सहकारीका लागि कोप कार्ड सेवा सुरु

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड(एससिटी) बैंक तथा वित्तीय संस्थालाई एटिएम कार्ड सेवा उपलब्ध गराउँदै आएको सहकारीका लागि सहकारी पहिचानसहितको कोप कार्डको सेवा उपलब्ध गराएको छ । राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंकको २०औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा कोप कार्डको शुभारम्भ गरिएको हो ।

विगत केही समयअघिदेखि एससिटीले सयभन्दा बढी सहकारीलाई कार्ड सेवा प्रदान गरिसकेको भए पनि अझ प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पुर्‍याउन राष्ट्रिय सहकारी बैंकसँगको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीलाई एउटै ब्रान्डको कोप कार्ड जारी गरी सञ्चालनमा ल्याउन लागेको छ । कोप कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेस प्रविधिमा आधारित हुने र नेपाल तथा भारतका एटिएम÷पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने बताइएको छ ।

कार्ड शुभारम्भ गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता एवं विकासमार्फत् उपलब्ध साधन स्रोतको अधिकतम् परिचालनद्वारा तीव्र आर्थिक वृद्घि हासिल गर्दै दिगो आर्थिक विकासको लक्ष्य सरकारले लिँदै आएको बताउनुभयो । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले सहकारीमा प्रविधिको महत्व र उपयोगिताबारे प्रतिवेदन प्रस्तुत गर्दै कोप कार्ड सेवाद्वारा सहकारीलाई विद्युतीय कारोबारका लागि थप प्रविधियुक्त सुविधा दिँदै जाने र सहकारीलाई अझ सवल बनाउँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिजका अध्यक्ष सुमन पोखरेलले पनि कोप कार्डबारे चर्चा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?