नगरपालिकाको लापरबाहीले बन्द भयो आप्रवासी स्रोत केन्द्र

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

-डम्मर बुढा मगर

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङमा स्थापना भएको आप्रवासी स्रोत केन्द्र बन्द भएको छ । वैदेशिक रोजगारीमा जाने युवाहरूका लागि सहयोग गर्न स्थापित स्रोत केन्द्र बागलुङ नगरपालिकाले समयमा सञ्चालनको विषयमा निर्णय लिन नसक्दा बन्द भएको हो । तीन वर्षअघि स्थापना भएको स्रोत केन्द्रबाट दैनिक ४० देखि ५० जना युवाहरूले सेवा लिँदै आएका थिए । स्विस सरकार र नेपाल सरकारको संयुक्त लगानीमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना कसरी सञ्चालन गर्ने भन्ने विषयमा नगरले समयमा निर्णय लिन नसकेको हो ।

यसअघि बागलुङमा परियोजना सञ्चालनमा रहेका बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र जैमिनी नगरपालिकाले स्थानीय व्यवस्थापकका रूपमा बिवाइसी बागलुङलाई परियोजना सञ्चालनको जिम्मेवारी दिएका थिए । तीन वर्षका लागि बिवाइसीसँग भएको सम्झौता समाप्त भएसँगै स्रोत केन्द्र पनि बन्द भएको हो । म्याद सकिने बेलासम्म पनि परियोजना स्थानीय व्यवस्थापक वा नगर आफैंले सञ्चालन गर्ने टुंगो लागेको थिएन ।

चारवटै पालिकाका प्रतिनिधि रहेको परियोजना सञ्चालन तथा समन्वय समितिले असारको अन्तिम सातामात्रै स्थानीय तहहरू आफैंले सञ्चालन गर्ने निर्णय गरेका थिए । निर्णय ढिला भएको र नयाँ प्रक्रियाद्वारा कर्मचारी नियुक्ति तथा व्यवस्थापनको काममा लाग्दा केन्द्र बन्द भएको हो । ‘अहिलेलाई परियोजना र स्रोत केन्द्र सञ्चालनको विषय प्रक्रियामा छ,’ प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले भन्नुभयो, ‘एक-दुई दिनमा नै हामीले विज्ञापन गरेर परियोजना नगरले नै सञ्चालन गर्ने गरी अघि बढ्दै छौँ ।’

स्रोत केन्द्रले वैदेशिक रोजगारीमा आउने समस्याहरूमा निःशुल्क कानुनी परामर्श, वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारका लागि राहत र क्षतिपूर्ति, विदेशमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउने, निःशुल्क सीपमूलक तालिम र त्यसका लागि परामर्श दिने र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने गरेको छ ।

वैदेशिक रोजगारीबाट भित्रिएको रेमिट्यान्सको सदुपयोग, विदेशबाट फर्केका युवाहरूको ज्ञानसीपको प्रयोगद्वारा स्वरोजगारी र समुदायमा मनोपरामर्श र वित्तीय साक्षरताका कामसमेत हुँदै आएको थियो । परियोजना सञ्चालनका विषयमा भइरहेको अन्योलतासँगै बागलुङ नगरपालिकामा मात्रै काम गरिरहेका नौजना कर्मचारी घर फर्किएका छन् । जैमिनीले परियोजनाको जनशक्ति र कार्यक्रम स्वामित्वमा लिएर काम गर्ने निर्णय गरेको छ भने गलकोट र काठेखोला गाउँपालिका प्रक्रियामा छन् ।

राहदानी बनाउने बेला नै परामर्श दिनका लागि स्थापना भएको स्रोत केन्द्र सञ्चालनको जिम्मेवारी बागलुङ नगरपालिकाले पाएको छ । गत आर्थिक वर्षमा मात्रै स्रोत केन्द्रले झण्डै ६ करोड क्षतिपूर्ति तथा राहत वितरण गरेको थियो भने १६ जना विदेशमा मृत्यु भएका युवाहरूको शव नेपाल ल्याउन सहयोग गरेको थियो । १२१ जनालाई निःशुल्क सीपमूलक तालिम दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?