काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावपछि दुईतिहाइ बहुमत प्राप्त गर्न नसके पनि मिहिनेत गरेर बहुमतको सरकार बनाउन सक्ने दाबी गर्नुभएको छ । आफ्नो चाहनाअनुसार काम गर्न दुईतिहाइको बहुमत चाहिने भए पनि अहिले इमानदारीसाथ काम गरेर बहुमत प्राप्त गर्न सकिने उहाँले बताउनुभयो । काठमाडौंमा शुक्रबार भएको कार्यक्रमा उहाँले भन्नुभयो, ‘केन्द्रमा एकल बहुमतको सरकार बनाउनुपर्यो । प्रदेशमा बहुमतको सरकार बनाउनुपर्यो ।’ एमाले अध्यक्ष ओलीले अहिलेको सरकार ट्र्याक्टर जस्तो भएको बताउनुभयो । ‘बनाउन हामीले ट्र्याक्टर बनाएका छौँ, परिकल्पना चाहिँ हेलिकप्टर जस्तो गर्छौं, यो ट्र्याक्टर भुरुर्र उडेर पर गएर डाँडामा बस्दिए हुन्थ्यो भन्छौँ’, उहाँले भन्नुभयो, ‘ट्र्याक्टर पनि थोत्रो, धुँवा फ्याँकने, अहिलेको जस्तो ट्र्याक्टरले देश बनाउँछ र ?’
ओलीले उपयुक्त सरकार बनाउने चुनौती आफ्नोसामु रहेको बताउनुभयो । ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नुपर्ने बताउनुभयो । ‘चुनाव हारेमा एमालेका लागि त केही छैन, पाँच वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ,’ उहाँले भन्नुभयो ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नैपर्ने कारण के छ भने देशलाई जिताउनु छ ।’
ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बहुत खतरनाक तत्व भएको आरोप लगाउनुभयो । ‘कांग्रेस-माओवादीले जे पनि गर्न सक्छन् । उनीहरूलाई निगरानी गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘उनीहरूले जे पनि गर्न सक्छन् ।’
अध्यक्ष ओलीले अहिलेको गठबन्धनलाई लाज शरम पचेको हुँडारको संज्ञा दिनुभयो । अहिले चुनाव जित्न कार्ल माक्र्सको पुँजी पढ्नु नपर्ने उहाँको तर्क थियो । ‘अहिले दास क्यापिटल नपढ्नुहोस्, चुनावपछि पढ्नुहोला । माओका भोल्युम पनि पढ्नुपर्दैन । नेपाल पढ्नुहोस्,’ उहाँले भन्नुभयो । चुनाव अगाडि गठबन्धनले दिग्भ्रमित बनेका मतदातालाई भ्रममुक्त गर्न उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘मतदातालाई अरूले दिगभ्रमित बनाउन नसकून् । भ्रममा नपरेका कोरा कागजमा नाम लेखिहालौँ,’ उहाँँले भन्नुभयो, ‘भ्रममुक्तलाई आफ्नो पक्षमा स्पष्ट बनाउने र भ्रमितलाई भ्रममुक्त गरिदिने ।’
उहाँले स्वतन्त्र उम्मेदवारले सबै काम गर्न सक्छ भन्ने भ्रम छर्न खोजिएको टिप्पणी गर्नुभयो । ‘स्वतन्त्रले जित्न संसारका सबै मानिस पागल भएका छन् ? दलीय प्रणाली चाहिँदैन ? एउटा प्रणालीमा नचले देश कसरी अगाडि बढ्छ ?’ उहाँले प्रश्न गर्नुभयो । ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्ताव अघि नबढाएकोमा आक्रोश व्यक्त गर्नुभयो । आफूले चाहे अनुसारको नतिजा नआउने भएकाले सत्तारूढ गठबन्धनले महाअभियोग प्रस्तावलाई अघि नबढाएको उहाँको आरोप थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच