केन्यासँग नेपालले क्रिकेट सिरिज खेल्ने

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग पाँच टी-२० र तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले अगष्ट चौथो सातादेखि केन्यामा नै गएर नेपालले उक्त सिरिज खेल्ने भएको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केन्यासँग खेल्ने पक्का भएको र त्यसको आन्तरिक तयारी थालिएको जनाउनुभएको छ । उहाँले एकिन मितिका बारेमा छलफल जारी रहे पनि अगष्ट चौथो सातादेखि सिरिज हुने जनाउनुभएको छ । सोही समयमा नेपाली कप्तान सन्दीप लामिछानेको क्यारेबियन प्रिमियर लिग (सिपिएल)का खेलहरू पनि रहेकाले उक्त समय पनि मिलाउने प्रयास भइरहेको क्यानले जनाएको छ । सिपिएल ३१ अगष्ट देखि सुरु हुनेछ । सन्दीपले जमैका तलवाजबाट सिपिएल खेल्नेछन् ।

केन्या एसोसिएट टोलीको सर्वाधिक सफल देश हो । केन्याले सन् १९९६ देखि २०११ सम्म लगातार पाँच पटक एकदिवसीय विश्वकप खेलेको थियो । केन्याले सन् २००० देखि २००४ सम्म गरी तीन पटक च्याम्पियन्स ट्रफी खेलेको थियो । पछिल्लो एक दशकमा भने केन्याको स्तर धेरै खस्किएको छ । असल नेतृत्व र आन्तरिक राजनीतिको कारण कमजोर बन्दै गएको छ ।

नेपाल र केन्या दुवैले २०२३ मा हुने एकदिवसीय विश्वकप छनोट चरण खेलिरहेका छन् । नेपालले माथिल्लो स्तरको खेल्दा केन्याले सबैभन्दा तल्लोक्रमको छनोट खेलेको छ । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्दै आएको छ । केन्याले क्रिकेट विश्वकप च्यालेन्ज लिग बी खेलेको छ । जसमा केन्या, हङ्कङ, इटाली, बर्मुडा, जर्सी र युगाण्डा छन् ।

सन् २०२४ मा अमेरिका र वेस्टइण्डिजमा हुने टी-२० विश्वकपमा वरियताको शीर्ष दुई टोलीले सोझै विश्वकप खेल्न पाउने प्रावधान रहेकाले नेपालका लागि केन्यासँगको सिरिज महत्वपूर्ण हुनेछ । वरियता २०२२ नोभेम्बर १४ सम्मलाई आधार मानिनेछ । आगमी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकपबाट शीर्ष आठ टोली सोझै छनोट हुने छन् । टी-२० वरियतामा ती आठ देशबाहेक शीर्ष वरियतामा रहेका दुई टोलीले सोझै विश्वकप खेल्नेछन् । अमेरिका र वेष्टइण्डिज सोझै छनोट भएका छन् । यदि वेष्टइण्डिज शीर्ष आठमा परेको खण्डमा वरीयताबाट थप तीन टोलीले विश्वकप खेल्न पाउनेछन् ।

नेपाल हाल टी-२० आई वरियता भने १३औं स्थानमा छ । १२औं स्थानमा युएई, जिम्बावे ११औं, बंगलादेश १० औं, नवौं स्थानमा अफगानिस्तान छन् ।

केन्यासँग सिरिज हुने भएपछि नेपाली खेलाडीसमेत उत्साहित छन् । नेपालको एकदिवसीय स्टाटसका लागि यो सिरिज महत्वपूर्ण हुने कप्तान सन्दीप लामिछाने बताउनुहुन्छ । केन्याविरुद्ध सकरात्मक नतिजाले नेपाली क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो ।

सन्दीप बिबिएलको ड्राफ्टमा
यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बिग ब्यास लिग (बिबिएल) २०२२/२३ को संस्करणको लागि ड्राफ्मा पर्नुभएको छ । बिग ब्यासले सार्वजनिक गरेको नयाँ डाफ्टमा सन्दीप नेपालबाट पर्ने एकमात्र खेलाडी हुनुहुन्छ । अन्य एसोसिएट देशबाट नामिबियाबाट डेविड विजा, स्कटल्याण्डका माइकल जोन्स, मार्क वाट्ट, युएईबाट वृत्य अरविन्द, अमेरिकाबाट अली खान, उन्मुक्त चन्द र हम्रित सिंह बधान रहनुभएको छ ।

बिग ब्यासको ड्राफ्ट आगमी अगष्ट २८ मा सिड्नीमा हुनेछ । डाफ्टमा १३ देशबाट कुल १६९ खेलाडीले नाम दर्ता गराएका छन् । सन्दीपले यसअघिका दुई संस्करणका विग ब्यास लिग भने होबार्ट हरिकेन्सबाट खेल्नुभएको थियो । २०२१/२२ को सिजनमा सन्दीपले १४ खेलमा १४ विकेट लिनुभएको थियो । २०२०/२१ को वर्षमा ८ खेलमा ८ विकेट लिनुभएको थियो ।

सुरुवाती दुई सिजन सन्दीपले मेलबर्न स्टार्सबाट खेल्नुभएको थियो । सन्दीपले बिग ब्यासमा हालसम्म ४३ खेलमा १५९.५ ओभर बलिङ गर्दै ७.४२ को इकोनमीमा रन खर्चिँदै कुल ४८ विकेट लिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?