मध्यरातमा खोलाको दोहन, बढ्यो नदीजन्य वस्तुको चोरी निकासी

हिमालय टाइम्स
Read Time = 6 mins

विवेक खड्का/हिटा
दाङ । बुधबार राति लु४त ८१०६ नं. को ट्र्याक्टर लमहीको अर्जुनखोलामा पस्छ । खोलाबाट ढुंगा बोकेर ल्याएर लमही नगरपालिका–६ देउपुरमा बिहान करिब ४ बजे ट्र्याक्टर आइपुग्छ । स्थानीयले घर बनाउन ढुंगा मगाएका थिए । खोलाबाट ल्याएको ढुंगा अनलोड गर्ने क्रममा लमही–६ मध्यनगरका १५ वर्षीय सुशान चौधरी ट्र्याक्टरबाट खस्नुहुन्छ । गम्भीर घाइते चौधरीको अस्पताल नपुग्दै बिहीबार बिहान निधन हुन्छ । ‘अर्जुनखोलाबाट ढुंगा ल्याएर झार्ने क्रममा चोट लाग्यो । रातिको समयमा ट्र्याक्टर ब्याक गर्ने बेलामा घटना भयो भन्ने बुझिएको छ’– वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्ज्वल थापाले भन्नुभयो, ‘रातारात नदीजन्य वस्तुको चोरी गर्नेहरूकै कारण एउटा बालकको मृत्यु भयो ।’ प्रहरी र स्थानीयको नजर छल्न रातिको समयमा देउखुरीमा राप्ती नदी, अर्जुनखोला र आसपासका अन्य खोलाहरूबाट ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन र ओसारपसार बढ्दै गएको छ । यो समस्या जिल्लाका अन्य नदी र खोलामा पनि भइरहेको छ ।

नदीजन्य पदार्थको उत्खनन अहिले बन्द छ । सरकारले असार, साउन र भदौमा नदीजन्य वस्तुको उत्खननमा रोक लगाएको छ । तर, दाङमा नदीजन्य वस्तुको चोरी निकासी भित्रभित्रै भइरहेको छ । । यसको एउटा नमुना हो लमहीको मध्यनगर घटना ।

स्थानीय सरकारले असोजबाट नदीजन्य वस्तु उत्खननका लागि ठेक्का आ≈वान गर्छन् । मध्यवर्षा चलिरहेकाले यतिबेला खोलामा ठेक्का लगाउने काम हुन सक्दैन । वर्षा सकिएपछि वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्रै नदीजन्य वस्तुको उत्खनन गरिन्छ । प्रक्रियागत रूपमा उत्खनन् गर्न अझै डेढ महिनाजति बाँकी नै छ । त्यसैले यतिबेला चोरी निकासी हुन थालेको हो । ‘उपभोक्तालाई ढुंगा, गिट्टी, बालुवा चाहिन सक्छ, स्टकबाटै पूर्ति गर्नुपर्छ । तर, स्टकभन्दा पनि रातारात खोलाबाट निकालेर बेच्ने क्रम बढ्न थालेको छ’- लमही-६ का हरिराज धितालले भन्नुभयो, ‘बर्खामा उत्खनन गर्दा प्राकृतिक प्रकोप बढ्ने खतरा हुन्छ । यसमा सरोकारवालाहरूले ध्यान दिनुपर्छ ।’

बालुवा बोकेका ट्र्याक्टर नियन्त्रण
वडा प्रहरी कार्यालय लमहीले बुधबार राति गस्ती निकाल्यो । प्रहरीको भ्यान देख्नेबित्तिकै अवैध ओसारपसारमा संलग्न रहेकाहरू सतर्क रहने गर्छन् । यस्तो अवस्थामा प्रहरीले बाटो कुरेर बस्यो । बालुवा बोकेका दुईवटा ट्र्याक्टरलाई रातिको समयमा नियन्त्रणमा लिन सफल भएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।

रा१त ३४७० र रा१त २७४९ नम्बरको ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘ढुंगाजन्य वस्तुको चोरी निकासी बढेको सूचनाको आधारमा गस्तीमा जाँदा दुईवटा ट्र्याक्टर फेला पा¥यौँ’– थापाले भन्नुभयो, ‘कारबाहीका लागि नगरपालिकालाई जानकारी गराएका छौँ ।’

गाउँमा बालुवाको थुप्रो
राप्ती नदीबाट बालुवा चोरेर विभिन्न स्थानमा थुपारेर राखेको पाइएको छ । त्यही थुप्रोबाट कतिपयले महंगोमा बालुवा बिक्री गर्ने र नाफा कमाउने गरेका छन् । लमही नगरपालिका-९ को भत्तरकुण्डामा यस्तै थुप्रो फेला परेको छ तर त्यो थुप्रोबाट बालुवा बिक्री वितरण गरेर स्थानीयले कमाउधन्दा चलाएको स्रोतले दाबी छ ।

स्थानीय तहले अनुगमन गरेर नियमन गर्ने काम पनि गरेका छैनन् । यति मात्रै होइन गत असार ३१ गते गढवा-६ का विभिन्न स्थानका सडकमा खाडल पुर्न ट्र्याक्टरबाट गिट्टी ल्याउने र पुर्ने सहमति भयो । रा१त ४२४४ ट्र्याक्टरबाट गिट्टी बोक्न थालियो तर सडक पुर्न ल्याएको गिट्टी व्यक्तिको घर बनाउन झारेपछि प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लियो । थप कारबाही र जरिवानाको लागि गाउँपालिकालाई जिम्मा दिइयो । ‘असारमा खोलामा ट्र्याक्टर पठाउने, ढुंगाजन्य वस्तु उठाउने काम भएपछि हामीले सवारीसाधन नियन्त्रणमा लिएका थियौं ।

कारबाही गर्ने अधिकार स्थानीय सरकारलाई भएकाले हामीले जरिवाना काटेर आएपछि छाड्ने गरेका छौँ’- इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले भन्नुभयो, ‘गुनासा आएका ठाउँमा प्रहरी पुग्छ । अवैध काम भएको रहेछ भने नियन्त्रणमा लिने काम गर्छौं ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?