पहिलो चलचित्र ‘हरिश्चन्द्र’ होइन ‘सत्य हरिश्चन्द्र’

Read Time = 21 mins

✍️ विष्णुप्रसाद सुवेदी

पहिलो नेपाली चलचित्र कुन हो ? इतिहासका जानकारहरूको मत विभाजित छ । केहीले ‘सत्य हरिश्चन्द्र’ पहिलो नेपाली चलचित्र भनेका छन् भने केहीले ‘आमा’ लाई पहिलो नेपाली चलचित्र भनेका छन् । ‘सत्य हरिश्चन्द्र’ २००७ सालमा निर्माण भएको हो भने ‘आमा’ २०२२ सालमा । तर, ‘सत्य हरिश्चन्द्र’ नेपाली हो वा होइन भन्ने अन्योलका कारण पहिलो चलचित्र कुन भन्ने निक्र्योल हुन नसकेको हो ।

चलचित्र पत्रकारिता गरिरहेको यो पंक्तिकारलाई २०७८ को वैशाखमा नारायणहिटी दरबार संग्रहालयभित्र रहेका रिलहरूमध्ये एउटा रिलको डब्बामा ‘हरिश्चन्द्र’ लेखिएको सूचना प्राप्त भयो । तर, त्यो रिल पहिलो नेपाली चलचित्र दाबी गरिएको ‘सत्य हरिश्चन्द्र’ को हो वा ‘हरिश्चन्द्र’ नामको भिन्नै चलचित्र हो भन्ने टुंगो लागेको थिएन ।

नेपाली चलचित्रको इतिहासको रिसर्च गर्नेक्रममा प्राप्त यो सूचना पहिलो चलचित्रको यथार्थसम्म पुग्नका लागि महत्वपूर्ण ‘क्लु’ थियो । यही सूचनालाई पछ्याउँदै जाँदा यतिबेला केही नयाँ तथ्यहरू भेटिएका छन् ।

ती तथ्यहरूले पहिलो नेपाली चलचित्र ‘सत्य हरिश्चन्द्र’ नभएर ‘हरिश्चन्द्र’ मात्र भएको र उक्त चलचित्र नेपाली नै भएको पुष्टि गर्छ । यस्तै चलचित्रका निर्देशकका बारेमा पनि केही अन्योल देखियो । ‘सत्य हरिश्चन्द्र’ लाई पहिलो चलचित्र मान्नेहरू यसका निर्देशक डिबी परियार (दिव्यचन्द्र विक्रम परियार) भएको दाबी गर्छन् । तर, प्राप्त तथ्यले चलचित्रका निर्देशक ‘संघ रथी’ रहेको पुष्टि हुन्छ ।

आजसम्म नेपाली चलचित्रको इतिहास लेख्नेहरू सबैले पहिलो चलचित्रको नाम ‘सत्य हरिश्चन्द्र’ लेखे । यतिसम्म कि ‘हरिश्चन्द्र’ नाममा एक पोस्टर र कलाकार माग गरिएको एक विज्ञापन पनि भेटिएको थियो । त्यसलाई धेरैले बेवास्ता गरे ।

अब भने यो चलचित्रको रिल नै भेटिएको छ । चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष दयाराम दाहालसहितको टोलीले रिलको अनुगमन पनि गरिसकेको छ । रिलको प्रारम्भिक अध्ययनपछि दाहाल उक्त रिलका आधारमा ‘हरिश्चन्द्र’ नेपाली भएको आधार मिलेको बताउनुहुन्छ । उहाँले रिल एकदमै कमजोर भएकाले तत्काल प्रोजेक्सन गरेर हेर्न सकिने अवस्थामा भने नरहेको जनाउनुभयो । तर, क्रेडिट रोल हेर्दा नेपाली चलचित्र नै भएको मान्न सकिने उहाँको भनाइ छ । रिलको प्रारम्भिक अध्ययन र यसअघि प्राप्त तथ्यहरूलाई केलाउँदा ‘सत्य हरिश्चन्द्र’ दाबी गरिएको चलचित्र ‘हरिश्चन्द्र’ भएको प्रमाणित गर्ने केही आधारहरू भेटिए ।

१. चलचित्रको क्रेडिट रोलमा पनि चलचित्रको नाम ‘हरिश्चन्द्र’ उल्लेख हुनु ।
२. चलचित्र निर्माणपूर्व कलाकार माग गरी प्रकाशित विज्ञापनमा पनि चलचित्रको नाम ‘हरिश्चन्द्र’ उल्लेख हुनु ।
३. चलचित्रको पहिलो दृश्य नै पशुपतिनाथ मन्दिरको हुनु ।
४. चलचित्रमा नेपाली संवाद लेखककारूपमा डिबी परियारको नाम उल्लेख हुनु ।
५. कलाकार तथा प्राविधिकको नाम नेपालीमै लेखिनु ।
६. तत्कालीन शाही नेपाल संस्थानका कार्यकारी अध्यक्ष यादव खरेलले संस्थानले प्रिन्ट खरिद गरी दरबारमा पठाएको जानकारी दिनु ।
७. यसअघि नै भेटिएको एक पोस्टरमा पनि चलचित्रको नाम ‘हरिश्चन्द्र’ उल्लेख हुनु ।

डिबी परियारबारे अध्ययन गर्नुभएका शंकर तिवारीले अन्नपूर्ण पोस्टको अनलाइन संस्करणमा ३१ असार २०७४ मा प्रकाशित ‘हरिश्चन्द्र निर्देशनको साँचो कथा’ शीर्षकको आलेखमा प्रमाणका रूपमा सन् १९५१ मा आसामबाट प्रकाशित हुने ‘पागल’ सचित्र हिन्दी सिने मासिकको अक्टोबर अंकको अन्तिम पानामा छापिएको विज्ञापन पनि समावेश गर्नुभएको छ । जुन विज्ञापनमा पनि चलचित्रको नाम ‘हरिश्चन्द्र’ उल्लेख छ । यो विज्ञापनलाई लक्ष्मीनाथ शर्मा लिखित चलचित्र विकास बोर्डको पुस्तक ‘नेपाली चलचित्रको इतिहासमा’ पनि उल्लेख गरिएको छ ।

यस्तै, २०६४ मा मार्टिन चौतारीले गरेको नेपाली चलचित्रको आरम्भ, मिडिया अध्ययन-२ मा अनुभव अजितले कलाकार छनोटबारे उल्लेख गरेको प्रसंगमा लेख्नुभएको छ, ‘निर्देशक डिबी परियारका भाई मंगलदेव परियारको भनाइअनुसार ‘सत्य हरिश्चन्द्र’ को निर्माण कार्यअघि कलकत्ताका विभिन्न पत्रपत्रिकामा ‘प्रथम नेपाली फिल्म ‘सत्य हरिश्चन्द्र’ का लागि कलाकारहरूको आवश्यकता छ’ भन्ने विज्ञापन प्रकाशित गरिएकोमा त्यति धेरै निवेदन आएनन् ।’ मंगलदेवको भनाइले पनि उक्त विज्ञापनलाई पुष्टि गर्छ ।

केही वर्षअघि चलचित्रको एउटा पोस्टर भेटिएको थियो । उक्त पोस्टरमा पनि चलचित्रको नाम ‘हरिश्चन्द्र’ उल्लेख छ । कतिले उक्त पोस्टरका आधारमा ‘हरिश्चन्द्र’ नेपाली नभएको पनि तर्क गरे । किनकि पहिलो चलचित्र सत्य हरिश्चन्द्र भनिएको थियो भने उक्त पोस्टरमा हरिश्चन्द्रको तल नेपालीमै लेखिएको थियो । पोस्टरको रहस्य खुल्दै जाँदा उक्त पोस्टर भारतीय वितरकले भारतका विभिन्न स्थानमा चलचित्र प्रदर्शन गर्दा तयार पारेको खुल्न आयो ।

धेरैले ‘हरिश्चन्द्र’ लाई नेपाली डब चलचित्र पनि भनेका छन् । तर, यो चलचित्र नेपाली डब नभएर नेपाली भाषामै निर्माण गरिएको चलचित्र भएको पुष्टि हुन्छ ।

सन् १९१३ सालमा निर्मित भारतको प्रथम चलचित्र ‘राजा हरिश्चन्द्र’ लाई नै नेपालीमा डब गरेको भन्ने धेरैको तर्क पनि छ । तर, ‘राजा हरिश्चन्द्र’ साइलेन्स चलचित्र थियो । सन् १९२७ मा बनेको अमेरिकन चलचित्र ‘ज्याज् सिंगर’ बाट मात्रै चलचित्रमा ध्वनि समावेश हुन सुरु भएको हो । यसर्थ सन् २०१३ मै बनेको भारतीय चलचित्रको नेपाली डब भन्ने कुरामा कुनै पनि तुक भेटिँदैन ।

