काठमाडौं । चीन-ताइवान विवाद उत्कर्षमा पुगेको छ । चीन-ताइवान मामिलामा अमेरिका पनि जोडिएपछि विवाद थप बढेको हो । चीनको चेतावनी बावजुद अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमण गरेपछि विवाद चर्किएको हो ।
चीनले ताइवानलाई छुट्टै प्रान्त मान्दै आएको छ । ताइवान अन्ततः चीनको नियन्त्रणमा आउने उसको विश्वास छ । तर, ताइवानले आफूलाई आफ्नै संविधान र निर्वाचित नेताहरूको सरकार भएको स्वतन्त्र देशका रूपमा मान्दै आएको छ । चीनले आफ्नो आन्तरिक मामिला मानेको ताइवानमा चासो दिएर भएको उच्च अमेरिकी अधिकारीको भ्रमणले ताइवान-चीन मात्रै होइन अमेरिकासँग पनि चीनको द्वन्द्व बढेको छ । न्यान्सी पेलोसी ताइवानबाट बाहिरिएसँगै चीनले आसपासको क्षेत्रमा सैन्य अभियान सुरु गरेको छ । ताइवान विवादमा अमेरिका मात्रै होइन जापानले पनि चासो देखाएको छ । ताइवान आसपासको क्षेत्रमा चीनले सैन्य अभियान सुरु गरेको भन्दै जापानले आपत्ति जनाएको छ । यसको प्रत्यक्ष÷अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने निश्चित छ । चीनको स्वतन्त्र ताइवानविरुद्धको नीतिमा नेपालको समर्थन रहने विश्वास चीनले व्यक्त गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार प्रेस वक्तव्य जारी गर्दै नेपाल एक-चीन नीतिमा प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभएको थियो । एमसिसी अनुमोदन गरेपछि नेपालसँग ‘केही चिढिएको’ चीनले ताइवान विवादमा नेपालको साथ खोजेको छ । नेपाललले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाउ दिए पनि ताइवान मामिलामा केही बोलेको छैन ।
उत्पन्न परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ : परराष्ट्र
नेपाल सदैव ‘एक चीन नीति’को समर्थनमा
परराष्ट्र मन्त्रालयले ताइवानबारे उत्पन्न परिस्थितिलाई ‘नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ । अमेरिकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको बताउनुभयो । नेपाल सदैव ‘एक चीन नीति’को समर्थनमा रहेको पनि उहाँले स्मरण गराउनुभयो । ‘नेपालले चीन-ताइवानका विषयमा नजिकबाट नियालिरहेको छ । नेपालले सदैव एक चीन नीति समर्थन गर्दै आएको छ,’ शुक्रबार नियमित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘दुवै मुलुकले एक-अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएका छन् । एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको छ ।’
चिनियाँ राजदूत र गृहमन्त्रीबीच शिष्टाचार भेटवार्ता
गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गर्नुभएको छ । गृह मन्त्रालयमा शुक्रबार बिहान गृहमन्त्री खाणसँग राजदूत यान्छीले भेटवार्ता गर्नुभएको हो । भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री खाँणले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुभयो । ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ राजदूत यान्छीसँगको भेटमा गृहमन्त्री खाँणले भन्नुभयो, ‘नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ ।’ नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको खाँणको भनाइ थियो । चिनियाँ राजदूत यान्छीले नेपालमा विपद् व्यवस्थापनमा चीन सघाउन तयार रहेको बताउनुभएको थियो ।
परराष्ट्रमन्त्री खड्का तीनदिने भ्रमणमा चीन जाँदै
परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जानुहुने भएको छ । यही साउन २४ गते मन्त्री खड्का चीन भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उहाँ साउन २६ सम्म चीनमा रहनुहुनेछ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार भ्रमणमा दुई मुलुकबीचको आपसी हितका विविध विषयमा छलफल हुनेछ । गत मार्चमा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा परराष्ट्रमन्त्रीलाई चीन भ्रमणको नियन्त्रण प्राप्त भएको उहाँले बताउनुभयो । भ्रमणका एजेण्डा पनि तय भइरहेको उहाँको भनाइ छ । तर, भ्रमण सम्पन्न नभई ती एजेण्डा सार्वजनिक गर्न हतार हुने उहाँले बताउनुभयो । परराष्ट्रमन्त्री खड्का साउन २६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । पछिल्लो समय चीनबाट उच्चस्तरीय भ्रमण भइरहेको छ । पछिल्ला चार वर्षमा चीनबाट राष्ट्रपति सी चिनफिङ सहितका ६ वटा शीर्ष नेतृत्वको भ्रमण भएका छन् । केही दिनअघि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले चारदिने नेपाल भ्रमण गर्नुभएको थियो ।
चीनलाई बाधा पुग्ने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ : प्रचण्ड
सत्तारूढ नेकपा माओवादी केन्द्रले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ । चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिमा आफूहरूको विरोध रहने उहाँले बताउनुभएको हो । शुक्रबार सचिवालयमार्फत सार्वजनिक धारणाअनुसार नेपाल एक चीन नीतिप्रति प्रष्ट रहेको उल्लेख छ । ‘ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रचण्डको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका