खोटाङको रक्त सञ्चार केन्द्रबाट निःशुल्क रगत पाइने

हिमालय टाइम्स
Read Time = 3 mins

-चिसाङ शेर्पा

खोटाङ । बिरामीका लागि खोटाङको रक्त सञ्चार केन्द्र ब्लड बैंकबाट निःशुल्क रगत पाइने भएको छ । यसअघिसम्म बिरामीलाई रगत चढाउनुपरेमा सशुल्क पाइने रगत अबदेखि निःशुल्क पाइने भएको हो ।

जिल्ला रेडक्रस सोसाइटी जिल्ला शाखा मातहत र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा २०७५ चैत २५ गतेदेखि जिल्ला अस्पताल परिसरमा सञ्चालन भइरहेको ब्लड बैंकमा १ साउनबाट बिरामीका लागि निःशुल्क रगत वितरण भइरहेको रेडक्रसका मन्त्री छत्रकुमार वजिमयले जानकारी दिनुभयो । नगरपालिकाले थप आर्थिक सहयोग गर्ने भएपछि जिल्लाभरका अस्पतालमा भर्ना भई रगत चढाउनुपर्ने बिरामीलाई निःशुल्क रगत दिने वातावरण बनेको हो ।

यसअघि, ब्लड बैंकमा ९५० रुपैयाँ तिरेर एक पिन्ट रगत लिनुपर्ने बाध्यता थियो । ब्लड बैंक स्थापनापछि सुत्केरी महिलाका श्रीमान् तथा आफन्तबाट रगत तानेर आवश्यक परेको खण्डमा सुत्केरी महिलालाई चढाउने र चढाउनुनपरेको अवस्थामा बैंकमै राखिने गरिएको थियो । रक्तदानबाट जम्मा भएको रगत पनि ब्लड बैंकमा राखिँदै आएको छ ।

ब्लड बैंकसँग १२० पिन्ट रगत राख्ने क्षमता भए पनि जिल्ला अस्पतालमा मेजर अपरेसन नहुने भएकाले आवश्यक रगतमात्र ब्लड बैंकमा राख्दै आएको रक्त सञ्चार केन्द्र दिक्तेलका प्रमुख बोलराज आचार्यले बताउनुभयो । आर्थिक वर्ष २०७८/७९ मा १०६ पिन्ट रगत तानिएकोमा ७१ पिन्ट रगत जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई चढाइएको र ३५ पिन्ट रगत धरान, भक्तपुर, विराटनगर पठाइएको छ ।

धरान, भक्तपुर, विराटनगरमा उपचारका क्रममा जिल्लावासीलाई रगत आवश्यक परेमा सोही रगत सहज तरिकाले उपलब्ध गराइने गरिएको मन्त्री वजिमयले बताउनुभयो । रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि धेरै सहज महसुस गरेको जिल्लावासीले निःशुल्क रगत पाउन थालेपछि थप सहज भएको बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?