नुनथरमा पर्यटकको लापरबाहीले दुर्घटना निम्तिँदै

हिमालय टाइम्स
Read Time = 5 mins

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको धार्मिक पर्यटकीयस्थल नुनथर पर्यटकका लागि जोखिमपूर्ण गन्तव्य बनेको छ । चन्द्रपुर नगरपालिका–१ मा रहेको धार्मिक पर्यटकीय स्थल नुनथर पर्यटकहरूले सावधानी नअपनाउँदा र स्थानीय प्रशासनले आवश्यक ध्यान नदिँदा जोखिमपूर्ण बनेको हो । यहाँ बर्सेनि ६/सातजना पर्यटकहरूको ज्यान गइरहेको स्थानीयहरूले बताएका छन् । पर्यटकहरू सचेत नभइदिँदा र स्थानीय प्रशासनसले दुर्घटनाबाट बच्नका लागि आवश्यक कदम चाल्न नसक्दा दुःखद घटनाको समाचार धेरै बन्ने गरेको स्थानीयहरूको गुनासो छ ।

गत असार ३१ गते शुक्रबार र असार १८ गते नुहाउन नदी पसेका तीनजना पर्यटकहरूको ज्यान गयो । गर्मीको समयमा मेला लाग्ने र वनभोज लगायतको गन्तव्यस्थल बन्ने गरे पनि नदीको गहिराइ र जोखिमको ख्याल नगरी पौडी खेल्न पस्दा पर्यटकहरूको ज्यान जाने गरेको स्थानीयहरूको भनाइ छ । नुनथर मधेश प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्छ । धेरै अगाडि यस क्षेत्रमा प्रशस्त नुन पाइने र यस क्षेत्रको माटो पनि नुनिलो रहेकाले गाईवस्तुहरू यस क्षेत्रमा चर्न जाँदा वागमतीको पानी पिइसकेपछि त्यहाँको माटो चाट्ने गरेकाले यस क्षेत्रको नाम नुनथर रहन गएको किंवदन्ती पनि रहेको छ ।

नुनथरमा वर्षको बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको पाइन्छ । रौतहट, मकवानपुर, सर्लाही र सिन्धुली गरी चार वटा जिल्लासँग सीमाना जोडिएको प्राकृतिक छटाले भरिपूर्ण यस क्षेत्रमा नेपाल मात्र नभएर भारतका विभिन्न स्थानहरूबाट पर्यटकहरू घुम्न तथा पिकनिक खान आउने गर्छन् । नुनथर क्षेत्रमा साउनको महिनाभर विभिन्न नेपाल तथा भारतका विभिन्न स्थानबाट बोलबम यात्रामा आउने हिन्दू भक्तजनको घुइँचोसमेत लाग्ने गर्छ । सो स्थानमा बागमती नदी स्थिर देखिए पनि गहिरो र भुमरीयुक्त भएकाले अचानक डुब्ने गरेको स्थानीय सुरेन्द्र सापकोटाले बताउनुभयो ।

उहाँले यसरी वर्षेनी सरदर पाँच/छ जना नुनथर घुम्न आउनेहरू वागमती नदीमा पौडी खेल्न जाँदा डुबेर मृत्यु हुने गरेको बताउनुभयो । यसरी तीर्थयात्रा र पर्यटन गर्न आएकाहरू बागमती नदीमा पौडी खेल्न, नुहाउन जाने गरेकाले नदीमा डुबेर बेपत्ता हुने जोखिम उच्च रहेको स्थानीय लक्ष्मण न्यौपानेले बताउनु भयो । उहाँले नुनथर क्षेत्र विकास समिति मातहत रहेको सो नुनथर क्षेत्रका मानिसहरूलाई डुब्नबाट जोगाउन समितिले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

धेरै मानिसहरू डुबेर बेपत्ता तथा मृत्यु भएपछि नदी किनारको ठूलो ढुंगामा ‘खतरा’ लेखिए पनि पर्यटकहरूले त्यसको बेवास्ता गर्ने गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताउनुभयो । उहाँले सो संकेतलाई बेवास्ता गर्दै नदीमा पर्यटकहरू पौडी खेल्न जाने गरेकाले धेरै दुर्घटना निम्तिएको बताउनुभयो । उहाँले स्थानीय प्रशासनले पनि बारम्बार वागमती नदीमा पौडी नखेल्न अनुरोध गरे पनि त्यसलाई तीर्थयात्री र पर्यटकहरूले नै बेवास्ता गर्ने गरेको देखिएको बताउनुभयो ।

पर्यटक रमाइलोको लागि नुनथर घुम्न आउँछन् । तर पौडी खेल्ने क्रममा वागमती नदीमा हुने दुःखद् घटनाले सबैको मन खल्लो बनाइदिने गरेको छ । नदीमा पौडी खेल्न जानुअघि पर्यटकहरू पनि सचेत हुनुपर्ने स्थानीय प्रशासनको भनाइ छ । यसरी बर्सेनि बागमती नदीमा डुबेर मानिसहरूको मृत्यु हुने क्रमलाई रोक्न नुनथर विकास समिति, चन्द्रपुर नगरपालिका र स्थनीय प्रशासनले विशेष कदम चाल्न अत्यावश्यक भएको स्थानीयहरूको माग छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?