बालुवाटारमा सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँडबारे छलफल हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान साढे नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएपनि अझै शुरु हुन नसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले मंसिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेल र सिट बाँडफाँड गर्न कार्यदल गठन गर्ने एक नेताले बताए ।

कार्यदलले सिट बाँडफाँटको मोडालिटी तयार गरेपछि त्यसैअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा सिटको भागवण्डा गर्ने बताइएको छ। गठबन्धनका दलहरुबीच अघिल्लो निर्वाचन जितेका क्षेत्र सम्बन्धित दलले नै राख्ने र एमालेले जितेका क्षेत्रमा भागवण्डा गर्ने मोटामोटी सहमति छ।

प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० प्रत्यक्षतर्फका सिट छन्। जसमध्ये कांग्रेसले प्रतिनिधिसभामा कम्तीमा ९५ सिट राखेर बाँकी ४ दललाई ७० सिटबाट भागवण्डा लगाउने मनस्थिति बनाएको छ। तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने कांग्रेसलाई ८० सिट दिन तयार देखिन्छन्। प्रदेशसभाको सिट बाँडफाँटमा पनि दलहरु यही अनुपातलाई मिलाएर लैजाने तयारी गरिरहेका छन्।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बिहीबार एक कार्यक्रममा आउने प्रदेशसभा र प्रतिनिधसभाको चुनावमा अहिलेको गठबन्धन नै कायम रहने भन्ने घोषणा गर्ने तयारी रहेको बताउनुभएको थियो ।

बैठकपछि चुनावमा पनि गठबन्धन कायम नै रहने घोषणा गर्ने तयारी रहेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा र प्रतिनिधिसभा चुनाव आगामी मंसिर ४ गते गर्ने घोषणा गरेको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?