इलाममा राहदानी लिने झण्डै दोब्बरले बढे

हिमालय टाइम्स
Read Time = 3 mins

-प्रकाश नेपाल

इलाम । इलाममा राहदानी (पासपोर्ट) लिनेको संख्या झण्डै दोब्बरले बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा इलामको जिल्ला प्रशासन कार्यालयबाट तीन हजार ७९८ जनाले राहदानी लिएका छन् । आर्थिक वर्ष २०७७/७८ मा इलाममा राहदानी लिनेको संख्या दुई हजार ४५ रहेको थियो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी यादव राउतका अनुसार विगतका वर्षहरूमा कोभिडका कारणले राहदानी लिनेको संख्या कम भएको र अहिले झण्डै राहदानी लिनेको संख्या दोब्बरले बढेको हो ।

राउतका अनुसार इलाममा गएको फागुन महिनाबाट ई–पासपोर्ट बनाउन सुरु भएको छ । हालसम्म ई-पासपोर्ट दुई हजार ३४८ जनाले लिएको राउतले बताउनुभयो । उहाँका अनुसार पासपोर्ट बनाउनेमा युवा पुस्ता बढी रहेको पाइएको र रोजगारीभन्दा पनि अध्ययनका लागि जापान, अस्ट्रेलियालगायतका मुलुकमा जाने भन्दै आउनेको संख्या बढी पाइएको छ ।

यस्तै २०७८/७९ मा जिल्ला प्रशासन कार्यालय इलामबाट वंशजका आधारमा नागरिकता लिनेको संख्या दश हजार ७७१ रहेको छ । जिल्लाको इलाका प्रशासन कार्यालय र सीमा प्रशासन कार्यालयबाट पनि नागरिकता वितरण हुँदै आएको छ । इलाका प्रशासन मंगलबारेबाट दुई हजार ७६२ जनाले नागरिकता लिएका छन् । उता सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट एक हजार ९८ जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन इलाम, इलाका प्रशासन कार्यालय मंगलबारे र सीमा प्रशासन कार्यालय पशुपतिनगर गरी तीनैवटा कार्यालयबाट प्रतिलिपि नागरिकता लिनेको संख्या सात हजार ५२३ रहेको छ भने वैवाहिक अंगिकृत नागरिकता लिनेको संख्या ७२ जना रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?