पहिरोले दोलखाका सयौँ घर परिवार विस्थापित

हिमालय टाइम्स
Read Time = 5 mins
A A- A+

गोकर्णप्रसाद भण्डारी

दोलखा । दोलखाको विभिन्न क्षेत्रमा गएको पहिरो कारण सयौँ घरपरिवार विस्थापित बनेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांकअनुसार दोलखाको बिगु गाउँपालिका–४ सिङटीमा २६ घर पहिरोको जोखिममा परेको छ भने सयौँ संख्यामा स्थानीयहरू विस्थापित भएका छन् । त्यस्तै, तामाकोशी गाउँपालिकाको मालुखोलामा गएको पहिरोले रामबहादुर खड्का, टीकामाया गोले, लिलामाया दर्जी, गंगा बुढाथोकी, सूर्यबहादुर श्रेष्ठ, पवन गोले, मेगबहादुर श्रेष्ठ, योग श्रेष्ठ, नहन गोले र भुवन श्रेष्ठको घर बाढीले बगाएको छ । १२ जनाको घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले बताउनुभयो ।

त्यस्तै, कालिञ्चोक गाउँपालिका–५ लापिलाङमा पनि गत वर्षदेखिकै पहिराले एक सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन् भने कालिञ्चोक गाउँपालिका–७ कात्तिकेमा पनि दर्जनौँ घर परिवार पहिरोको जोखिममा परेको बताइएको छ । त्यस्तै, तामाकोसी गाउँपालिकामा मानेडाँडा टोल, झुले, जफे लगायतका स्थानहरूमा पनि पहिरोबाट स्थानीय विस्थापित बनेका छन् । मेलुङ गाउँपालिकाको जोगिडाँडा, बाँसबोटे, साउनेटोल, कलकले, गोलेगाउँ, थामीडाँडा, लामाटार लगायतका स्थानहरूमा पनि पहिरोले दर्जनौँ घरका स्थानीयहरू विस्थापित बनेको बताइएको छ । लगातारको वर्षाका कारण जिरी नगरपालिकामा २६ घर पहिरोबाट विस्थापित बनेका छन् भने शैलुङ गाउँपालिकाको पोखरे, चिलाउनेखर्क, खोरन्डे, फलाटे, दाङटोल, पहरीखर्क, भैसे, तामचेत लगायतका स्थानको दर्जनौँ घर पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोबाट क्षति पुगेका घरहरूका स्थानीयहरूलाई स्थानीय सरकार र स्थानीय प्रशासनको समन्वयमा नेपाल रेडक्रस सोसाइटी लगायतका संघ संस्थाको सहयोगमा त्रिपालहरू वितरण गरी अस्थायी बस्ने प्रबन्ध मिलाएको छ भने कतिपय स्थानीय बासिन्दाहरू सुरक्षित हिसाबले छिमेकीको घर र स्थानीय विद्यालयमा बसोबास गरिरहेका छन् ।

जिल्लाको कालिञ्चोक गाउँपालिकामा सबैभन्दा ठूलो पहिरो गएको छ । गत वर्षकै पहिरो नियन्त्रणमा नआउँदा यहाँ यो वर्ष पनि थपिएको स्थानीयले बताएका छन् ।

पहिरोमा विस्थापित नागरिकहरूलाई सरकारी तवरबाट उचित ब्यवस्थापन नहुँदा नागरिकहरूले अत्यन्तै कष्टकर जीवनयापन गरिरहेको कालिन्चोक गाउँपालिका–५ का वडा अध्यक्ष सहदेव खड्काले बताउनुभयो । खड्काका अनुसार पहिरो रोकथामका लागि संघीय सरकार र प्रदेश सरकारले दीर्घकालीन योजनाका लागि बजेट विनियोजन नभए सधँै नै पहिरोको समस्या आइरहने उहाँको भनाइ छ ।

दोलखाका गौरीशंकर गाउँपालिका, बैतेश्वर गाउँपालिका भीमेश्वर नगरपालिकामा पनि केही स्थानीयहरूको घरमा क्षति पुगेको छ ।

क्याप्सन : दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङमा पहिरोले क्षति पुर्याएको कुमार खड्काको पक्की घर र पहिरो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?