बारीमा खुर्सानी कुहिएर चिन्तित बनेका कृषक संकलन केन्द्रले उत्साहित

हिमालय टाइम्स
Read Time = 8 mins

-रामचन्द्र रायमाझी

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाका कृषक देवी पाण्डेले दुई हप्ताअघि ५० हजारको खुर्सानी बारीमै कुहाउनुप¥यो । खुर्सानीबाट आम्दानी लिन सुरु भए पनि बजार भाउअनुसार बिक्री नहुँदा बारीमै कुहिन पुग्यो । ‘बजारमा पठाए पनि खुर्सानी बिक्री हुन सकेन,’ उहाँले भन्नुभयो, ‘एक बिघा क्षेत्रफलमा खुर्सानी लगाएको थिएँ तर खुर्सानी बिक्री नै हुन सकेन र सबै बारीमै कुहियो । कतिपय छिमेकीले त्यसै लगे, त्यति गर्दा पनि नसकिएपछि बारीमै सोत्तर भएर गयो ।’ ‘कुहिएको गनाएर बारीमा जान सक्ने अवस्था भएन,’ उहाँले भन्नुभयो । केही दिनअघिदेखि गाउँमै खुर्सानी संकलन तथा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि भने बाँकी खुर्सानी बिक्री गर्न पाउँदा राहत मिलेको पाण्डेले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘यो केन्द्र पहिले नै खुलेको भए ५० हजारको खुर्सानी कुहाउनु त पर्ने थिएन ।’ त्यसो त उहाँमात्र हैन रिब्दीकोट गाउँपालिकाभित्रका खुर्सानी कृषकहरूले मूल्य नपाएर बारीमै खुर्सानी कुहाउनुपर्दा चिन्तित बनेका बेला गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि भने उत्साहित भएका छन् । गत वर्ष २८० रुपैयाँ किलोमा बिक्री भएको अकबरे खुर्सानी अहिले बिक्री नभई बारीमै कुहिन थालेपछि यहाँका कृषकहरू चिन्तित बनेका थिए । अहिले गाउँमै सञ्चालन भएको अकबरे खुर्सानी संकलन तथा प्रशोधन उद्योगमा बारीमा कुहिन थालेको खुर्सानी बिक्री गर्न पाएपछि कृषकहरू खुसी भएका हुन् ।

गाउँकै संकलन केन्द्रमा कृषकहरूले प्रतिकिलो एक सय रुपैयाँमा अहिले अकबरे खुर्सानी बिक्री गरिरहेका छन् । उत्पादन भएको खुर्सानी गाउँघरमै एक सय रुपैयाँमा बिक्री गर्न पाउँदा आफूहरूलाई ठूलो राहत मिलेको रिब्दीकोट-२ देउरालीका कृषक दीपक पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई–चार किलो खुर्सानी लिएर बजार जान पनि सकिएन, घरमा आएर कसैले किन्ने अवस्था भएन । बारीमा अन्य कृषि उत्पादन लगायो जंगली जनावर बाँदर, दुम्सी, मृग, बँदेलले सिध्याइदिन्छन्, नखाने यही खुर्सानी हो तर उत्पादन भएको खुर्सानीसमेत बिक्री नहुँदा हामी चिन्तित बनेका थियौँ, अहिले गाउँमै संकलन केन्द्र सञ्चालन भएपछि भने उत्साहित छौँ ।’

बजारमा प्रतिकिलो ८० रुपैयाँमा बिक्री हँुदै आएको अकबरे खुर्सानी रिब्दीकोट संकलन केन्द्रले कृषकहरूबाट प्रतिकेजी एक सय रुपैयाँमा खरिद गरेको छ । पहिलो दिन संकलन केन्द्रमा रिब्दीकोट-७ पालुङ मैनादीका कृषकहरूले करिब १५० किलो अकबरे खुर्सानी बिक्री गरेका छन् । गाउँपालिकालाई कृषि उत्पादनमार्फत् परिचित गराउने अभियान पालिकाका आठवटै वडामा अकबरे खुर्सानी अभियान चलाएका निवर्तमान पालिका अध्यक्ष नारायणबहादुर जिसी स्थानीय निर्वाचनमा पराजित भएसँगै संकलन केन्द्र सञ्चालन गरी कृषकहरूसँग जोडिनुभएको छ ।