त्यसो त ‘हरिश्चन्द्र’ नेपाली भाषामै बनेको चलचित्र हो भन्ने केही आधारहरू भेटिएका छन् । पहिलो तथ्य त के भने यसको क्रेडिट रोलमै नेपाली संवाद लेखकका रूपमा डिबी परियारको नाम छ । एसपी मुखर्जीको पटकथा रहेको चलचित्रको क्रेडिट रोलमा नेपालीबाहेक अन्य भाषामा संवाद लेखिएको उल्लेख छैन । जसका कारण पनि यो चलचित्र नेपाली भाषामा बनेको देखिन्छ ।

चलचित्र लेखक तथा निर्देशक यादव खरेल पनि ‘हरिश्चन्द्र’ नेपाली चलचित्र नै भएको दाबी गर्नुहुन्छ । २०२८-०२९ सालतिर आफू तत्कालीन शाही नेपाल चलचित्र संस्थानको कार्यकारी अध्यक्ष हुँदा छ हजार नेपाली रुपैयाँमा ‘हरिश्चन्द्र’ को रिल खरिद गरी नेपाल ल्याएको बताउनुहुन्छ । संस्थानले अर्काइभ गर्ने उद्देश्यले उक्त रिल खरिद गरी नेपाल ल्याएको हो । पछि तत्कालीन राजा वीरेन्द्रवीर विक्रम शाहदेवसँग दर्शनभेट पाउँदा उक्त चलचित्रबारे कुरा राखेको र वीरेन्द्रले चलचित्र हेर्ने इच्छा दर्शाएपछि रिल दरबार पठाएको खरेलको भनाइ छ । उहाँका अनुसार त्यतिबेला नारायणहिटी दरबारभित्रको चलचित्र हलमा हरेक शुक्रबार चलचित्र प्रदर्शन हुने गथ्र्यो । यसरी राजदरबारमा पठाएको रिल दरबारले फिर्ता लान भनेन । संस्थानले पनि रिल फिर्ता चाहियो भनेर दरबारसँग माग्ने आँट नगरेको खरेलको भनाइ छ । उहाँ यतिबेला भेटिएको रिल आफूले दरबार पठाएकै रिल भएको बताउनुहुन्छ । त्यसो त खरेलले दरबार पठाउनुअघि आफूले चलचित्र हेरेको स्मरण गर्नुहुन्छ । आफूले चलचित्र हेर्दा उक्त चलचित्र नेपाली नै भएको पाएको उहाँको भनाइ छ ।

त्यसो त ‘राजा हरिश्चन्द्र’ र ‘हरिश्चन्द्र’ मा अभिनय गर्ने कलाकारहरू पनि फरक भेटिएका छन् । सन् १९९१ सालमा प्रकाशित ‘कामना सिने मासिक’ को वर्ष ६, अंक ५० मा छापिएको अन्तर्वार्तामा डिबी परियारले कलाकार फरक भएको तथ्यमा टेकेर ‘हरिश्चन्द्र’ हिन्दी डब चलचित्र नभएको तथ्य अघि सार्नुभएको छ । उहाँले उक्त अन्तर्वार्तामा भन्नुभएको छ, ‘डबिङ गर्दा त भाषामात्र फेरिन सक्छ, पात्र फेरिन सक्दैन, पात्रहरू नै नेपाली भएको चलचित्रलाई हिन्दी सिनेमाबाट नेपालीमा डब गरेको भन्ने आरोप लगाउन मिल्छ र ? सो अन्तर्वार्तामा उहाँले अघि थप्नुभएको छ, ‘मैले निर्माण गरेको ‘सत्य हरिश्चन्द्र’ मा प्रायः सबै जसो कलाकारहरू नेपाली मूलकै रहेका छन् । त्यसबखत चलचित्र निर्माण प्रविधिको ज्ञान भएका नेपाली कामदारहरू प्रायः नभएकाले मात्र मैले मुख्य–मुख्य प्राविधिकहरूचाहिँ भारतीय मूलका व्यक्तिहरूलाई साथ लिएर काम गरेको हुँ ।’ त्यसो त मिडिया अध्ययन-२ र चलचित्रको इतिहास नामक पुस्तकमा उल्लेख भएअनुसार चलचित्रमा अभिनय गर्ने कलाकारहरू दार्जिलिङ, कालिम्पोङ र कलकत्ताका नेपालीहरू नै थिए ।

यता, कामना सिने मासिकको २०४६ सालको वर्ष ५ अंक ४ मा ‘सत्य हरिश्चन्द्र’ को छायाँकन समयको एक तस्बिर प्रकाशित भएको छ । जसलाई कामविशेषले कलकत्ता पुगेका बालकृष्ण सम सुटिङस्थल पुगेर चलचित्रको सम्पूर्ण टोलीसँग खिचेको सामूहिक तस्बिर भनिएको छ । यो तस्बिरसँगै कामनाले मंगलदेव परियारको सविस्तार कुरा राखेको छ । उहाँका अनुसार विसं २००८ साल वैशाखतिर कलकत्ताको दक्षिणेश्वर मन्दिरभन्दा केही उत्तरतर्फ रहेको ‘इस्टर्न टाकिज स्टुडियो’ मा छायाँकन भइरहेका बेला नाटककार बालकष्ण सम, श्रीमती मन्दाकिनी सम, छोरी ज्वाला र कनक शमशेरका साथ अचानक पुगेको उल्लेख छ । कामनामा लेखिएको छ, ‘.... निर्देशक परियारबारे भन्नुभयो, ‘बालकै उमेरदेखि राजनीतिका साथै नाटक क्षेत्रमा पनि उल्लेखनीय सेवा गर्ने डिबी परियारजस्ता प्रतिभाशाली युवकले यसरी सर्वप्रथम नेपाली फिल्म बनाएकोमा हामी समग्र नेपालीले गौरव मान्नुपर्दछ । यो ऐतिहासिक एवं अविस्मरणीय घटना हो । परदेशको प्रतिकूल वातावरणसित जुधेर अनेकन् अप्ठ्यारा र बाधाबिघ्नसँग संघर्ष गर्दै परियारज्यूले हाम्रो कलाको सिमानालाई विश्व मानचित्रसित गाँसिदिनुभएको छ र उहाँ अमर बन्नुभएको छ ।’

‘नेपाली चलचित्रको इतिहास’ मा लक्ष्मीनाथ शर्माले बालकृष्ण सम छायाँकनस्थलमा पुगेको र चलचित्र हेरेको प्रसंगमा लेख्नुभएको छ, ‘तत्कालीन शाही नेपाल चलचित्र संस्थानको सञ्चालन समितिको सदस्य छँदा एक भेटमा कुराकानी गर्दै यो पुस्तकका लेखकलाई काठमाडौंमा उक्त चलचित्र हेरेका बालकष्ण समले के भनेका थिए भने, ‘केही कलाकार बंगाली भए पनि ‘सत्य हरिश्चन्द्र’ का प्रायः कलाकारहरू दार्जिलिङ र कलकत्तामा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरू थिए ।’ शर्मा अघि थप्नुहुन्छ, ‘साहित्यकार समद्वारा व्यक्त गरिएको उपरोक्त मन्तव्य ‘चलचित्रकला’ नामक विसं २०३८ सालमा साझा प्रकाशनद्वारा प्रकाशित पहिलो संस्करण तथा २०६७ सालमा जगदम्बा प्रकाशनद्वारा प्रकाशित संशोधित दोस्रो संस्करणको पुस्तकमा समेत उल्लेख भएको छ ।’ माथि उल्लेखित कुराहरूको अध्ययन गर्दा पनि ‘हरिश्चन्द्र’ पहिलो नेपाली चलचित्र भएको बलियो आधार देखिन्छ ।

डिबी परियार र संघ रथी एउटै कि फरक व्यक्ति ?
नारायणहिटी दरबार संग्रहालयमा प्राप्त चलचित्र ‘हरिश्चन्द्र’ को रिलमा स्पष्टसँग डाइरेक्टर ‘संघ रथी’ भनी लेखिएको छ । यस्तै प्राप्त एक पोस्टरमा पनि निर्देशकका रूपमा संघ रथी नै उल्लेख गरिएको छ । तर, आजसम्म चलचित्र ‘हरिश्चन्द्र’ का निर्देशक डिबी परियार भएको भनिँदै आएको थियो ।

