चुनाव घोषणासँगै सचिवको सरुवा, अर्थसचिवको जिम्मेवारी पुष्करलाई, मरासिनी प्रधानमन्त्री कार्यालयमा जगेणा

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । सरकारले विभिन्न मन्त्रालयका सचिव हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो । बिहीबार नै सरकारले संघ र प्रदेशसभाको निर्वाचनसमेत घोषणा गरेको छ । निर्वाचनको घोषणसँगै सरकारले विभिन्न सचिवहरूको सरुवा गरेको हो । सचिवसँगै प्रधानमन्त्रीको सचिवालयमा पनि विभिन्न व्यक्तिलाई जिम्मेवारी दिइएको छ ।

सरकारका एक मन्त्रीका अनुसार बैठकले महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उहाँको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहनु भएका सचिव डिल्लिराम शर्मालाई तानिएको छ । दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेको छ । मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको हो ।

मरासिनी गत आइतबारदेखि अर्थ मन्त्रालयमा हाजिर नभई बिदामा बस्नुभएको थियो । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेको आरोप अर्थमन्त्री जनार्दन शर्मामाथि लागेपछि सचिव मरासिनीको पनि आलोचना भइरहेको थियो । आलोचनापछि मरासिनी असार २२ गते बिदामा बस्नुभएको थियो । सोही दिन शर्माले मन्त्रीबाट राजीनामा दिनुभएको थियो । बिदा बसेको भोलिपल्टै सचिव मरासिनी मन्त्रालय फर्किनुभएको थियो । छानबिन गर्न गठित संसदीय समितिले आरोप पुष्टि गर्न नसकेपछि साउन १५ गते अर्थ मन्त्रालयमा शर्मा पुनः मन्त्री नियुक्त हुनुभएको थियो । शर्मा फर्किएपछि मरासिनी बिदामा बस्नुभएको थियो ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा हुनुभएको छ । सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ । राजस्व सचिवसमेत रहनुभएका पुष्करलाई अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रूपमा काम गर्ने गरी जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ । थप केही सचिवको समेत सरुवा तयारी रहेको सिंहदरबार स्रोतको दाबी छ ।

सरकारले नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उहाँलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सुवेदी र जलवायु परिवर्तन सल्लाहकारमा डा. कार्की नियुक्त
प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । देउवाले प्रधानमन्त्री भएको एक वर्षपछि परराष्ट्र सल्लाहकार नियुक्त गर्नुभएको हो । सुवेदी भूराजनीतिक मामिलामा जानकार हुनुहुन्छ । विद्यार्थी कालमा नेविसंघको राजनीतिमा सक्रिय सुवेदी पछिल्लो समय व्यवसायमा संलग्न हुनुहुन्छ । सुवेदी नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आउनुभएको छ । उहाँको पुख्र्यौली घर धनकुटा हो ।

यस्तै प्रधानमन्त्रीको जलवायु परिवर्तनसम्बन्धी सल्लाहकारमा डा. माधव कार्की नियुक्त हुनुभएको छ । कार्कीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो । सिन्धुलीको मजुवास्थित नागिलेकमा जन्मिनुभएका कार्की प्राकृतिक स्रोत तथा जलवायु विशेषज्ञ हुनुहुन्छ । कृषि आयोजना सेवा केन्द्रमा अनुभव लिनुभएका उहाँले नेपालका ६० वटा जिल्ला घुम्नुभएको छ । पोखरामा वन विज्ञान क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका रूपमा १३ वर्ष अनुभव बटुल्नुभएका कार्कीले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आईडीआरसी, आईएनबीआर, इसिमोड, आइसेटमा काम गरिसक्नुभएको छ । ५० देश घुम्नुभएका कार्की हाल आईयूसीएनका दक्षिण एसिया क्षेत्रीय प्रमुख हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?