कृषकहरूको उत्साह र मिहिनेतलाई ऊर्जाशील बनाइराख्न निवर्तमान पालिका अध्यक्ष जिसी, अकबरे खुर्सानीका अभियन्ता जनक आचार्य, कृषक दीपक पाण्डेलगायतका कृषक तथा पूर्वजनप्रतिनिधि मिलेर अकबरे खुर्सानी संकलन केन्द्र सञ्चालन गर्नुभएको हो । ‘स्थानीय निर्वाचनमा पराजित भइयो, पराजित भए पनि जनतासँगको सम्बन्ध सुमधुर राख्नुपर्छ, विगतमा पालिकाले चलाएको अभियानलाई सफल बनाउनुपर्छ, कृषकहरूको हौसल्ला बढाउनुपर्छ, अन्य खेती जंगली जनावरका कारण हँुदैन, बारीमा लगाएको खुर्सानीसमेत बिक्री नभएर कुहिने अवस्था सिर्जना नहोस् भनेर नै अकबरे खुर्सानी संकलन तथा प्रशोधन उद्योग सञ्चालनमा ल्याएका हौँ,’ जिसीले भन्नुभयो । बुटवल, पोखरा, काठमाडौं जस्ता शहरमा चाउचाउ, मसला उद्योगमा सम्पर्क गरी संकलित खुर्सानी बिक्री गर्ने व्यवस्थापन मिलाइएको व्यवस्थापक जिसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आउँदा दिनमा खुर्सानीलाई विविधीकरण गर्दै, सुकाउने, अचार तथा पाउडर बनाउने काम गर्नेछौँ ।’ अहिले कृषकहरूबाट खरिद गरेको खुर्सानी नबिग्रियोस् भनी कोल्डस्टोरमा राखिएको व्यवस्थापक जिसीले बताउनुभयो ।

गत आर्थिक वर्षमा गाउँपालिकाले रिब्दीकोटलाई अकबरे खुर्सानीमय बनाउने अभियानका साथ पाँच सय कृषकहरूलाई ६० प्रतिशत अनुदानमा खुर्सानीको बिउ र मल्चिङ प्लास्टिक दिएको र विषादीहरू निःशुल्क प्रदान गर्नुका साथै कृषकहरूलाई चाहिने प्राविधिक सहयोग पनि पालिकाबाट निःशुल्करूपमा प्रदान गर्दै आएको पालिका कृषि शाखा प्रमुख रञ्जित कुँवरले बताउनुभयो । गाउँपालिकाभरि पाँच सय कृषकहरूले सात सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी लगाएको, सात लाख किलो खुर्सानी उत्पादन हुने लक्ष्य राखिएको कृषि प्रमुख कुँवरले बताउनुभयो ।

गत वर्षभन्दा मूल्य कम भए पनि एक सय रुपैयाँमा अकबरे खुर्सानी बिक्री गर्दा कृषकलाई फाइदै रहेको उहाँले बताउनुभयो । गत वर्षसम्म उत्पादनअघि नै विभिन्न पिरो चाउचाउ उत्पादक कम्पनीले खुर्सानीको मूल्य २८० रुपैयाँ तोकी खरिद गरेका थिए । यस वर्ष भने अकबरे खुर्सानीको उत्पादन बढी भएपछि अकबरेको बजार भाउ १४० प्रतिशतले घटेको छ ।

जताततै बजार मूल्य आकाशिएको समयमा कृषकबाट उत्पादित अकबरे खुर्सानीको मूल्य भने दोब्बरले घटेको छ । सरकारले कृषिजन्य उत्पादनको प्रदेशअनुसारको अग्रिम समर्थन मूल्य कायम गर्नुपर्ने कृषकहरूको माग रहेको छ । यहाँका आठवटै वडासँगै जिल्लाको बगनासकाली, माथागढी, तिनाउ, रैनादेवी छहरा र तानसेन नगरपालिकामा अकबरे खुर्सानी उत्पादन हुँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?