यतिबेला पनि केहीले संघ रथी भनेकै डिबी परियार भएको बताइरहेका छन् । ‘नेपाली चलचित्रको इतिहास’ पुस्तकका लेखक लक्ष्मीनाथ शर्माले मंगलदेवको अन्तर्वार्तामा आधारित भई संघ रथी नै डिबी परियार भएको दाबी पेश गर्नुभएको छ । कामना सिने मासिकको २०४६ सालको वर्ष ५ अंक ४ मा मंगलदेव परियारको अन्तर्वार्ता प्रकाशित भएको छ । जहाँ उहाँले छायाँकार सुरेश दासले डिबी परियारलाई दिएको उपमा संघ रथी भएको उल्लेख गर्नुभएको छ । डिबी परियार राजनीतिक गतिविधिमा पनि संलग्न रहेको र चलचित्र बनाउने कार्यमा पनि उत्तिकै सक्रिय रहेको बखत उहाँको कार्यकुशलता देखेर छायाँकार सुरेश दासले संघ रथीको उपमा दिएको मंगलदेवको दाबी छ । उहाँको यही दाबीलाई आधारका रूपमा पेश गर्दै लक्ष्मीनाथ शर्माले संघ रथी भनेकै डिबी परियार भएको ठोकुवा गर्नुभएको छ । अझ उहाँले त छायाँकनको समयदेखि नै परियारलाई संघ रथीको नामले बोलाइने गरेकोसमेत जिकिर गर्नुभएको छ ।

त्यसो त सन् १९५१ मा आसामबाट प्रकाशित हुने ‘पागल’ सचित्र हिन्दी सिने मासिकको अक्टोबर अंकको अन्तिम पानामा प्रकाशित चलचित्रका लागि कलाकार मागसम्बन्धी सूचनामा पनि निर्देशकका रूपमा डिबी परियारकै नाम उल्लेख छ । तर, प्रश्न कहाँनेर हो भने डिबी परियार नै संघ रथी हो भने उहाँले एउटै चलचित्रको क्रेडिट रोलमा किन आफ्नो फरक फरक नाम पेश गर्नुभयो ? निर्देशकका रूपमा संघ रथी उल्लेख छ भने नेपाली सम्बाद लेखक र कमन्दुक पात्रको अभिनय गर्ने कलाकारका रूपमा डिबी परियार नै उल्लेख छ । यदि डिबी परियार नै संघ रथी हो भने किन उहाँले फरक फरक नाम क्रेडिट रोलमा लेख्नुभएको छ ? यसको जवाफ न त मंगलदेवले कतै दिनुभएको छ न त अरूले नै । यसर्थ चलचित्रको क्रेडिट रोल अध्ययन गर्दा पनि सहजैरूपमा डिबी परियार र संघ रथी फरक व्यक्ति हुन् भन्ने अनुमान लगाउन गाह्रो छैन ।

वरिष्ठ लेखक तथा निर्देशक यादव खरेल चलचित्रको क्रेडिट रोल नै आधिकारिक प्रमाण हुने बताउनुहुन्छ । उहाँ पनि एउटै चलचित्रको क्रेडिट रोलमा एउटै व्यक्तिको नाम फरक रहेको कुरालाई तथ्यपूर्ण मान्न नसकिने बताउनुहुन्छ ।

जसले जे तर्क पेश गरे पनि चलचित्रको रिल नै भेटिएको र चलचित्रका लागि त्यसको रिलभन्दा अर्को ठूलो प्रमाण कुनै नहुने हुँदा ‘हरिश्चन्द्र’ नेपाली चलचित्र भएको प्रमाणित हुन्छ । त्यसका अलावा ‘हरिश्चन्द्र’ लाई नेपाली चलचित्र मान्ने अन्य आधारहरू पनि माथि उल्लेख भइसकेका छन् । तर, ‘हरिश्चन्द्र’ का निर्देशक डिबी परियार नै हुनुहुन्छ भनेर मान्न सकिने अवस्था छैन । क्रेडिट रोलको अध्ययन गर्दा डिबी परियार र संघ रथी एउटै व्यक्ति हो भनेर आश्वस्त हुने प्रमाणहरूसमेत देखिएन ।

(सुवेदी डेढ दशकभन्दा बढी समयदेखि चलचित्र पत्रकारितामा संलग्न हुनुहुन्छ । चलचित्र पत्रकार संघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका सुवेदीले नेपालमा पहिलोपटक सम्पूर्ण नेपाली चलचित्रको विवरण संकलन गरी लेन्स नेपाल डटकममार्फत् प्रकाशनसमेत गर्नुभएको छ । उहाँ स्याटेलाइट टेलिभिजन टिभी फिल्मीमा समाचार प्रमुख तथा स्टेसन म्यानेजरसमेत भइसक्नुभएको छ ।)

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Dhojthapa
Dhojthapa
2022-08-07 10:02 am

यर्थाथताको नजिक रहेको विष्णुजीको खोजमूलक लेख

रिलेटेड न्युज

छुटाउनुभयो कि ?