फुटबल खेल्न साम्बा भारत जाँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । व्यावसायिक फुटबल खेल्न राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण खेलाडी तथा सावित्रा भण्डारी ‘साम्बा’ शनिबार भारत प्रस्थान गर्न लाग्नुभएको छ । साम्बाले भारतीय क्लब गोकुलम केरेला एफसीमा त्यहाँ व्यावसायिक फुटबल खेल्नुहुनेछ ।

सावित्राले गतमहिनामात्रै एक वर्षका लागि क्लबसँग सम्झौता गर्नुभएको थियो । क्लबलाई दुई वर्षअघि सावित्राले सानदार प्रदर्शन गर्दै भारतको महिला लिगको उपाधि जिताउनुभएको थियो । सावित्राले लिगका सबै खेलमा गोल गर्नुभएको थियो । प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै उहाँले १६ गोल गर्नुभएको थियो ।

सन् २०१९ मा पहिलो पटक सावित्राले सेथु एफसीबाट खेल्दा पनि टोलीलाई च्याम्पियन बनाउनुभएको थियो । त्यसबेला उहाँले १४ गोल गर्नुभएको थियो । घुँडाको चोटका कारण कतारमा शल्यक्रिया गरेर आएपछि साम्बा पहिलोपल्ट भारतमा लिग खेल्न जान लाग्नुभएको हो ।

सावित्राले गोकुलमबाट यसै महिना हुने एएफसी वुमन्स क्लब च्याम्पियनसिप खेल्नुहुनेछ । उज्बेकिस्तानमा हुने पश्चिम क्षेत्रको समूह चरणको खेल अगस्ट २० देखि २६ सम्म हुनेछ । भारतको च्याम्पियन गोकुलमसँगै यस समूहमा उज्बेकिस्तानको सोग्दियाना, जोर्डनको अर्थडक्स क्लब र इरानको क्लब खातुन बाम एफसी छन् । सावित्रा समूह चरण समाप्त भएपछि नेपाल फर्कने कार्यक्रम छ ।

वरीयता खस्कियो
यता नेपाली महिला राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता भने खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।

नयाँ वरीयतामा नेपाल १०२औं स्थानमा छ । अघिल्लो पटकको वरीयतामा नेपाल १०१औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औं स्थानमा छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा अघि रहेको भारत ५८औं स्थानमा छ ।

विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ । यस्तै जर्मनी दोस्रो स्थानमा रहँदा स्विडेन तेस्रो स्थानमा झरेको छ । इंग्ल्याण्ड चौथो र फ्रान्स पाँचौं स्थानमा छ । त्यस्तै नेदरल्याण्ड छैटौं, क्यानडा सातौं, स्पेन आठौं, ब्राजिल नवौं र उत्तर कोरिया १०औं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?