नगर प्रमुख पन्थीद्वारा पहिरो जोखिम विद्यालयको अनुगमन

हिमालय टाइम्स
Read Time = 2 mins

-रमेश विश्वकर्मा

गुल्मी । पहिरो जोखिममा रहेकोे घोर्ले माध्यमिक विद्यालयको रेसुंगा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले अनुगमन गर्नुभएको छ । गुल्मीको रेसुंगा नागरपालिका–१३ मा अवस्थित यस विद्यालय गत असार १० गते र साउन १२ गते आएको अबिरल वर्षाका कारण नजिकैबाट पहिरो खसेसँगै विद्यालय जोखिममा परेको थियो । पहिरोग्रस्त स्थानको नगर प्रमुख पन्थीले अनुगमन गर्नुभएको हो ।

नगर प्रमुख पन्थीले पहिरोग्रस्त स्थानको अनुगमनपछि पहिरो नियन्त्रण र क्षति न्यूनीकरणको कार्य समयमै अगाडि बढाउने बताउनुभएको छ । रेसुंगा नगरपालिकाका प्राविधिकसहित पुग्नुभएका पन्थीले पहिरोका कारण विद्यालय जोखिममा परेको उल्लेख गर्नुभयो ।

पहिरो गएपछि विद्यालयको खेलमैदान, शौचालय लगायतका भौतिक संरचनामा क्षति पुगेको छ । विद्यालयका प्रधानाध्यापक हिरासिंह सराङकोटीका अनुसार विद्यालयको ग्राउण्ड सानो भएपछि ग्राउण्ड ठूलो बनाउन ग्याबिन वाल उठाइएको थियो । उक्त वाल दुई पटकको वर्षाका कारण पूर्णरुपमा भत्किएको छ । अहिले नियमित कक्षा बन्द गरिएकाले विद्यालय सञ्चालन गर्नुभन्दा अगाडि नै कुनै उपाय गर्नुपर्ने बताउनुभयो । पहिरोले सडकसमेत पुरेपछि विद्यालय पुग्न निकै समस्यासमेत परेको छ ।

करिब ४१ लाखको लागतमा उक्त वाल निर्माण गरिएको पूर्व-वडाध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो । उहाँले अब लगातार पानी परे २० लाखमा निर्माण गरिएको पक्की शौचालय पनि भत्किन सक्ने सम्भावना रहेको बताउनुभयो । तत्काल समाधानको उपाय खोज्नुपर्ने उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?