिनेश सिंहले आफूहरूलाई पत्र प्राप्त भएको र जग्गामा गुठीसहित केहि व्यक्तिहरू समेतले आ–आफ्नै दावी गरिरहेको बताउनुभयो । नाम खुलाउन नचाहेपनि सिंहले एकजना पत्रकारसहित दुईतिन जना व्यक्तिले सो जग्गामा दावी गरिरहेको बताउँदै आफूहरूले सबै कुरा बुझेर मात्र भन्न सक्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?